महागुरु फाल्गुनन्दको शालिक अनावरण (फोटो फिचर सहित) « Yalambar Times
७ आश्विन २०८१, सोमबार

महागुरु फाल्गुनन्दको शालिक अनावरण (फोटो फिचर सहित)


यलम्वर टाइम्स
२४ बैशाख २०७६, मंगलवार १३:२३

अर्जुनधारा । ८९ औं समाज सुधार दिवसको अवसरमा १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको शालिक अनावरण गरिएको छ ।

अर्जुनधारा वडा नम्वर २ र ३ को बीचमा पर्ने खुदुनाबारी चोकमा रहेको शालिको अनावरण किरात गुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङमा साँवाले गरेका थिए ।

शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश नं. १ का प्रमुख प्राडा गोविन्द तुम्वाहाङले महागुरु फाल्गुनन्दको शालिक नजिक महाबत्ती प्रज्वलित गर्दै महागुरु फाल्गुनन्दले प्रेम र अहिंसा यी मुख्य दुई कुरालाई लिएर आएको बताए ।

उनले हत्याहिंसा नगरी सदा प्रेमको बाटोमा हिंडे विश्वबन्धुत्वको भावना विकास हुने बताए ।

प्रमुख अतिथि प्राडा तुम्वाहाङले आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्न आफ्नो भाषाको रक्षा गर्नु पर्ने बताए । उनले अगाडि भने, ‘हामीले हाम्रो संस्कार र संस्कृतिको बचाउनका निम्ती आफ्नो भाषाको जर्गेना गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै प्राडा तुम्वाहाङले अहिले अंग्रेजी भाषामा सबैको आकर्षण बढेको हुँदा मातृभाषा ओझेलमा पर्दै लोप हुने अवस्थामा रहेको हुँदा यसको संरक्षणमा जुट्नु पर्ने बताए ।

‘शिक्षा मातृभाषामा लियो भने त्यो सहज हुन्छ’ प्राडा तुम्वाहाङले भने, ‘तर यो हामीले बुझ्न सकेका छैनौं । यसलाई बुझेर अगाडि बढ्न जरुरी छ ।’

उनले सम्पूर्ण धर्मको उद्देश्य मानव समूदायलाई सत्यको बाटोमा डोहोर्याउनु नै भएको बताउँदै समाज सुधारका लागि महागुरु फल्गुनन्दले पुर्याएको योगदान अतुलनीय भएको बताए ।

कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सबै धर्म, सस्कृतिको उत्तिकै महत्व भएको बताउँदै किरात धर्म फैलिदा हामी सबैले गर्व गर्नुपर्ने बताए ।

त्यस्तै अर्का वक्ता पूर्व सांसद प्रेमबहादुर गिरीले धर्म मानिसलाई अनुशासनमा हिंडाउने यन्त्र भएको बताए ।

कार्यक्रममा बोल्दै गिरीले फाल्गुनन्दले देखाएको बाटोमा हिंडे मुलुकमा शान्ति, अमनचयन कायम हुने बताए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले किरात धर्म हाम्रो मुलुकको मौलिक धर्महरु मध्ये एक भएको बताउँदै हाम्रा पुर्खाहरुले मानिआएका यो धर्मलाई अनुसरण गर्दै जानुपर्न बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन लगायतले बोलेका थिए ।

सोही अवसरमा शालिक निर्माणमा सहयोग प्रदान गरेको भन्दै घनश्याम चेम्जोङ, सितादेवी खड्का चेम्जोङ, धर्मलाल लिङ्देन लगायतलाई सम्मान गरेको थियो ।

कार्यक्रममा माङ्गेना केन्द्रीय अध्यक्ष केहरसिंह योङहाङ, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक दिनेशराज मैनाली, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थक्स, अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्य, समाजसेवी देउमान थेवे, अर्जुनधारा वडा नं. १० का अध्यक्ष बलदेवसिंह गोम्देन, किरात धर्म उत्थान संघका सेसेहाङ फ्याँक, मान सेवा समाज केन्द्रीय अध्यक्ष बलराम खजुम, गुरुका कानूनी सल्लाहकार भीम खत्री लगायतको आतिथ्य रहेको थियो ।

१६ औं राष्ट्रिय विभूतिको रुपमा समेत रहेका महागुरु फल्गुनन्दको साढे सात फुटको पूर्ण कदको प्रतिमा निर्माण गरिएको छ । उक्त प्रतिमा निर्माण गर्न करिब १७ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

सोही दिन फाल्गुनन्द चोकबाट कैदले जोड्ने फाल्गुनन्द मार्गको पनि उद्घाटन गरिएको थियो ।

२७ लाख ३५ हजार ८६३ को लागनमा निर्माण भएको उक्त मार्गको उद्घाटन नगर प्रमुख हरिकुमार रानाले गरेका थिए ।