[लीला राई]
अर्जुनधारा । शिशिरकुमार भुजेल नेपाली भूपू सैनिक हुन् । उनी सेनामा भर्ती हुँदा पनि कपाल काट्ने दर्जामा भर्ती भएका थिए । सेनामा उनले १६ वर्ष बिताएर रिटायर्ड भएपछि उनी व्यवसायिक रुपमा हेयर कटिङ्ग सैलुन शनिश्चरे बजारमा खोलेर बसेका छन् ।
सन्तान मध्येको कान्छा छोरा शिशिर भन्छन् प्राविधिक पेशा अपानाइयो भने भोकले मरिदैन, नाङ्गै हिड्नु पर्ने अवस्था आउँदैन । त्यसैले उमेरले बीस पुग्दा उनी हेयर कटिङ्ग तालिममा सहभागी भएको बताए ।
साना तथा घरेलु उद्योग चन्द्रगढी झापाले सुरुङ्गामा २०५४ साल पौष २४ गते ३ महिने तालिम दिएपछि त्यही तालिममार्फत सेनामा भर्ती लाग्न जाँदा चौंथो श्रेणीको पद अन्तर्गत हेयर कटिङ्गमा भर्ती भए ।
शिशिर भन्छन्, ‘आज रिटायर्ड जीवन बिताएको छु । भर्तीबाट रिटायर्ड भएका धेरै साथीहरु विदेशमा नोकरी गर्न पुगेका छन् । मैले केही गर्नु छ भने स्वदेशमा नै गर्नुपर्छ भन्ने सोच पलाएको हुँदा शिशिर हेयर कटिङ्ग सैलुन खोलेर बसेको हूँ ।’
शुरुशुरुमा हेयर कटिङ्गको काम सिक्दा त्यस्तो पेशा त तल्लो जातले पो ! गर्ने हो भनेर गिज्याउथे । कतिले त ठाकुर आयो भनेर हेला गर्थे । सँगैको साथीले होइ ठाकुर ! के छ ? भनेर प्रश्न गर्थे । तिनीहरुले गिज्याएकोमा मलाई कुनै पिर थिएन । त्यसो भनेर जिस्काउने, हेला गर्नेहरु आज बेरोजगार भएर जीवन बिताइरहेका छन् ।
शिशिरको घर अर्जुनधारा–१०, चुथाईमा पर्छ । उनका जेठा र माइला दाजु कृषि पेशामा आवद्ध छन् । साइला भने नेत्रहिन संघमा नासु पदमा कार्यरत छन् । उनी भने ८ महिना यताबाट हरिविलास जनसेवा मार्केटमा शिशिर हेयर कटिङ्ग सैलुन खोलेर बसेका छन् । उृनी कपाल काटेको रु. ५०, दारी काटेको रु. ३०, फेसियल गरेको रु. ८० रेट राखेर बसेका छन् ।
नेपालीले पनि यसरी सैलुन खोलेर सेवा प्रदान गर्दा मनग्गे आम्दानी हुने बाटो भएकोले उदाउँदो युवा पुस्ताका लागि हेयर कटिङ्ग पेशामा आबद्ध हुन शिशिर आह्वान गर्छन् । उनले सिकाएका चेला मित्र रिजाल धाइजनमा सैलुन खोलेर बसेका छन् ।
खगेन्द्र बास्तोला, भक्त मुखिया बुट्टाबारीमा पसल खोलेर बसेका छन् भने किशोर श्रेष्ठ कालिस्थानमा । खुदुनाबारी र लक्ष्मीपुरमा पनि नेपाली युवाहरु हेयर कटिङ खेलेर आत्मनिर्भर भएका छन् ।
शिशिरले विहाटमा ५ देखि ६ सयसम्म कमाउँछन् भने हाट लागेका दिन २ हजारदेखि ३ हजारसम्म बसाउँछन् । खर्च काटेर १५÷२० हजार कमाउँदै आएको उनको कथन छ । शिशिर भन्छन्, ‘स्थानीय सरकारले बेरोजगारी भएका युवा पुस्तालाई हेयर कटिङ्ग तालिम प्रदान गरेर रोजगारीको बाटो देखाउन पछि हट्नु हुँदैन । हामी जस्ता प्रशिक्षकहरुलाई स्थानीय सरकारले प्रयोग गरे हामी मनग्ये सहयोग गर्छाैं ।’
विदेशीहरु नेपालमा आएर धेरै सैलुन खोलेर आत्मनिर्भर भएका छन् भने नेपाली युवाहरुलाई हेयर कटिङ्ग तालिम दिएर स्वदेशमै गरी खाने बाटो किन नदेखाउने ? उनी स्थानीय सरकारलाई प्रश्न गर्छन् ।
शिशिर अगाडि भन्छन्, ‘बेरोजगार युवाहरुले पनि हिम्मत गर्नु प¥यो कि, स्वदेशमा नै बाँच्ने आधार खोज्छु भनेर । काम गर्ने प्रक्रियामा अल्छि र लाज मानियो भने जीउँदो मानव भएर बाँच्नुको कुनै अर्थ रहन्न ।
एक छोरा १ छोरी र श्रीमतीका साथ जीवन गुजारा गर्दै आएका शिशिरको १८ वर्षिय छोरी लुपस रोगको कारण मृत्यू भएकोले जीवन नरमाइलो भएको तितो क्षण पोख्छन् । तर पनि गर्दै आएको पेशालाई छाडेर शोकमै बस्नुको कुनै अर्थ रहन्न हिम्मत गर्दै भन्छन् ।