स्वर्ण महोत्सव तथा ३५ औं अनुष्ठानको तयारी पूरा « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

स्वर्ण महोत्सव तथा ३५ औं अनुष्ठानको तयारी पूरा


यलम्वर टाइम्स
२० कार्तिक २०७४, सोमबार १२:१६

अर्जुनधारा । पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधामले स्वर्ण महोत्सवका साथै ३५ औं वार्षिक अनुष्ठानको तयारी पूरा गरेको छ ।

सोमबार धाम परिषरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो । अनुष्ठानलाई भव्य र सभ्य बनाउनको लागि ३० वटा विभागिय समिति निर्माण गरी कार्यभार प्रदान गरिएको छ ।

कात्र्तिक २१ गतेबाट सुरु भई मंसीर १ गते बालाचर्तुशीका दिन समापन हुने स्वर्ण महोत्सव तथा वार्षिक अनुष्ठानको उद्घाटन गर्न देवघाटधाम महेश सन्यास आश्रमका पीठाधीस तथा शंकराचार्य पीठका संरक्षक १००८ स्वामी रमणानन्द गिरीजी महाराज आउने भएको बताइएको छ । सोही दिनबाट धाम समितिले स्वर्ण महोत्सव मनाउँदै विगतका समयमा धामको विकासमा खटिएका दाता, समितिका पूर्व पदाधिकारी लगायतलाई सम्मान गर्ने भएको छ ।

प्रसिद्ध कथावाचक आचार्य आतुतोष खनालको प्रमुख वाचकत्वमा हुने श्री शिव महापुराण, रुद्राभिषेक महायज्ञमा धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलज्यूको मुखारविन्दबाट मूलपाठ परायण हुने धामका महासचिव विष्णु निरौलाले बताए । महासचिव निरौलाले अनुष्ठानबाट ८० लाख आम्दानी हुने र १९ लाख खर्च हुने अनुमान विवरण प्रस्तुत गरेका थिए ।

स्व. आचार्य पुष्पलाल निरौला स्मृति सन्त भवन तथा शनि मन्दिरको पूर्णता, विगतदेखि सञ्चालन हुँदै आएको गुरुकुल अक्षयकोष तथा अन्नदान अक्षयकोषलाई निरन्तरता दिने, दाता, पूर्व समिति सदस्यलाई सम्मान तथा अभिनन्दन गर्ने लगायतका उद्देश्य रहेको छ । समितिले धर्मानुरागीहरुको सेवाको लागि यस वर्ष २५ रुपैयाँमा सादा खानाको व्यवस्था गरिएको बताइएको छ ।

धाम समितिका अध्यक्ष नवीन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार केदारमणी ढकाल रहेका थिए । कार्यक्रममा वडा नं. ७ का अध्यक्ष नविन ढुंगाना, वडा नं. १० का बलदेवसिंह गोम्देन, अर्जुनधारा वाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

प्रचारप्रसार विभागका संयोजक शेखर प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन चतुर्भुज काफ्लेले गरेका थिए ।