जलेश्वरधामको उन्नतिमा राजनीतिक दलहरुको चासो जरुरी « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

जलेश्वरधामको उन्नतिमा राजनीतिक दलहरुको चासो जरुरी


यलम्वर टाइम्स
२८ कार्तिक २०७४, मंगलवार ११:३९

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको स्वर्ण महोत्सव र ३५ औं अनुष्ठान चलिरहेको बेला मंगलबार ८ औं दिन सञ्चारकर्मी लगायत विभिन्न धार्मिक व्यक्तिहरुले यसको उन्नति र प्रगतिका लागि राजनैतिक दल सक्रिय हुनुपर्ने बताएका छन् ।

यस अघि झापाका चर्चित पत्रकार चन्द्र भण्डारीले धामको उन्नतिमा दलहरुले कन्जुस्याँई गरे उनीहरुलाई घाटा हुने बताए । यसरीनै आईतबार ८ औं दिन रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले पूर्वको पशुपतिनाथ रहेको भन्ने सुनेको बताउँदै यसको उन्नति र प्रगतिका लागि क्लब सक्रिय रहने प्रतिवद्धता जनाए ।

यसरी नै त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहरीले धर्मले नै विश्व शान्ति कायम गर्ने भएको हुँदा यस अनुष्ठानलाई सबैबाट सहयोग हुनुपर्नेमा जोड दिए । यसरी नै लोकतन्त्र दैनिकका सम्पादक मोहन काजीले १ नम्वर प्रदेशको गहनाको रुपमा रहेको जलेश्वरधाम सबैको केन्द्र विन्दु भएको बताए । सरगम एफएमका प्रमुख ज्ञानेन्द्र निरौलाले स्वर्ण महोत्सव समेत मनाउन पुगेको यस पवित्र धामले देश विदेशको मन खिच्न सफल भएको बताए ।

धामको मध्यकालिन अनुष्ठान पश्चात भएको अन्तरक्रियामा धामका महासचिव विष्णु निरौलाले सञ्चारकर्मीले धामको प्रचारप्रसार तथा विकासमा खेलेको भूमिकाप्रति प्रशंसा गर्दै स्वर्ण महोत्सव भरी धामका गतिविधिलाई अझ प्रचार गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा नगर सदस्य सन्तोष नेम्वाङ, वीरता जेसीजका अध्यक्ष सञ्जु भारती,

 

शनि मन्दिर संयोजक शंकर सुवेदी, स्वास्थ्य संयोजक डा. धनवीर यादव, धाम उपाध्यक्ष भीमचन्द्र भट्टराई, धाम कोषाध्यक्ष मनोज जोशी, गुरुकुलका सहसंयोजक शेखर प्रधान,

वाणिज्य संघ महासचिव चतुर्भुज काफ्ले, बजार व्यवस्थापन संयोजक शिवलाल खतिवडा लगायतले आफ्नो विचार राखेका थिए ।

 

बालाचतुर्दशीको दिन भव्य कार्यक्रम हुने भएको हुँदा धाम समितिले भक्तजनहरुको स्वागत तथा सम्मानमा जुट्ने बताए । आम भक्तजनका लागि महाप्रसादको लागि खाद्य विभाग सक्रिय रहेको संयोजक सुरेन्द्र शाहले बताए । धार्मिक मेलाको लागि बजार व्यवस्थापनमा अर्जुनधारा उद्योग वाणिज्य संघले जिम्मा लिएको हुँदा आउने भक्तजनहरुको लागि सरल हुने धाम समितिले जनाएको छ ।