को हुन् मीना, सहयोग गर्न किन आवश्यक ? « Yalambar Times
१६ फाल्गुन २०८०, बुधबार

को हुन् मीना, सहयोग गर्न किन आवश्यक ?


यलम्वर टाइम्स
९ मंसिर २०८०, शनिबार ०२:२७

[दिपीन राई]

उमेर ठ्याक्कै ३२, ३३ को हुनुपर्छ, एउटा कलकलाउँदी युवती जातीय मुक्तिको सन्देश सुन्न अर्जुनधारा–२ स्थित पाराखोपी लाईनको नरबहादुर लिम्बूको घरमा आएको याद छ । मेरो पत्रकारिता त्यसबेला एउटा सिकारुको दौरानमा थियो । विवेचना दैनिकको हकर थिएँ । बिहान अखबार वितरण, दिउँसो कलेज र साँझ यलम्वर क्लबमा भाषा लिपीको शिक्षा लिइन्थ्यो । हाम्रा गुरु नरबहादुर लिम्बू हुनुहुन्थ्यो ।

हामी १८, १९ का थियौं । राजु राई, अर्जुन राई, शान्ति राई, पृथ्वी राई, सोम सुब्बा सबै भाषा लिपीका विद्यार्थी थिए । त्यही बेला मीना पन्धाक दिदी पनि साइनो गाँस्दै क्लबमा आउँन थाल्नु भयो । उमेरले हामीभन्दा निकै बढी भएकाले हाम्रा शिक्षक नरबहादुर लिम्बूले मीना दिदीलाई आदर गर्दै पढाउन थाल्नु भयो ।

म, चन्द्र लाफा, भीमबहादुर मगर, रमेश राई, प्रेम राना, सन्तोष राई, ललित, डोमा, हिमा, सोनिका, शान्ति र कन्चन पनि पढ्न जाने गरेका थियौं । भाषा लिपी पढ्दै जाँदा वक्तृत्वकला पनि हुने गथ्र्यो । हाम्रो विद्यालय भने शनिश्चरे बजार स्थित क्याप्टेन आशबहादुर राईको घरमा थियो । साँझ भाषा लिपी पढ्दै जाँदा त्यसबेला गाईगोरु खाने भाषा किन पढेको होला भनेर प्रहरीलाई चेक गर्न पनि पठाएको सम्झना छ ।

सालले २०४९–५० को समय हुनुपर्छ । प्रजातन्त्र बहालीसँगै भाषा लिपी, हकअधिकार र धर्म निरपेक्ष राज्यदेखि प्रान्तीय सरकार निर्माणको बहस चल्दै थियो । पछि मंगोल, जनमुक्ति, मगुराली, सद्भावना जस्ता दलहरुले प्रान्तीय राज्य र धर्म निरपेक्षताको वकालत गर्दै दल विस्तार अभियानमा जुटिरहेका थिए । त्यही बेला जनजाति महासंघ सशक्त रुपमा आउँदै थियो । जनजातिहरु अधिकार रोज्ने र खोज्ने क्रममा थिए । त्यस क्रममा केही मानिसहरु जनमुक्ति पार्टीलाई रोजेर हिंडे भने केही अन्य दललाई ।

त्यही बेला जनमुक्ति पार्टीको महिला मोर्चा झापा गठन हुँदै थियो । त्यही गठन प्रक्रियामा अर्जुनधाराबाट महिला मोर्चामा मीना पन्धाक छानिनु भयो । यलम्वर क्लबको सिकाई, बोलाई र अधिकार खोज्ने क्रममा मीना दिदी निकै तिखारीदै अगाडी बढ्दै जाँदा जिल्ला, क्षेत्रीय हुँदै केन्द्रीय नेता हुनपुग्नु भयो । उहाँको यात्रा कहिले पश्चिम, कहिले पूर्व, कहिले राजधानी त कहिले दक्षिणी भेग तिर हुने गथ्र्यो । जनमुक्तिलाई अक्षुण समतोर सतीसाल जस्तै पटक–पटक आम निर्वाचनमा लड्दै आउनुभएकी मीना विगत एक वर्षदेखि थलिनु भएको छ ।

एमएस थापा, गोरेबहादुर खपाङ्गी र चन्द्रप्रसाद योङ्या लगायतका नेताहरुबाट राजनैतिक प्रशिक्षण प्राप्त गरेकी मीना हाक्की स्वभावको हुनुहुन्छ । उहाँ लडाकु विचार पस्कन पनि पछि हट्नु हुन्न । आफू सक्रिय हुँदा सबैलाई सहयोग गर्न सक्ने मीना आफ्नो जाति र मातृ संस्था किराँत याक्थुङ चुम्लुङको नेतृत्वमा रहेर भाषा संस्कृतिको उत्थानमा कहिले ताप्लेजुङ, तेह्रथुम, कहिले पाँचथर, धनकुटा र इलाम हुँदै गाउँ–गाउँ चुम्लुङ गठनमा पनि सक्रिय देखिनुहुन्थ्यो । महिला उद्यमीको रुपमा परिचित, विचारका धनी मीनाको बसोबास भने झापा अर्जुनधारा–३ खुदुनाबारीमा छ ।

बैंस छदा सिङ्गो शरीर पार्टी, जाति र धर्मलाई सुम्पिएर हिंडेकी महिला नेतृ मीना पन्धाक यो बेला क्यान्सर जस्तो रोगले थलिन पुग्नु भएको छ । बारम्बार महंगो अस्पतालमा उपचार गराउँदै आउनुभएकी मीनाको आर्थिक अवस्था नाजुक भएको बताउनुहुन्छ ।

आज जनमुक्ति पार्टी अर्जुनधाराका अध्यक्ष राज खम्बूले मीना बचाउ अभियान सञ्चालन गरेर समाजसँग आव्हान गर्दा अत्यन्तै दुःख बोध भएको महिला नेतृ मीना दिदी बताउनु हुन्छ । केही अगाडीको भेटमा मीना दिदी भन्नुहुन्थ्यो, ‘भाई ! एकताको अभ्यास तपाई हामीले नगरेका होइनौं, तर हाम्रा मान्छेले नबुझिदिँदा यो अवस्थामा पुग्नुपर्यो । ठीकै छ ती हाम्रा दाजुभाईलाई जुन दिन ठेस पर्छ त्यसबेला जातीय एकता भन्ने बुझ्छन् ।’

जंगल नजिक घर छ मीना दिदीको । घर अगाडिको बरन्डामा बसेर आँखाको डिलभरी आँशु झार्दै मलाई बेदना पोख्नु भयो । यतिका महिला नेतृलाई आज घरले जाजा भन्दै गर्दा तपाई हामीले उनको योगदानलाई सम्झेर सहयोग गर्न जरुरी छ । आर्थिक अवस्थाले पिरोल्दै गर्दा आनासुकी सहयोग गर्नु राम्रै होला । त्यसैले पार्टी, जाति, धर्मका अगुवाहरुले दिल खोलेर मीना दिदीलाई बचाउनुपर्छ तब मात्र योद्धाहरु, महिला नेतृहरु जन्मने छन् ।