सम्बन्धविच्छेदका लागि अदालत धाउने पुरुषको संख्यामा वृद्धि « Yalambar Times
७ आश्विन २०८१, सोमबार

सम्बन्धविच्छेदका लागि अदालत धाउने पुरुषको संख्यामा वृद्धि


यलम्वर टाइम्स
२७ माघ २०७५, आईतवार ०९:२७

झापा । श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमती पीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।

श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन् ।

विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमती पीडित भएको भन्दै न्यायको उन्मुक्तिको बाटो खोज्दै अदालतमा पुगेका छन् ।

वैदेशिक रोजगारीका क्रममा श्रीमती परपुरुषसँग सम्बन्ध स्थापित गर्नु, वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नु जस्ता कारण देखाउँदै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ ।

चालु आर्थिक वर्षको छ महीनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा दर्ता भएकोमध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत पाल्पामा पुगेर मुद्दा दर्ता गराएका छन् ।

हुन त यो तथ्यांकले पुरुषको तुलनामा महिलाको संख्या दोब्बर बढी देखिन्छ । तर जिल्लामा हिजोको अवस्था र अहिलेको अवस्थालाई हेर्दा सम्बन्धविच्छेदका लागि पुरुषको संख्या धेरै बढ्दो छ नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदालत धाउन थालेका हुन् ।

भदौ एक गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ । सोही अनुसार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन जाने गरेका छन् ।

पुस मसान्तसम्म दर्ता भएका १२२ मुद्दामध्ये ५९ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार भेषराज खनालले जानकारी दिए । दर्ता भएका मुद्दामध्ये ६३ फछ्र्यौट हुन बाँकी छ ।

गतवर्ष जिल्लामा १३३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो । महिलाहरु मानसिक यातना, घरेलु हिंसा, अपहेलना जस्ता समस्या लिएर मुद्दा दर्ता गराउन पुग्ने गरेको कार्यालयले जनाएको छ ।