अर्जुनधारा नगरपालिकाभित्र ६१ वटा पुल कल्भर्ट बन्ने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारा नगरपालिकाभित्र ६१ वटा पुल कल्भर्ट बन्ने


यलम्वर टाइम्स
२४ आश्विन २०७४, मंगलवार ०८:४०

 

अर्जुनधारा । 

अर्जुनधारा नगरपालिकाको प्रमुख हरि कुमार रानाले कर्नी, तगारी र बेल्चा चलाउन नजान्ने व्यक्ति गाउँ वा वडामा हुने विकासे कार्यक्रमको उपभोक्ता समितिको नेतृत्वमा बस्न नसक्ने बताएका छन् ।

प्रमुख रानाले विकासको कामलाई प्रभावकारी बनाउनको निम्ति निर्माणमा आफ्नो कर्तव्य अह्म हुनुपर्ने बताए । सफा, सुन्दर, स्वच्छ र हरियाली नगर बनाउन सबै तह तप्का र संघसंस्था लाग्नुपर्ने धारणा प्रमुख रानाले बोर्डको ११ औं बैंठकमा राखेका थिए ।

बोर्ड बैठकले बर्षातमा आएको बाढीले नगर परिसरभित्र ६१ वटा पुल कल्भर्ट भत्काएको हुँदा भत्केका पुलहरुको मर्मत सम्भार सहित निर्माण कार्यमा दक्षता हासिल गरेका व्यक्तिहरु सम्मिलित गराउँदै उपभोक्ता समिति गठन गर्ने निर्णय समेत बोर्ड बैंठकले गरेको छ भने सामाजिक सुरक्षा भत्ता लिन वृद्ध तथा असाहयहरुलाई बैंकसम्म पुगी रकम प्राप्त गर्न असुविधा हुने हँुदा वडा–वडाबाट रकम वितरणको व्यवस्था मिलाउनु पर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै नगरभित्र अव्यवस्थित, जोखिमयुक्त स्थलमा बसोबास गरिरहेका एवम् डुबान समस्याबाट पीडित हुने जनसंख्या, जमिन घरधूरीको लागत संकलन तत्काल गर्ने निर्णय भएको छ । उक्त कार्यका लागि एक महिनाभित्रमा वडाअध्यक्षहरु मार्फत प्रतिवेदन पेश गर्ने सर्वसम्मत निर्णय भएको जनाइएको छ ।

त्यस्तै नगरपालिकाको विविध निर्णय प्रक्रिया, कार्यसम्पादन सहित कामकारबाहीमा सहज पु¥याउन कानूनी, आर्थिक, प्रेस, खेलकुद, भौतिक पूर्वाधार लगायतका विषयहरुमा राय सल्लाह लिनका लागि विषय विज्ञहरुको व्यवस्थापन गर्ने, नगरलाई आवश्यक मेसिनरी तथा उपकरहरु खरिद गर्नका लागि समिति समेत गठन गरिएको छ । समितिमा वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ गौतम, वडा नम्बर ३ का वडाअध्यक्ष जीवन कुमार भण्डारी, वडा नम्बर १० का वडाअध्यक्ष बलदेव सिंह गोम्देन, कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, योजना शाखा प्रमुख निरज अधिकारी रहेका छन् ।

त्यस्तै नगरभित्र प्रावधिक र कृषि शिक्षालाई प्रवद्र्धन गर्न कृषि शिक्षा तथा प्रावधिक विद्यालयको सम्भाव्यता अध्ययन एवम् व्यवस्थापन गरी सिफारिस गर्न समिति समेत गठन गरिएको छ । समितिमा जीवन कुमार भण्डारी, दुर्गाप्रसाद दाहाल, भैरवबहादुर खड्का, दिलमाया दास रहेका छन् ।

बोर्ड बैंठकले शनिश्चरे बजारमा रहेका खसी बजारलाई दीर्घकालिन व्यवस्थापन गर्न बजारका लागि आवश्यक जग्गा उपयुक्त स्थानमा छनौट गरी खरिद प्रक्रियामा लैजान समिति समेत गठन गरिएको छ । समितिमा नवराम ढुङ्गाना (नविन), गोपीचन्द्र गौतम, पुष्पकुमार प्रसाई, रघुनाथ खनाल, रमेश त्रिखत्री रहेका छन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकामा अग्र्यानिक कृषि प्रणालीलाई प्रवद्र्धन गरी विकास गर्न सोको सम्भाव्यता अध्ययन गरी विषयगत निकाय कार्यालयहरुसँग समेत समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने, त्यस्तै अर्जुनधारा नगरक्षेत्र भित्रका उदयमान खेलाडीहरु सहित विविध विधाका राष्ट्रिय खेलाडीहरु पहिचान गरी प्रोत्साहन र उत्प्रेरणा अभिबृद्धि गर्ने उदेश्यले एक कार्यक्रमका बिच सम्मान गरिने बताइएको छ ।

त्यस्तै अर्जुनधारा नगरपालिकामा रहेका ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य जाँच गर्नका लागि वडा–वडामा गई स्वास्थ्य शिविर सञ्चालनको व्यवस्था मिलाउने, नगरपालिकाको सूचना प्रवाह गर्न बोर्ड सदस्य शकुन्तला बराललाई प्रवक्ता तोकिएको जनाइएको छ ।

बैठकमा नगरप्रमुख राना, उपप्रमुख कमला खतिवडा आचार्य, वडाअध्यक्षहरु गजाधर खतिवडा, रघुनाथ खनाल, जीवनकुमार भण्डारी, दुर्गाप्रसाद दाहाल, ध्यानबहादुर भारती, लोकनाथ गौतम, नवराम ढुंगाना (नविन), गोपिचन्द्र गौतम, पुष्पकुमार प्रसाई, बलदेवसिंह गोम्देन तामाङ्ग, भैरवबहादुर खड्का, नगरपालिका सञ्चालन समिति सदस्य लक्ष्मी तामाङ्ग, हरिमाया भण्डारी, शकुन्तला बराल, दिलमाया दास, खिनमान दर्जी, रमेशकुमार दर्जी, दिलीप गुरुङ्ग, कार्यकारी अधिकृत एवम् सदस्य सचिव राधाकृष्ण खतिवडाको उपस्थिति रहेको थियो ।