साधुटार / खुदुनाबारी–२ स्थित साधुटार नजिक खारभित्तालाई पर्यटकीय केन्द्र बिन्दू बनाउनको लागि यस क्षेत्रका अग्रजहरु जुटेका छन् ।
हचुमासा सामुदायिक वनको मातहतमा रहेको उक्त खारभित्तालाई सामुदायिक वन अन्तर्गत पर्यटन सम्भाव्यता तथा अध्ययन टोलीले आईतबार एक अन्तरक्रिया कार्यक्रम गर्दै उक्त खारभित्तालाई आन्तरिक पर्यटन आउने वातावरण बनाउनको लागि विभिन्न कार्य गर्ने भएको छ । वर्षौदेखि उक्त खारभित्तामा बुधबारे, शनिअर्जुन, सुरुङ्गा र बिर्तामोड आसपासका मानिसहरु वनभोज खान र प्राकृतिक सुन्दरतासँग मज्जा लुट्न जाने गरेका छन् ।
‘यही क्षेत्रका हामी वनभोज खान भनी अन्य क्षेत्रमा दौडन्छौ र अनावश्यक खर्च गर्छौ अरु भने हाम्रा क्षेत्रलाई मन पराएर आउँछन् । हामीले हाम्रो ठाउँलाई पहिचान गर्न सकेका रहेनछौं’ पर्यटन अध्ययन टोलीका सदस्य आकाश राईले भने । अन्तरक्रिया कार्यक्रम हचुमासा सामुदायिक वनमा अध्यक्ष रामबहादुर निरौलाको अगुवाईमा भएको थियो । अन्तरक्रियामा हचुमासा सामुदायिक वनले नै बाहिरबाट आउने पिकनिक टोलीहरुलाई सुविधा पु¥याउनको लागि महिला पुरुषको लागि आवश्यक शौचालय, गाडी राख्नको लागि पार्किङ, खानेपानीको व्यवस्था नजिक रहेको सिद्धेश्वरी मन्दिरको निर्माण र गेटमा प्रवेशद्वारको निर्माण गर्ने भएको छ ।
अन्तरक्रिया कार्यक्रमले हात्ती आहाल बृहत पर्यटन विकास नामबाट उक्त पूर्वाधार हचुमासा सामुदायिक वनको वार्षिक बजेट तथा नीतिबाट सम्पन्न गरिने निर्णय गरेको छ ।
अन्तरक्रियमा विष्णु चम्लगाई, इन्द्रमणि ढकाल, डम्मर प्रसाई, बुद्धमाया एक्तेन, चन्द्र प्रसाई, इन्द्र कोइराला, युवाराज लोहार, आकाश राई, पवन खनाल, मणिकुमार एक्तेन, विजेन्द्र एक्तेन, बुद्धिसागर ढुंगेल, प्रमा नेपाल, मकरध्वोज एक्तेन, प्रेम खत्री, भरत सुब्बा लगायतले आ–आफ्नो विचार राखेका थिए भने पत्रकार दिपीन राई र कुमार भट्टराईले निर्माण गरिने योजनाबारे सुझाव दिएका थिए ।