धनकुटामा एकै परिवारका तीन मृत फेला « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

धनकुटामा एकै परिवारका तीन मृत फेला


यलम्वर टाइम्स
७ मंसिर २०८०, बिहीबार ०८:४५

धनकुटा । धनकुटामा एकै परिवारका तीन जना घरमै मृत भेटिएका छन् ।

धनकुटा नगरपालिका–१ हिले निगालेमा बस्दै आएका संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीका ३५ वर्षीय टीका गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भिमा तामाङ गुरुङ र छोरा ११ वर्षीय आयूष गुरुङ मृत फेला परेका हुन् ।

टीकाको शव झुण्डिएको अवस्थामा तथा भिमा र आयुषको शव खाटमा सुताइएको अवस्थामा बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।

घटनाको जानकारी आए लगत्तै प्रहरी चौकी हिलेको प्रहरी टोली घटनास्थल पुगेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय, धनकुटाको अपराध अनुसन्धान शाखाको टोली पनि घटनास्थल पुगेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सँधैजसो मादक पदार्थ सेवन गरेर झै–झगडा गर्दैआएका टीकाले श्रीमती र छोराको हत्या गरेर आफूले आत्महत्या गरेको अनुमान गरिएको छ ।

कोठामा राखिएका दुई खाटमध्ये एउटा खाटमा श्रीमती र अर्को खाटमा छोराको शव राखेर सिरकले ढाकिएको देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ६ वर्षीय छोरी आशिका गुरुङलाई भने टीकाले राति पौने १ बजे ‘तल जाने काम प¥यो, बच्चा राखिदिनु प¥यो’ भन्दै छिमेकी लक्ष्मी श्रेष्ठको घरमा छाडेर गएका थिए ।

बिहान भएपछि आशिकाको खुट्टा खाली देखेर लक्ष्मीले ‘चप्पल लगाएर आउ’ भनेर घर पठाएकी थिइन् । आशिका घर पुगेपछि मात्र घट्नाबारे छिमेकीलाई थाहा भएको हो ।

चप्पल लगाउन घर गएकी आशिका बुवा ‘पिङ खेलिरहेको छ’ भन्दै फर्किएकी थिइन् । पहिला श्रीमती र छोराको हत्यापछि छोरीलाई छिमेकीको घरमा छाडेर टीकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

गुरुङ परिवार गत १३ वर्षदेखि निगालेमा बस्दै आएका थिए । उनीहरू मजदूरी गरेर दैनिकी चलाइरहेका थिए । मादक पदार्थ सेवनका कारण गुरुङ परिवारमा सँधैजसो झगडा हुने गरेको जानकारी आएको वडाध्यक्ष ओङद तामाङले बताए । घरधनी भने तराईमा बसिरहेका छन् ।

प्रहरीका अनुसार टीका स्वास्थ्य परीक्षणका लागि बुधबार जिल्ला अस्पताल पुगेका थिए । मिर्गौला र कलेजोमा समस्या देखिएको भन्दै अस्पतालले जाँडरक्सी नखान सल्लाह दिएको थियो ।