अर्जुनधाराले सहादत स्थलबाटै नगरको विकास योजना सार्वजनिक « Yalambar Times
१० मंसिर २०८१, सोमबार

अर्जुनधाराले सहादत स्थलबाटै नगरको विकास योजना सार्वजनिक


यलम्वर टाइम्स
२५ पुष २०७४, मंगलवार १२:३७

[लीला राई]

सुखानी । प्रतिनिधि सभा सदस्य पवित्रा खरेलले शहीदको सहादत स्थलबाट विकासको योजना साथै नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेकोमा नगरवासीलाई धन्यवाद दिएकी थिइन् ।

मंगलबार खुदुनाबारी –३ स्थित सुखानी शहीद स्मृति प्रतिष्ठानमा प्रमुख अतिथि समेत रहेकी खरेलले नगरको नीति तथा कार्यक्रम पुस्तक सार्वजनिक गर्दै शहीदको बलिदानीबाट आएको परिवर्तनले मुलुक लोकतान्त्रिक गणतन्त्रमा गएको बताउँदै पहिलो पटक शहीदलाई सम्झेर सहादत स्थलबाटै विकासको कार्यक्रम सार्वजनिक गरेकोमा अर्जुनधारा नगरपालिकाले शहीदको सम्मान गरेको समेत बताइन् ।

उनले आर्थिक वर्ष कार्यक्रम अन्तर्गत ५४ करोड २४ लाख ६६ हजार ८३२ रकम मध्ये अधिकांश विकासे कार्यक्रममा खर्चिएको हुँदा यसबाट नगरको समुन्नत विकासमा टेवा पुग्ने बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि माई नगरपालिकाका प्रमुख दिपक थेवेले विकासको गतिमा अर्जुनधारा अगाडि बढे त्यसको सिको गर्दै आफू पनि पछि लाग्ने बताए । थेवेले अगाडि भने नगरको विकासमा जनप्रतिनिधिको भूमिकासँगै जनताको सहयोग उत्तिकै आवश्यक भएको बताए । प्रमुख थेवेले कृषि, पर्यटन, धर्म, संस्कृतिको प्रचुर स्थान ओगटेको नगर भएको हुँदा अर्जुनधारा नगरपालिकालाई उत्कृष्ट नगरपालिका हुन शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा आ.व. २०७४/०७५ को नीति तथा कार्यक्रमभित्रका आध्यपान्त प्रस्तुत गर्दै नगर प्रमुख हरिकुमार रानाले विषादी मुक्त नगरको परिकल्पना, कृषि तथा पूर्वाधार विकासको योजना, पर्यटन र कला संस्कृतिको विकासमा नगरले जहिल्यै सक्रिय भएर जनतालाई साथ दिने बताएका थिए ।

उनले वर्षेनी बाढीपहिरोबाट नगरलाई क्षतविक्षत तुल्याएको हुँदा त्यसको उचित समायोजनको लागि नगरको बजेट कुलकुलेसो, बाटोघाटो र पुल, कल्र्भटमा खर्चिएको समेत जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्यले बजेटले नगर क्षेत्रका सबै वर्ग, सम्प्रदायलाई छोएर आएको बताउँदै आउने दिनमा नपुगेका र गर्नुपर्ने विकासे कार्यमा समुचित ध्यान पुर्याएर बजेट आउने बताए । उपस्थित अतिथिहरुलाई स्वागत गर्दै प्रस्तुत नीति तथा कार्यक्रमलाई सुझाव समेत दिन आग्रह गरिन् ।

सार्वजनिक कार्यक्रममा अर्जुनधारा प्रेस क्लब अध्यक्ष कुमार भट्टराईले नगरको विकास र योजना बनाएर खर्च नगरले गरेतापनि त्यसको विकासका गतिविधि र समाधानका बाटो सञ्चारले खेल्ने बताउँदै यस्तो अवसरमा नगरका क्रियाशिल सञ्चारकर्मीलाई सम्मान गर्दै जानुपर्ने सुझाव दिएका थिए ।

अर्का अतिथि माओवादी केन्द्रका नेता भूपेन्द्र न्यौपानेले लामो समयपछि जनप्रतिनिधिमार्फत विकासको योजना छर्न सफल यस नगरले नगरवासीको उन्नति र प्रगतिमा कञ्जुस्याँई गर्न नहुने बताए । उनले नगरको विकासमा जनप्रतिनिधिले खेलेको भूमिकाप्रति आउने दिनमा जनताले मुल्याङ्कन गर्ने बताए ।

कार्यक्रममा जुकेखाडी सामूदायिक वनका अध्यक्ष दिव्य कट्टेलले नगरले सामूदायिक वनलाई हेर्ने र त्यसलाई सहयोग गरेर जाने नीति ल्याउनु पर्ने बताए । उनले प्रथम सभाको शुभकामना दिँदै नीति तथा कार्यक्रम जनमुखि भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा माई नगरपालिकाका उपमेयर विष्णुमाया आचार्य, नगर प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, माई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सूर्यप्रसाद आचार्य, एमाले अर्जुनधारा नगर कमिटीका अध्यक्ष प्रेमसागर सापकोटा, माओवादी केन्द्रका दिपेन्द्र लम्साल, इलाका वन कार्यालयका रितेश बस्नेत, पाराखोपी च्यारिटी क्लबका अध्यक्ष दिपक दुलाल, खुदुनाबारी कृषि सहकारीका खगेन्द्र ढुंगेल, पूर्व अर्जुनधारा गाविस अध्यक्ष कुन्दन भट्टराई, सुखानी सामूदायिक वनका अध्यक्ष दिलमाया दास, सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष महेन्द्र बुढाथोकी, संघीय समाजवादी फोरमका सृजलाल चौधरी, अर्जुनधारा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द खतिवडा, उद्यमशील महिला संघ अर्जुनधारा अध्यक्ष सरु बुढाथोकी, जिल्ला ट्रफिक प्रमुख राजेश राई, प्रहरी चौकी शनिश्चरेका इञ्चार्ज सुरेशकुमार संग्रौला, हचुमासा सामूदायिक वनका राम निरौला, नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा कोषाध्यक्ष देवराज बुढाथोकी, साना किसान कृषि सहकारीका राधाकृष्ण खनाल, प्रदेश सभा सभासद बृख प्रधान लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रम शुरु हुन अघि नगर कृषि कार्यक्रम अन्तर्गत कृषि सम्बन्धि जनचेतना नाटक साथै सांगीतिक कार्यक्रम समेत आयोजना गरेका थियो भने विभिन्न क्षेत्रबाट पदक हासिल गरेका खेलाडीहरुलाई प्रमुख अतिथि खरेलबाट सम्मान गर्नका साथै मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा सारेग संगीत विद्यालयले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने तेक्वान्दो डोजाङ खुदुनाबारीले खेल प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतमले गरेका थिए ।