अर्जुनधारा जलेश्वर धामको स्वर्ण महोत्सवसँगै ३५औं अनुष्ठान शुरु « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारा जलेश्वर धामको स्वर्ण महोत्सवसँगै ३५औं अनुष्ठान शुरु


यलम्वर टाइम्स
२१ कार्तिक २०७४, मंगलवार १२:२९

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको ३५ औं वार्षिक अनुष्ठान तथा स्वर्ण महोत्सव मंगलबारबाट सुरु भएको छ ।

देवघाटधाम महेश सन्यास आश्रमका पीठाधिश तथा शंकराचार्य पीठका संरक्षक श्री १००८ स्वामी रमणानन्द गिरीजीले पानसमा दीप प्रज्वलन गर्दै अनुष्ठानको उद्घाटन गरेका थिए । प्रमुख अतिथि समेत रहेका रमणानन्द गिरी महाराजले पहिला पहिला धर्ममा युद्ध थियो तर, अहिले धर्मका नाममा युद्ध भएको बताउँदै यस पवित्र देवस्थल जलेश्वरधामबाट युद्ध भन्ने सन्देश कही पनि नफैलियोस् भनी कामना गरे ।

स्वामी रमणानन्दले हिमाली राष्ट्र रहेको हाम्रो मुलुकमा जलाशयको अथाह भण्डार भएतापनि अर्जुनधाराको जलाशयमा साक्षात शिवको वास भएको हुँदा जलेश्वरधाम रहन गएको बताउँदै यसको उत्खनन् गर्न प्रेरणा दिने खडेबाबा र यहाँसम्म ल्याउने गुरुवर पुष्पलाल निरौलाप्रति धाम समिति सक्रिय हुनुपर्ने बताए । स्वामी गिरीले शिवको महिमाबारे बताउँदै शिवको अर्थ कल्याण भएको हुँदा धेरै गुण र जीवन उपयोगी ज्ञान शिवपुराणमा भएको हुँदा यसलाई श्रवण गर्न सके जीवन सुमार्गमा जाने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले मानिसलाई शान्त र समुन्नत बाटामो ल्याउन धर्मको ठूलो योगदान हुने हुँदा पूर्वको पहिचान र धार्मिक अनुष्ठानको केन्द्र विन्दु जलेश्वरधाम भएको बताए । सभापति थापाले झापाको बाह्रदशीमा सन्त स्व. रमानन्द गिरीले मन्दिर निर्माण गर्न सुरु गरेका अधुरा कार्यलाई पुरा गर्न हामी सबैको दायित्व भएको बताउँदै साधुटार, कालीका पीठ लगायतका गुरुकुललाई बचाई राख्नुपर्ने बताए ।

अर्का विशिष्ट अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य खतिवडाले यस अर्जुनधारा नगरपालिकाभित्र रहेको अर्जुनधारा जलेश्वरधामलाई राज्यबाट हुने सेवा प्रदान गरिने बताउँदै धर्म र संस्कारको ज्ञान बाँड्दै आएको हुँदा पूर्वको पशुपतिनाथ भनी कहलाएको बताए ।

एमाले केन्द्रीय सदस्य भाष्कर काफ्लेले आफ्नो पार्टीबाट हुने सहयोग सक्दो प्रदान गरिने बताए । साधुटारका आचार्य छन्दुराम भण्डारीले गुरुकुप पद्धतीमा डोहो¥याउने अर्जुनधारा जलेश्वरधाम भएको हुँदा यसले गरेको कार्यप्रति अनुशरण गर्नुपर्ने बताए ।

३५ औं अनुष्ठानसँगै स्वर्ण महोत्सव समेत भएको हुँदा धामका संस्थापक स्व. हरिविलास वन, स्व. भिमबहादुर खड्का, स्व. दलबहादुर थापा, स्व. मोहनप्रसाद शिवाकोटी, स्व. सन्तलाल गट्टानी, स्व. जीवनलाल सोमानी, स्व. पदमबहादुर काफ्ले, स्व. हेमबहादुर थापा, स्व. पुरुषोत्तम चापागाई, सूर्यबहादुर खड्का, गोविन्द काफ्ले, दिलबहादुर थापा, पदमबहादुर शिवाकोटी लगायतलाई विशिष्ट सम्मान प्रदान गरिएको थियो ।

धाम अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार राना, राप्रपाका लभकुश गिरी, जनमुक्तिका दिलीप राई, शंकराचार्य पीठ साधुटारका अध्यक्ष केदारनाथ खतिवडा, प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, पूर्वमाननिय केदारमणि ढकाल, वडा १० का अध्यक्ष बलदेव गोम्देन, ७ का नविन ढुंगाना, वाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, अर्जुनधारा जेसीजका अध्यक्ष प्रल्हाद ढुंगाना, गौ रक्षक जगदिशप्रसाद मिण्डा, उद्योगपति सुरेशकुमार अग्रवाल, साहित्यकार सरोज ओली, रोहिणीविलास लुइटेल, धनपति भट्टराई, मैथिली समाजका धनबीर यादव, शिक्षासेवी सरस्वती सिटौला लगायतको आतिथ्य रहेको थियो ।

धाम उपाध्यक्ष चन्द्रकला भण्डारीको स्वागत रहेको कार्यक्रमको सञ्चालन क्रमशः महासचिव विष्णु निरौला, चतुर्भुज काफ्ला र उर्मिला दाहालले गरेका थिए । स्थानीय जातजातिका झाँकी, ब्रम्हकुमारी राजयोग लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुबाट नगर परिक्रमा गर्दै अनुष्ठान सुरु गरिएको थियो ।

१० दिनसम्म चल्ने अनुष्ठानमा प्रमुख वाचक आचार्य पं. आशुतोष खनाल र उपवाचक पं. अग्नीप्रसाद सिग्देल रहेको धामका प्रचार संयोजक दिपीन राईले बताए ।