अर्जुनधारामा किरात गुरु आत्मनन्द आउने « Yalambar Times
७ आश्विन २०८१, सोमबार

अर्जुनधारामा किरात गुरु आत्मनन्द आउने


यलम्वर टाइम्स
२३ बैशाख २०७६, सोमबार ०६:२१

खुदुनाबारी । अर्जुनधारा वडा नम्बर २ र ३ को बीचमा निर्माण गरिएको महागुरु फाल्गुनन्दको प्रतिमा अनावरण गर्न किरात धर्म गुरु आत्मानन्द लिङ्देनसँगै प्रदेश सरकार प्रमुख प्राडा गोविन्द तुम्वाहाङ आउने भएका छन् ।

खुदुनाबारी स्थित एक वर्षअघिबाट निर्माण हुँदै आएको उक्त प्रतिमा करिब १७ लाखमा निर्माण गरिएको हो ।

प्रतिमा बैशाख २४ गते मंगलबार ११ बजे अनावरण गरिने भएको छ । प्रतिमा उद्घाटनका लागि गुरु लिङ्देन र प्रदेश सरकार प्रमुख तुम्वाहाङ उपस्थित हुने जनाएका छन् ।

अर्जुनधारा नगर क्षेत्रमा किरात धर्मावलम्बीहरुको पनि बाहुल्यता भएको हुँदा किरात धर्मावलम्बीहरुले एक वर्षअघि प्रतिमा निर्माणका लागि शिलान्यास गरेका थिए ।

किरात धर्माका अनुयायी तथा मार्ग निर्देशक समाज सुधारक महागुरु फाल्गुनन्द भएको हुँदा उनलाई नेपाल सरकारले १६ औं राष्ट्रिय विभूतिको रुपमा लिएको छ ।

महागुरु फाल्गुनन्दले काटमार, हत्याहिंसा र सादा जीवनका लागि दिएको योगदान अतुलनीय भएकोभन्दै किरात बसोबास क्षेत्रमा उनको प्रतिमा राखिदै आएको हो ।

इलामको चुक्चिनम्बामा जन्मेका गुरु फाल्गुनन्दलाई बाल्यकालमा फलामसिंह भनेर बोलाउने गरिन्थ्यो ।

उनी बैंस छदा भारतीय सेनामा भर्ती भई सेनामा रहँदा पनि हत्याहिंसा जस्ता कार्य देखेर त्यसलाई तिलाञ्जली दिँदै स्वदेशमा आई गाउँ–गाउँबाट हिंसा विरुद्ध अभियान सुरु गरेका थिए ।

उसबेला किरातीहरुमा छोरीचेलीबाट रीत लिने–दिने चलन थियो । काटमार र मदिरा सेवन जस्ता कार्यले किराती समुदायमा नकरात्मक असर पुर्याउँदै आएको थियो ।

त्यसको विरुद्ध सकारात्मक सन्देशसँगै शाहकारी भोजन र पूजापाठलाई प्राथमिकता प्रदान गर्न गुरु फाल्गुनन्दले ठाउँ–ठाउँबाट सन्देश दिँदै हिंडेको हुँदा किरात धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्दलाई समाज सुधारक गुरुको रुपमा लिँदै आएको छ ।

पूर्वमा मात्र महागुरु फाल्गुनन्दको एक सयभन्दा बढी प्रतिमा खडा गरिएको छ ।

समाजको उन्नति र प्रगतिसँगै मित्रताको भाव बढाउने महापरुष भएको हुँदा नेपाल सरकारले पनि राष्ट्रिय विभूतिको रुपमा लिएको हो ।

२४ गते गुरु फाल्गुनन्दको प्रतिमा उद्घाटन गर्नका लागि स्थानीय संघसंस्था मात्र नभई यस क्षेत्रबाट निर्वाचित भएर गएका सबै सांसद तथा राजनीतिक दलहरुको बाक्लो उपस्थिति रहने आयोजक समितिका सदस्य खगेन्द्र लिङ्देनले जानकारी दिए ।

किरात धर्म साहित्य उत्थान संघ खुदुनाबारी संरक्षक रहेको उक्त प्रतिमा निर्माण समितिमा महेन्द्र आङ्दम्बे संयोजक रहेका छन् ।