[लीला राई]
अर्जुनधारा । त्यसबेला प्रशासनको ड्युटी गर्न ठाडो आदेश । आदेश अनुसार ड्युटीमा खटिदा माओवादीको घेराभित्र परेर ज्यान जोगाउनुपर्ने अर्को समस्या । पटक–पटक यस्तो घेराबन्दीमा परेपछि बाध्यबस जागिर त्याग्नुपरेको पीडा झापा अर्जुनधारा नगरपालिका–७ का ५४ वर्षीय कृष्ण प्रसाई सुनाउँछन् ।
पाँचथरको अमरपुर चौकीमा ड्युटी गर्न बस्दा पटक–पटक माओवादीको घेराभित्र परेका उनी त्यसबेला माओवादी कमाण्डर मणि श्रेष्ठले जागिर छाड्न भनी पटक–पटक दिएको धम्की सम्झन्छन् । त्यही धम्कीले नै जागिर छाड्ने मनस्थिति बनाएको उनले बताए ।
यता माओवादीको यातना र धम्कीबीच बाँचेको शरीर हो हजुर ! भनेर आफ्नो विभागका प्रहरी प्रमुखलाई बारम्बार सुझाउदा पनि ड्युटी नछाड्न आदेश पाइरहँदा त्यो बेला प्रसाईलाई मर्नु न बाँच्नुको अवस्था सिर्जना भएको थियो ।
अन्तोतगतः मर्नुभन्दा बहुलाउन निको भने जस्तै उनले बालबच्चासँगै बानिबुत्तो गरेर खान्छु भनी जागिरबाट टाढा हुनुपर्यो । श्रीमती र २ नाबालक छोरालाई बिर्सन सकिन । दिनरातको धम्की र पीडा खप्न सकिन । आफू रहेको विभागले पनि सान्तवना दिन सकेन । अन्तोतगतः चौकीमाथि आक्रमण भयो । ज्यान जोगाउन शिवाय अरु केही गर्न सकिएन हजुर !
गत शनिबार कृष्ण प्रसाईले यस्तै–यस्तै पीडा बोकेर यलम्वर टाइम्सको कार्यालयमा आइपुगे । जागिर छाड्दा स्वास्थ्य भएको उनी बताउँछन् । आर्थिक उपार्जनको बाटो नभएर केही वर्ष प्राइभेट सेक्टरमा सुरक्षाकर्मी भएर पनि काम गरे । हिजोआज उनी रोगले थलिएका छन् । पीडाका शब्द पोख्न बाहेक उनीसँग अर्को विकल्प पनि छैन ।
उनले ०५७ सालतिर जागिर छाड्नु परेको थियो । उनीसँगै धेरैले त्यसैबेला जागिर छाडेरका थिए । पछि द्वन्द्व अन्त्य भएपछि उनका साथीहरुले विभिन्न मन्त्रालयबाट द्वन्द्व पीडित भनी आर्थिक लाभ पनि लिए । द्वन्द्व पीडित भनेर मलाई पनि धेरैले सिफासिर गरेका थिए । त्यसबेला माओवादी कमाण्डर मणि श्रेष्ठले पनि हाम्रो सरकार आएपछि पुनःर्वाहाली गर्ने भनी आश्वासन दिएका थिए । धेरै साथीहरु पुनःर्वाहाली पनि भए । म पनि पुनःर्वाहाली हुन्छु भनेर सरकारी अड्डा अदालतमा ढकढकाएँ, तर हुन सकिन ।
युद्ध चर्किरहेको थियो । दोरुम्बाको दोहोरो भिडन्तमा कमाण्डर मणि श्रेष्ठ पनि मारिए । अमरपुर चौकीमात्र होइन, दोरुम्बामा भएको चौकीलाई समेत तहसनहस पारिदिए । ‘हामी त्यसबेला भएको भए यतिका बाँच्न पाउने थियौं कि थिएनौं, यसबेला बाँच्दा पनि पशु जस्तो भएर बाँच्नु परेको अवस्था छ सर’ विगत सम्झदै उनी भन्छन् ।
कृष्ण हाल पक्षघातको शिकार भएर बस्नु परेको अवस्था छ । शनिबार बिहान लौरोको सहारामा यस यलम्वर टाइम्ससँग आफ्नो पीडा राख्न आउँदा गहभरि आँशु झार्दै उनले भने, ‘धेरैले द्वन्द्व पीडित भनेर सिफासिर गरे । शान्ति पुर्न मन्त्रालयमा समेत द्वन्द्व पीडित भनेर दर्ता भयो । द्वन्द्व पीडित बबर महल काठमाण्डौमा प्रसाईका बारे छलफल पनि भयो । त्यसबेला सँगैका साथीहरुले द्वन्द्व पीडितका नामबाट आर्थिक सहयोग पनि बुझे आफूलाई भने कसैले सहयोग गरिदिएन ।’
धेरै नेताका घरहरुमा आफ्ना पीडा राख्न पुगें रै पनि सुनुवाई भएन । सहयोगको नाममा अर्जुनधारा नगरपालिकाले ५ हजार उपचार खर्च भनेर दियो । त्यो रकम चेकजाँचमै सकियो । हाल कृष्णको ओत लाग्ने झुपडी बाहेक अरु केही छैन ।
कृष्ण भन्छन्, ‘संघीय सरकारले नहेरे पनि प्रदेश र स्थानीय सरकारले द्वन्द्व पीडितहरुलाई राहत स्वरुप सहयोग गरिदिएको भए बाँच्ने आशा जागेर आउथ्यो ।’ पक्षघात पीडित कृष्ण औषधी खाने समेत खर्च नभएर बस्नु परेको अवस्था छ ।