विकासमा लक्षित हुँदै अर्जुनधाराको नगर सभा सम्पन्न « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

विकासमा लक्षित हुँदै अर्जुनधाराको नगर सभा सम्पन्न


यलम्वर टाइम्स
६ मंसिर २०७४, बुधबार ११:४७

अर्जुनधारा । ‘गाउँमा गाउँमा समग्र भौतिक पूर्वाधार अर्जुनधारा नगरपालिकाको विकासको आधार’ भन्ने मूल नाराका साथ अर्जुनधारा नगरपालिकाले प्रथम नगर सभा सम्पन्न गरेको छ ।

नगरपालिकाको सभाहलमा आयोजित नगर सभाले आर्थिक वर्ष २०७४÷०७५ को निति,कार्यक्रम तथा बजेट सर्वसम्मत पास गरेर ल्याएको छ । पास भएका नीति तथा कार्यक्रम केही दिनपछि पत्रकार सम्मेलन मार्फत जानकारी गराउने नगरपालिकाले जनाएको छ ।
निति तथा कार्यक्रममा नेपालको संविधानको मर्म अनुसार स्थानीय जनतालाई श्रोत, साधन, अधिकार सम्पन्न बनाउने उल्लेख गरिएको छ ।

वैदशिक रोजगारमा जाने युवा शक्तिलाई विदेश पलायन हुने कार्यलाई न्युनीकरण गर्न र परम्परागत कृषि प्रणालीलाई वैज्ञानिकरण गरी विषादी रहित आर्गानिक कृषि उत्पादनमा जोड दिँदै जनतालाई शासन व्यवस्थाको अनुभुति हुने गरी सेवा प्रवाहमा सुधार गर्दै नमूना नगर बनाउने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले प्रवाह गर्ने सेवालाई आधुनिकरण तथा प्रविधिमैत्री बनाउँदै प्रस्तुत नीति तथा कार्यक्रम पुस्तिकामा समेटिएको छ । अर्जुनधारा नगरपालिकाको उप–प्रमुख एवम् बजेट तर्जुमा समितिका संयोजक समेत रहेकी कमला खतिवडा आचार्यले नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अर्जुनधारा नगरपालिकाको भौतिक संरचना सहित वडा कार्यालयको भौतिक संरचना निर्माणलाई ध्यान दिइएको छ ।

सो नीति तथा कार्यक्रममा सडक विस्तार तथा कल्भर्ट, पुल निर्माण, शिक्षा, स्वास्थ्य, कृषि पशुपालन, सहकारी, बजार विस्तार, ग्रामीण विद्युतीकरण, उद्योग कलकारखानाको स्थाापना, खानेपानी तथा सरसफाई, पर्यटन, वातावरण तथा विपद तथा राहत व्यवस्थपान लगायतका योजनाहरु समेटिएको छ ।

नीति तथा कार्यक्रममा उद्योग, वाणिज्य एवम् बजार व्यवस्थापन, भु–उपयोग शहरी विकास तथा व्यवस्थित वस्ती विकास, वन तथा वातावरण, बालबालिका तथा अतिरिक्त क्रियकलापसँग सम्बन्धी, लक्षित वर्ग, राजश्व र वित्तीय, सुशासन, विद्युत तथा वैकल्पिक उर्जा, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास विषय समेटिएको छ ।

अर्जुनधारा नगरपालिकाको चालु आ.व.का लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ५३ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको जनाइएको छ ।

कुल विनियोजन मध्ये चालु तर्फ ६ करोड ४१ लाख ८४ हजार, पुँजीगत खर्च तर्फ २३ करोड ६९ लाख ५० हजार रुपैंया रहेको छ ।

सो मध्ये सशर्त अनुमानबाट खर्च हुने रकम ११ करोड ५८ लाख ६२ हजार रुपैयाँ सहित सामाजिक सुरक्षा भत्ता शिर्षकमा १२ करोड खर्च अनुमान गरिएको छ । सो मध्ये सशर्त अनुदान र सामाजिक सुरक्षा बाहेकको कुल पँजीगत बजेटबाट पूर्वाधार विकास १६ करोड ४६ लाख २७ हजार, सामाजिक विकास तर्फ २ करोड ७ लाख २० हजार, आर्थिक विकास तर्फ १३ करोड ७३ लाख ४० हजार, मानव संशाधन तर्फ १ करोड ५३ लाख ८० हजार रुपैयाँ, वन वातावरण १ करोड ४७ लाख ४५ हजार रुपैयाँ सार्वजनिक गरिएको नगरका प्रवक्ता सकुन्तला बरालले बताइन् ।

सभामा प्रस्तुत गरिएको सो नीति, कार्यक्रम तथा बजेटबारे छलफल गरी सर्वसम्मत अनुमोदन गरिएको जनाइएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न नगरसभा बैठकको सञ्चालन नगरका प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले गरेका थिए । नगर सभा सदस्यहरुले राखेको निति तथा कार्यक्रमहरुको राय, सल्लाह, सुझाव र टिप्पणीको विषयमा नगरप्रमुख रानाले स्पष्ट पारेका थिए ।