चासोकमा परम्परागत भेषभूषाको प्रदर्शन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

चासोकमा परम्परागत भेषभूषाको प्रदर्शन


यलम्वर टाइम्स
१८ मंसिर २०७४, सोमबार ०८:१३

 

[विष्णु सुब्बा]

लिम्बु जातिको महान चाड चासोक तङनाम (उद्यौली पर्व)का अवसर परेर झापाको शिवसताक्षी नगरपालिकाको दुधेमा आइतबार विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

स्थानीय खेलमैदानमा एक कार्यक्रम गरि सामूहिक पूजाआजासहित लिम्बु जातिको परम्परागत भेषभूषाको प्रर्दशनी गर्नुका साथैं सांगीतिक प्रस्तुति गरिएको थियो ।

किरात नालीफूङवा चुम्भोको आयोजनामा भएको सो कार्यक्रम विहानदेखि शुरु भएर साँझ सम्म चलेको थियो । चुम्भोका अध्यक्ष विरवल जवेगुका अनुसार विहान लिम्बु जातिका पूजारी , विजुवाहरुले उद्यौली पर्वमा सामूहिक पूजा गरे भने दिउसो लिम्बु जातिको मौलिक परम्परागत भेषभूषाको प्रर्दशनी गरिएको थियो । त्यस्तै कार्यक्रममा युमालाङ , येवालाङ , माङलाङ जस्ता पूराना लिम्बु नृत्यहरु समेत प्रस्तुति गरिएको चुम्भोका अध्यक्ष जवेगुले जानकारी दिए ।

कार्यक्रमको मुख्य आर्कषक रहेको परम्परागत भेषभूषा प्रर्दशनीमा ३३ जना कलाकारहरुले आफनो प्रस्तुति दिएका थिए । कलाकारहरुले लिम्बु जातिले प्राचिन समयदेखि हाल आएका आधुनिक पहिरनको क्याटवाक देखाएका थिए । सो क्वाटवाटको कोरियाग्राफर पूर्व मिस नेपाल सुविन लिम्बुले गरेकी थिईन् भने त्यसको संयोजन कलाकार विक्रम फागो वनेमले गरेका थिए । सुविनले एक साता लामो समय दिएर कलाकारहरुलाई क्याटवाकलाई अभ्यास गराएका थिए ।

त्यस्तै सांगीतिक कार्यक्रममा अन्तराष्टिूय स्तरका गायकका रुपमा मान्यता पाएका राजेशपायल राईसहितका दर्जन बढी गायकहरुले आ-आफना गीतहरु पस्किएका थिए । गायक राजेशले आफना सुमधुर गीतहरुको प्रस्तुति गर्दे दर्शकलाई आधा घण्टा बढी उफारेका थिए । गायक रितुराज लिम्बुको पहिलो प्रस्तुतिबाट शुरु भएको सांगीतिक कार्यक्रममा खगेन्द्र यक्सो, ब्रबिम शेर्मा, साक्थीम योङया, राज लावुङ लगायतका गायकहरुले वेजोड प्रस्तुति दिएका थिए । गायकहरुले नेपालीसहित लिम्बु भाषामा गीतहरु प्रस्तुत गरेका थिए ।
यसैगरि कार्यक्रममा छेलो हान्ने, धनुष काँडलगायतको प्राचिन खेलहरुको समेत आयोजना गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण मावोहाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु कांग्रेसका देउमान थेवे, एलपी साँवालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ठुलो संख्यामा लिम्बुसहित सर्वसाधारणहरुको सहभागिता रहेको थियो । आयोजक संस्थाले गतबर्ष समेत यसरीनै बृहत रुपले चासोक तङनाम सम्पन्न गरेको थियो ।