बिर्तामोडको इतिहास झल्काउने पुस्तक आउँदै « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बिर्तामोडको इतिहास झल्काउने पुस्तक आउँदै


यलम्वर टाइम्स
११ असार २०८०, सोमबार १३:४१

बिर्तामोड । बिर्तामोडको इतिहासको खोजमा आधारित तीर्थ सिग्देलद्धारा लिखित बिर्तामोडः उद्भव र विकास नामक पुस्तक प्रकाशन हुने भएको छ ।

यो किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको बताइएको छ । मिडिया रिसर्च सेन्टरद्धारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले उल्लेख गरेका छन् ।

उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही समयसीमा भित्र रहेर पुस्तकभित्र लुकेका तथ्य र नखोजिएका सत्यहरुको उद्घाटन गर्ने प्रयास गरिएको बताए ।

आजको बिर्तामोडको नामाकरण र यसको विगत बिर्ता शब्दसँग गएर जोडिन्छ । यो क्षेत्र श्री ३ चन्द्रशमशेरका बडामहारानी र उनका सन्तानहरुको बिर्ता थियो । त्यसकारण यस ठाउँलाई अनारमनी बिर्ता भन्न थालिएको इतिहास छ ।

अनारमनीमा रहेका बिर्ताजग्गा र जंगलका काठको व्यवस्थापन सम्बन्धी कार्यका अतिरिक्त आवश्यकता अनुसारका काम झापा गोश्वराको मातहतमा हुने गर्दथ्यो ।

राणा शासनकाल (वि.स. १९९३ देखि २००७ सम्म) झापाको काठमाल तथा बिर्तामालको लप्टनी र हाकिमीको पदमा रहेका भूपालमानसिंह कार्कीको नामसँग यसको सम्बन्ध देखिन्छ र, राणाहरुको बिर्ता सम्हाल्न आएका भूपालमानसिंहले यहाँ १४ वर्षसम्म राज गरेको देखिन्छ ।

यो बेला उनका कर्मचारीहरुले यहाँबाट कर उठाउने गरेका थिए । स्थानीय काममालको काठ बिक्री र बिर्तामालका जग्गामा जिम्दारी, पटुवारी र रैतीको व्यवस्था गरी आवाद गुल्जार तुल्याउने काम उनले गरेको पाइन्छ ।

बिर्ताबजार राणा शासनको जिल्लाकै प्रशासनीक केन्द्र थियो । बिर्ताबजारमा प्रहरी चौकी, माल अड्डा, कचहरी र भूमिसुधारका जिल्ला कार्यालय थिए । त्यो समयमा एउटा गोलघर समेत बनाइएको थियो, जहाँबाट प्रशासन चलेको थियो भनिन्छ ।

तर अहिले बिर्तामोड ठाउँ व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य र संचार क्षेत्रको हव बनेको छ । योसँगै यस भूगोलले राजनीतिक परिचय पनि बाकेको छ । बिर्तामोड झापा जिल्लाकै राजनीतिक केन्द्र हो ।

२००७, २०३६, २०४६, २०६२ लगायतका राजनीतिक आन्दोलनमा यस क्षेत्रको योगदानको चर्चा गर्दा समग्र देशमै नाम आउँछ ।

पुस्तकमा बिर्तामोडको राजनीतिक क्षेत्रको सम्लग्नता, ती घटनामा सम्लग्नहरु व्यक्तिहरु, संघर्ष र आजको बिर्तामोडको सामाथ्र्यको चर्चा गरिएको छ ।

मूलतः राणाशासन अघिदेखि नै उदाएको यो ठाउँको ऐतिहासिक विवेचनासहित प्रकाशनको अन्तिम तयारीमा रहेका यस पुस्तक इतिहास अध्येताहरुका लागि महत्वपूर्ण दस्तावेज बन्ने आशा प्रकाशन संस्थाले गरेको छ । लेखक सिग्देलको यो छैठौं कृति हो । पुस्तक असार तेस्रो साता बजारमा आउन लागेको छ ।