विकासका धेरै कामहरु वडाबाटै छानिने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

विकासका धेरै कामहरु वडाबाटै छानिने


यलम्वर टाइम्स
२३ पुष २०७४, आईतवार ०५:३६

सिस्ने । नगरपालिकाको विकास हुनमा वडाको ठूलो हात हुने भएको हुँदा विकासका धेरै कामहरु वडाबाटै छानिने नगर प्रमुख हरिकुमार रानाले बताएका छन् ।

वडा नं. १ अन्तर्गत सिंहदेवी माविको प्राङ्गणमा शुक्रबार पूर्वाधार विकास समिति गठन प्रक्रियामा उपस्थित जनसमूदायलाई वडाले गर्ने काम, कर्तव्य र नगरले छुट्याउने बजेटका विषयमा जानकारी गराउँदै वडाले निर्माण गरेको समितिमा बसेर आफ्नो वडालाई विकासमुखि र सुन्दर बनाउन लाग्न आग्रह गरेका थिए ।

विकासमा छुट्टिने रकम सम्बन्धित ठाउँमा खर्च गरेर दीगो कार्यमा ध्यान पुर्याउन वडावासीलाई आग्रह गर्दै नगर प्रमुख रानाले जनताका केही समस्या भए वडामार्फत नगरपालिकामा आईपुगोस् त्यसमा नगरले सहयोग गर्ने बताए । विकासको गतिविधिमा नगरपालिकाले जमिन मिलाउने रोलर, वाटर ट्याङ्कर, ग्रेडर खरिद गरी बाटो निर्माणदेखि लिएर हरेक कार्यमा प्रयोग हुने सामग्री खरिद गर्दैछ, तपाईहरु ढुक्क हुनुहोस् बाटो निर्माणदेखि लिएर हरेक कार्यमा नगर वडावासीको साथमा रहने बताए ।

प्रमुख रानाले विकासका योजनामा सबै राजनीतिक दल मिलेर अगाडि बढे आफ्नो वडाको विकास हुनमा दुई मत नहुने बताउँदै विकासको बजेट सम्बन्धित ठाउँमा खर्च नगरी अपचलन भएमा त्यसको जिम्मा वडाध्यक्षले लिने बताए । त्यसैले विकासका सबै खाले कार्यमा वडावासीहरु चनाखो हुन आग्रह गरे ।

वडाध्यक्ष गजाधर खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित जनमानसलाई नगर सदस्य दिलबहादुर सारुले स्वागत गरेका थिए । कार्यक्रममा महिला समाजसेवी बुद्धमाया लावतीले मसिनो गरी विकासका गतिविधिबारे नगर प्रमुखले प्रस्ट्याएको प्रति धन्यवाद दिँदै वडा बनाउन जनता जागरुक हुनै पर्ने बताइन् । कार्यक्रममा योगप्रसाद भट्टराईले विकासमा वडावासीहरु सचेत भएको खण्डमा अपूरा कामहरु चाँडै निर्माण हुने बताए ।

कार्यक्रमा सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा भद्रीका विश्वकर्मा रहेका छन् भने सामाजिक विकास समितिमा माधव आचार्य रहेका छन् । यसरी नै वातावरण तथा विपद व्यवस्थापनमा तुलसा पोखरेल संयोजक रहेका छन् भने पूर्वाधार समितिको संयोजकमा दिलबहादुर सारु रहेका छन् ।

तिनीहरुका मातहतमा २५/२५ जना सदस्य रहने गरी वडाको पूर्वाधार विकास समिति गठन गरिने जनाइएको छ । नगरपालिकाको नवगठित ११ वटा वडाबाट समिति निर्माण भएपछि उक्त समितिलाई विकास र योजनाका विषयमा तालिम प्रदान गरी सुन्दर वडा निर्माणको लागि पहल गरिने नगर प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताए ।

सिस्नेमा भएको भेलामा वडा परिषद् सदस्य दिलीप गुरुङ, सूचना अधिकृत डेनजोनी आचार्य, लक्ष्मी राई, प्रवक्ता सकुन्तला बराल, हरिमाया भण्डारीको उपस्थिति रहेको नगरपालिकाका खगेन्द्र लिङ्देनले जानकारी दिए ।