स्थानीय निर्वाचन सकिएको केही महिना पश्चात फेरी पुनः मुलुक चुनावी मैदानमा होमिएको छ । ठूला दलहरु सत्ता हत्याउने दाउमा आ–आफ्नो तवरले कम्मर कसेर लागेका छन् । मुलुककै दुई ठूला कम्युनिष्ट दल एमाले र माओवादी केन्द्र दुई तिहाई बहुमत ल्याउने दाउमा तालमेलका साथ वाम गठबन्ध गरी अगाडि बढेका छन् भने नेपाली कांग्रेस, राप्रपा लगायत केही मधेस केन्द्रीत दल पनि लोकतान्त्रिक गठबन्धन गरेर आफ्नो वर्चश्वको लागि चुनावी दौडाहमा होमिएका छन् । अर्को तिर साना दलहरु पनि समिकरण गर्दै अगाडि बढेको पाइन्छ ।
अब १२ दिन पछि प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फको निर्वाचन हुँदैछ । निर्वाचनको मिति जतिजति नजिकिदै आएको छ, त्यति त्यति नै दलहरुले आफ्नो प्रचार अभियानलाई तीव्रता दिँदै आएका छन् । जनतालाई अन्नबाली भित्र्याउने चटारो छ भने नेता–कार्यकर्तालाई निर्वाचनको । उनीहरु भोट माग्न आफ्नो प्रतिवद्धता सहित जनताका घरमा मात्र नभई खेतबारीसम्म पुगी मत माग्ने गरेका छन् । यसरी हेर्दा प्रतिस्पर्धी दलहरु प्रचारप्रसारको महाभिडन्तमा होमिएका देखिन्छन् ।
चुनावका बेला प्रचारप्रसार गर्नु र आफ्ना प्रतिवद्धताहरु जनतामाँझ बाँड्नु लोकतान्त्रिक गणतन्त्रको सुखद् पक्ष हो । लोकतन्त्रमा विचारको खुला स्पर्धा हुन पाउनुपर्छ । तर अहिले प्रचार प्रसारको नाममा दल–दल बीच, उम्मेद्वार–उम्मेद्वार बीच गरिने आरोप–प्रत्यारोप, गाली गलोज गर्ने प्रचलन हावी भएर आएको छ । यसले पक्कै पनि राम्रो सन्देश दिँदैन । वास्तवमै लोकतन्त्रको एउटा आधार चुनावलाई मान्ने हो र शुद्ध रुपमा स्पर्धामा उत्रने हो भने दल तथा उम्मेद्वारहरुले कसैलाई गाली नगरी आफ्नो विचार र एजेण्डालाई अगाडि सार्नु पर्छ, जनता रिझाउन सक्नुपर्छ । जनताले पनि उपयुक्त विचार र प्रतिवद्धतालाई छानी मत जाहेर गर्न सक्नु पर्छ । त्यसो गर्दा मात्र समग्र मुलुकको भलो हुन जान्छ, विकासको दिशातर्फ लम्कन सक्छ । त्यसैले उम्मेद्वारहरुले सभ्यतालाई ख्याल गर्दै निर्वाचनमा होमिएनु उपयुक्त हुन्छ । शान्तिसुरक्षा खलबल हुँदैन ।