कृषिथोक बजारको फोहोर दहिझोडाको खानेपानी मुहानमा « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

कृषिथोक बजारको फोहोर दहिझोडाको खानेपानी मुहानमा


यलम्वर टाइम्स
२८ भाद्र २०७४, बुधबार ०६:१६

अर्जुनधारा ।

विगत १ दशकदेखि दहिझोडावासीलाई झुक्याउँदै रातारात बिर्तामोड कृषिथोक बजारको फोहोर फ्याँक्दै आएको एक ट्याक्टर दहिझोडावासीले पक्रिएर दहिझोडा सामुदायिक वनलाई जिम्मा लगाईदिएका छन् ।

मंगलबार राति अनटेस्ट लेखेको ८०५ नम्वरको ट्याक्टरले दहिझोडा खानेपानीको मुहानमा १०ः३० बजे फोहोर फ्याँकिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएका थिए । तर जनताले चालकलाई छाडी गाडी भने सामुदायिक वनमा जिम्मा लगाएका छन् ।

‘खानेपानी वरिपरि दिनहुँ जस्तो सढेगलेका फोहोरहरु फ्याँकिन्थ्ये कसले यसरी फोहोर फ्याँक्छ ? भनी चियो त हुने गरेको थियो, कसै गर्दा पनि पत्ता लागेको भने थिएन’ सामुदायिक वनका सचिव खगेन्द्र लिम्बूले भने । तर हामीले धेरै दिनको प्रयास गर्दा हामीले खाने पानीको मुहान वरिपरी फोहोर फ्याँक्ने डम्पिङ साइड पो बनेछ बिर्तामोड कृषिथोकको लागि, सामुदायिक वनका सदस्य तुलसी श्रेष्ठले भने ।

शहरको लागि हाम्रो क्षेत्र फोहोर फ्याँक्ने डम्पिङ साइड हो भने अहिलेसम्म फ्याँकिएका फोहोरले गरेको असरको क्षतिपूर्ति बिर्तामोडवासीले दहिझोडावासीलाई दिनुपर्ने स्थानीयहरुको माग छ ।