धान दिवस सार्थक बनोस् « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

धान दिवस सार्थक बनोस्


यलम्वर टाइम्स
१९ असार २०८०, मंगलवार ११:१३

राज्यले असार पन्ध्रलाई ऐतिहासिक धान दिवसको रुपमा मनाउँदै आएको छ । शुक्रबार अधिराज्यभरी धान दिवस भव्यताका साथ मनाइयो । नेपाल कृषि प्रधान देश भनेर नाम कहलिएपछि त्यसलाई पूर्णता प्रदान गर्न यो वर्ष पनि २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । स्थानीय पालिका अन्तर्गत कृषि शाखाले सबै क्षेत्रमा धान दिवस मनायो । धान दिवस मनाउने क्रममा विभिन्न व्यक्ति, स्थानीय सरकार, विद्यालयको समेत उपस्थिति रहँदा रौनकता त्यतिकै छाएको थियो ।

कृषिमा आत्मनिर्भर बनाउने राज्यको योजना भए पनि सरकारको पहँुचसँग पुगेका केही मानिसले मात्र धान दिवस मनाउने गरेको हामी पाउँछौं । पर्वको रुपमा रहेको धान दिवस राज्यले एक ठाउँलाई लक्षित गरे तापनि असार पन्ध्र सिचाईं पुग्ने स्थानमा धान रोप्न सक्ने वातावरण निर्माण गरिदिए असार पन्ध्रभित्र मुलुकभर ४० प्रतिशत रोपाई हुने थियो । सम्भावित क्षेत्रमा उपस्थित भएर जुन दिवस मनाइयो, त्यसले कृषकलाई केही उर्जा दिए पनि तामाम् कृषकहरुका लागि भने उर्जा आउन सकेन ।

नेपालले परम्परागत कृषिको रुपमा धानलाई मूख्य वालीको रुप दिए पनि त्यसलाई परम्परागत रुपमा जोत्ने, बाँउसे गर्ने, बीउ फ्याँक्ने र रोप्ने धान दिवसमा देख्न सकिएन । को बाँउसे, को रोपार भनेर सहभागि गराइएका विद्यार्थीहरुले पनि पर्गेल्न सकेनन् । यद्यपी धान रोप्ने पर्व भन्ने चाही पक्कै सहभागि विद्यार्थीहरुले देख्न पाए । त्यसो हुँदा धान दिवसमा हल गोरुको प्रयोग, बाँउसेको प्रयोग र रोपिने विधिको प्रयोग विद्यार्थीहरुलाई गराइएको भए अझ सार्थक शिक्षा हुने थियो । तसर्थ आगामी ०८१ मा गरिने धान दिवसलाई यस्ता खाले परम्परागत सामग्रीको प्रयोग हुन जरुरी देखिन्छ ।

त्यसो त सरकारले मात्र धान दिवस मनाउने होइन । एक आपसमा सहकार्य गरेर विभिन्न कृषि सहकारी तथा कृषि समूहले परम्परागत धान उत्पादन सम्बन्धि धान दिवस मनाउन जरुरी छ । कृषि सहकारी तथा समूहमा सरकारको केही लगानी र कुशल कृषकहरुको उपस्थिति रहन्छ नै । देख्नेले पनि परम्परागत शैली र अध्ययन गर्ने मौका पाउँने छन् भन्ने सोच राख्न जरुरी देखिन्छ । त्यसकारण धान दिवसको सार्थकता त्यो बेला पूरा हुन्छ, जसले परम्परागत शैलीबाट धान रोप्नका साथै उत्पादनमा वृद्धि हुन जान्छ र कृषकले सन्तोषको सास फेर्न पाउने छन् ।