गाउँ पालिकाको सिमाङ्कन गर्न थालियो « Yalambar Times
२३ आश्विन २०८१, बुधबार

गाउँ पालिकाको सिमाङ्कन गर्न थालियो


यलम्वर टाइम्स
१० श्रावण २०७३, सोमबार ०८:१६

ताप्लेजुुङ / ताप्लेजुङमा भावी बन्ने गाउँपालिकाको सिमाङ्कन गर्न थालिएको छ । स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय तहअन्तर्गत देशभर रहने संख्याबारे प्रारम्भिक प्रस्ताव सार्वजनिक गरेसँगै हिमाली जिल्ला ताप्लेजुङमा अब बन्ने गाउँपालिकाको सिमाङ्कन गर्न आन्तरिक छलफल थालिएको हो ।

एक नगरिपालिका र ४८ वटा गाउँ विकास समिति रहेको यस जिल्लामा आयोगले आठ वटा गाउँ पालिका रहने प्रस्ताव गरेको छ । आयोगले गएको सोमबार उक्त प्रारम्भिक प्रस्ताव सार्वजनिक गरेपछि हाल जिल्लास्थित स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गाउँपालिकाको सिमाङ्कनबारे आन्तरिक रुपमा अनौपचारिक छलफल थालेको समिति संयोजक एमव् स्थानीय विकास अधिकारी केशब भट्टराईले जानकारी दिनुभयो ।

संयोजक भट्टराईले गाउँ पालिकाका लागि कुन–कुन गाविसलाई समेट्दा सहज र अनुकुल हुन्छ भन्ने विषयमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले अहिले अनौपचारिक छलफल गर्दै आएपनि आउँदो सोमबारदेखि भने औपचारिक रुपमा छलफल थाल्ने जानकारी दिनुभयो । साउन महिनाभित्रै गाउँपालिकाको नामाङ्कन र सिमाङ्कन गरिसक्नुपर्ने भएकाले सोही अनुसार तयारी गरिरहेको भट्टराईले बताउनुभयो ।

उहाँले राजनीतिक दल, सरोकारवाला सबै पक्षसँग जिल्लास्तर र गाउँ गाउँमा पुगेर छलफल गरी नाम र सिमानाको विषय टुङ्ग्याउने बताउनुभयो । गाउँपालिका र गाउँपालिकामा रहने वडाको सिमाङ्कन गर्ने विषयमा भौगोलिक बनावट, जनसंख्या आदिलाई आधार बनाइने बताइएको छ । हाल नाम र सिमाङ्कन सहितको गाउँपालिका पुनर्संरचनाको चर्चा बाहिर आए पनि सो आधिकारिक नभएको भट्टराईले प्रस्ट्याउनुभयो ।

यता आयोगले प्रस्ताव गरेबमोजिम यस जिल्लाको आठ वटा गाउँपालिकाको पुनर्संरचनामा कालीखोला, सादेवा, आंखोप, साब्लाखु, लिम्बुदिन, मेहेले र सुरुम्खिमलाई मिलाएर सिदिङ्मा तथा याम्फुदिन, खेबाङ, मामाङ्खे, पेदाङ, तेल्लोक, आम्बेगुदिन, सिनाम र सिकैंचालाई मिलाएर कञ्चनजंघा वा श्रीजंघा नामाकरण गर्ने तयारी गरिएको छ ।

यस्तै थुम्बेदिन, चाक्सिबोटे, डुम्रिसे, फावाखोला, तिरिङ्गे, थेचम्बु र नाङ्खोल्याङलाई मिलाएर याङ्वरक वा काबेली, फुरुम्बु, लिङ्खिम, तापेथोक, लेलेप, ओचाङ्चुङगोला, इखाबु, खेजेनिम र सावादिनलाई मिलाएर तमोरखोला वा फक्ताङ्लुङ, खोक्लिङ् लिबाङ, साँबा, पापुङ, नाल्बु र थुकिमा मिलाएर मेवाखोला वा फुङ्फुगे नामाकरणको प्रस्ताव गर्न लागिएको छ ।

यसैगरी लिङ्तेप, खाम्लुङ, सान्थाक्रा, थिङ्लाबु, फाकुम्बा र साँघु मिलाएर मैवाखोला तथा ढुङ्गेसाँघु, चाँगे, हाङ्पाङ, फुलबारी र निघुरादिनलाई मिलाएर आठराई नामाकरण गर्नेगरी प्रस्ताव गर्न लागिएको छ । यसअघि साविकको दोखु र फुङ्लिङलाई गाभेर घोषणा गरिएको ताप्लेजुङ नगरपालिकामा हाङ्देवा गाविसलाई थप गर्न लागिएको छ । आयोगले पुनर्संरचनाबारे प्रस्ताव गरेअनुसार हिमाली जिल्लाको गाउँपालिकामा न्युनतम् १५ हजार र नगरपालिकामा २० हजार जनसंख्या हुनुपर्ने जनाएको छ ।