अर्जुनधारामा जय भोले « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अर्जुनधारामा जय भोले


यलम्वर टाइम्स
१ फाल्गुन २०७४, मंगलवार ०५:०३

अर्जुनधारा । चलचित्रकर्मी अशोक शर्माले शिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट झापाको अर्जुनधारा जलेश्वरधामबाट नेपाली चलचित्र ‘जय भोले’ को छायाङ्कन शुभराम्भ गर्ने भएका छन् ।

चलचित्र निर्माण टिमले सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका विषयमा जानकारी दिएको हो ।
झापाको बिर्तामोड, शनिश्चरे, बुधबारे, सालबारी, लक्ष्मीपुर घैलाडुब्बा लगायत इलामको फिक्कल, इलाम बजार लगायतका स्थानमा छायाङ्कन गरिने चलचित्र निर्देशक शर्माले बताए ।

सामाजिक कथाबस्तुमा आधारित रहेको जय भोले चलचित्र अग्र्यानिक भएकाले परिवारका साथमा हेर्न सकिने निर्देशक शर्माले बताए । चलचित्रको नाम धार्मिक जस्तो भए पनि त्यस्तो नभएको शर्माको भनाइ छ ।

एक करोड ६० लाखको लागतमा निर्माण हुन लागेको चलचित्रको लेखक नायक खगेन्द्र लामिछाने रहेका छन् । शर्माको निर्देशनमा बन्ने चलचित्रमा किरन शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माता रहेका छन् ।

चलचित्रमा संगीत दिएका छन् राजनराज शिवाकोटी र कल्याण सिंहले । चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सलोन बस्नेत, अशोक शर्मा, साथै स्थानीय कलाकार दीपक ढुङ्गाना, माधव कल्पित, मुना प्रसाई, राजु खरेल, नवीन विश्वकर्मा, सुजना खतिवडा, प्रियांका उपे्रती लगायत रहेका छन् ।

फिल्म वल्ड प्रालिको व्यानरमा निर्माण हुने ‘जय भोले’ फागुन १ गतेबाट छायाङ्कन शुरु गरी २०७५ सालको दशैको फुलपातीका दिन रिलिज गरिने निर्देशक शर्माले बताएका छन् ।