उभौली पर्वमा पत्रकार सम्मानित « Yalambar Times
१७ असार २०८२, मंगलवार

उभौली पर्वमा पत्रकार सम्मानित


यलम्वर टाइम्स
२ जेष्ठ २०७५, बुधबार १२:५१

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले किराती कूलमा जन्मिएर विभिन्न पदमा निर्वाचित भएका तीन पत्रकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा किरात राई यायोक्खाका आजीवन सदस्य तथा यलम्वर टाइम्सका सम्पादक दिपीन राई, किरात राई पत्रकार संघ झापाका अध्यक्ष राजन साम्पाङ राई र राई पत्रकार संघको नवनिर्वाचित केन्द्रीय सदस्य लीला राईलाई सम्मान गरेको हो । यसरी नै एसईईमा सर्वोकृष्ट अंक प्राप्त गर्दै उत्तीर्ण हुने नाईमाहाङमा राईलाई पनि सम्मान गरिएको छ ।

उभौली साकेला पर्वको अवसर पारेर अर्जुनधारा–११ सालबारी स्थित साकेला थानमा आयोजित कार्यक्रममा सम्मानितहरुलाई प्रदेश सांसद बृख प्रधान, किरात राई यायोक्खा जिल्ला सहसचिव आनन्द राई, नेवा दयः दवुका अध्यक्ष भानु श्रेष्ठ, मगर संघका अध्यक्ष मनोज रैका मगरले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहसचिव आनन्द राईले राई जातिहरुको आत्माबोध गर्ने र सम्मान गर्ने कार्यमा सरकार अगाडि बढ्न सकेन भने राई जाति चुप लागेर नबस्ने बताए । उनले २५ लाख हस्ताक्षर गरी किरात प्रदेशको माग गरेको हुँदा पुरा गर्न माग गरे ।

कार्यक्रममा माननीय सांसद बृख प्रधानले सबै जाति सम्प्रदायको सम्मान हुने नीति आउँदै गरेको बताए । विशेष अतिथि समेत रहेका प्रधानले सबे धर्मको संरक्षण गर्न सरकार सक्रिय हुने विश्वास दिलाए ।

कार्यक्रममा राई पत्रकार संघ झापाका अध्यक्ष राजन साम्पाङ, किरात याक्थुम चुम्लुङ यूकेका अध्यक्ष काजीमान याक्सो, मगर संघका मनोज रैका मगर, सुम्निमा संघका चिजा राई, किरात राई यायोक्खा जिल्ला सदस्य अर्जुन राई, आदिवासी जनजाति महासंघ बिर्तामोडका गोपाल राई, बासु वान्तवा राई लगायतले मन्तव्य राखेका थिए ।

नगर अध्यक्ष क्या. मानबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष क्या. शिवकुमार राईले साकेला उभौलीबारे प्रस्ट्याउँदै स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सरिता राईले गरेकी थिइन् ।