भ्रष्टाचारको फाइल पल्टाउँदा नेकपा एमाले रिसायोः केन्द्रीय सदस्य लिम्बू « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

भ्रष्टाचारको फाइल पल्टाउँदा नेकपा एमाले रिसायोः केन्द्रीय सदस्य लिम्बू


यलम्वर टाइम्स
१४ भाद्र २०८०, बिहीबार ११:०७

माई । भ्रष्टाचारीहरुको फाइल पल्टाउन खोज्दा नेकपा एमाले विपक्षी भएर माओवादीलाई आक्रमण गरेको कुरा पार्टी केन्द्रीय सदस्य कुशल लिम्बूले बताएका छन् ।

इलाम जिल्लाको माई नगरपालिकामा आयोजित विस्तारित बैठक तथा अभिमुखिकरण अभियानमा प्रमुख अतिथि लिम्बूले अब बिस्तारै गिरीबन्धु टि स्टेटमा भएको जग्गा काण्ड खोलेर जनतामाझ ल्याउने बताएका छन् ।

भ्रष्टाचारमा माओवादीका नेता किन नहोस् दोषी छ भने तिनलाई पनि कटघरामा ल्याउनुपर्छ भन्दै भ्रष्टाचारीहरुलाई सम्मान गरेर राख्ने दिन गएको बताए ।

केन्द्रीय सदस्य लिम्बूले बादल र टोपबहादुर जस्ता नेताहरु एमालेमा गएर ढुक्क भएको बताउँदै तिनीहरु माओवादी केन्द्रमा भए पार्टीको हालत कमजोर हुने बताए ।

बहुपहिचानको पक्षमा पार्टी सदैव अग्रस्थानमा रहेको हुँदा अब माओवादी पार्टी जनता समक्ष राम्रा काम गरेको र गर्नुपर्ने सुझाव संकलनमा आएको पनि बताए ।

पार्टी इलाम जिल्ला इन्चार्ज समेत रहेका लिम्बूले केन्द्रीय सदस्य गाउँ–गाउँमा, प्रदेश सदस्य वडा, वडामा, जिल्ला सदस्य टोल–टोलमा र गाउँ सदस्य जनतासँग छलफल गर्न जुटेको बताउँदै बढे नेताको वरिपरि कुदेर गाउँ रित्तो नपार्न कार्यकर्तालाई सुझाव दिए ।

अर्का विशिष्ट अतिथि केन्द्रीय सदस्य हरिकुमार रानाले परिवर्तनको अन्तिम लडाई माओवादीले गरेको बताए ।

उनले हामी गाउँ बसेर केन्द्र पठाएका नेताहरु विशेष गरी एमालेभित्र रहेको हुँदा त्यसो नगर्न र त्यस्तो सिको नगर्न पनि कार्यकर्ताहरुलाई सुझाव दिए ।्

इलाम सहइन्चार्ज कान्छा लावतीले कांग्रेस, एमाले जस्तो चरित्र माओवादीले बोक्ने हो भने माओवादीको संगठन अगाडि बढ्न नसक्ने बताउँदै फरक, भिन्नता, जनमुखि कार्य, विकासमा निगरानीता आवश्यक रहेको बताए ।

पार्टी नगर अध्यक्ष भक्त लुङ्गेलीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सदस्य धनकुमारी राई, राम सञ्जेल, दिपक सेन्चुरी, पवन किराती, पवन राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।

नमूना सामुदायिक वनको भवनमा आयोजित कार्यक्रममा उपस्थित कार्यकर्ताले लोकप्रिय कार्यक्रम ढिलो आएको कारण कार्यकर्ताहरुको चित्त दुखाईको सुझाव दिएका थिए ।