अर्जुनधारा नगरपालिकामा बाल शिक्षकहरुद्वारा धर्ना « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारा नगरपालिकामा बाल शिक्षकहरुद्वारा धर्ना


यलम्वर टाइम्स
११ भाद्र २०७५, सोमबार १०:४१

अर्जुनधारा । बालबालिकाहरुलाई कखरा सिकाइ विद्यालय जान सक्ने वातावरण सिर्जना गर्दै आएका देशभरका बाल शिक्षकहरुले स्थानीय तहरुमा धर्ना दिएका छन् ।

शिक्षा ऐनको संशोधनले बाल शिक्षालाई आधारभूत तहकै रुपमा हेरिएको र आफूहरुले शिक्षक सरह काम गरे पनि सेवा सुविधामा राज्यले कन्जुस्याँई गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

बालशिक्षा शिक्षक संघर्ष समिति अर्जुनधाराले पनि सोमबार आफ्नो जायज मागहरु पूरा गर्नुपर्ने भन्दै नगरपालिका परिषरमा धर्ना दिएको छ ।

संघर्ष समिति अर्जुनधाराकी संयोजक चन्द्रा तामाङको नेतृत्वमा धर्ना दिन आएका बाल शिक्षकहरुले आफूहरुलाई शिक्षक सरह व्यवहार गरिनुपर्ने र सेवा सुविधामा वृद्धि गरेर लानुपर्ने आवाज उठाएका छन् ।

धर्नामा सहभागिहरुले शिक्षक सरह तालिम र सुविधा कायम गर, शिक्षक शिक्षक नै हो अपहेलना नगर, उचित पारिश्रमिकको व्यवस्था गर, बालशिक्षक श्रम शोषण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

धर्ना कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले ढिलो चाँडो प्रत्येक शिक्षक–कर्मचारीहरुको माग सम्बोधन भएर जाने बताए । ‘नीति, नियम बनाउने बेला स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । स्थानीय तह अधिकार सम्पन्न भयो भनियो’ प्रमुख रानाले भने, ‘तर, यसको नीति, विधि नबनिदा समस्या आएको हो ।’

प्रमुख रानाले यसको यसको नीति, विधि बनाउन केही समय लाग्ने बताउँदै यो समस्या आफ्नै कार्यकालमा समाधान भए जाने बताए ।

कार्यक्रममा उपप्रमुख कमला आचार्यले बालशिक्षाका शिक्षकहरुलाई राज्यले नहेरेको बताउँदै राज्यको आगामी शिक्षा नीतिमा सम्बोधन हुँदै जाने बताए । उनले बालशिक्षाका शिक्षकहरुका लागि नगरपालिकाले केही रकम प्रदान गरेर थालनी गरेको बताए । उपप्रमुख आचार्यले यो समस्या नगरले हेरेर मात्र नहुने बताउँदै केन्द्रसम्मै पुर्याउनु पर्ने बताए ।

नगर शिक्षा शाखाका प्रमुख जानुका गुरागाईँले बालशिक्षकहरुले ल्याएको माग जायज भएको बताउँदै नगरमा उपलब्ध स्रोत साधनबाट व्यवस्थापन गर्दै जाने बताए ।

नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले शिक्षा ऐनले बालशिक्षालाई आधारभूत शिक्षा अन्तर्गत समेटेको हुँदा बालशिक्षकहरुलाई शिक्षक सरहको सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।

समितिकी संयोजक चन्द्रा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङ, नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री, शकुन्तला बराल, टंकप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

मिना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा आन्दोलनको औचित्यमाथि प्रकाश पार्दै स्वागत गोमा पनेरुले गरेकी थिइन् ।

यस अघि उनीहरुले आफ्नो मागसहितको ज्ञापनपत्र नगर प्रमुख रानालाई बुझाइ सकेका छन् । ज्ञापन पत्रमा बाल शिक्षालाई सरकारले विद्यालय तह मानेपछि त्यसमा कार्यरत आफूहरुलाई शिक्षक भनिनुपर्ने र अन्य शिक्षक सरह सुविधा दिनुपर्ने उनीहरुको माग छ ।

अर्जुनधारा नगरपालिकामा विद्यालय अन्तर्गत ५० र सामुदायिकमा १५ गरी जम्मा ६५ जना बाल शिक्षक रहेका छन् ।

उनीहरुको सेवा सुविधा वापत मासिक ५ हजार रुपैयाँ र नगरपालिकाले १ हजार गरी ५ हजार प्रदान गरिदै आएको छ भने महंगी भत्ता स्वरुप नगरले वार्षिक ५ हजार प्रदान गरिदै आएको छ ।