कहाँ–कहाँ हुँदैछ उभौली साकेला ? « Yalambar Times
७ आश्विन २०८१, सोमबार

कहाँ–कहाँ हुँदैछ उभौली साकेला ?


यलम्वर टाइम्स
२५ बैशाख २०७६, बुधबार ०८:४७

दमक । किरात राई यायोक्खा जिल्ला कार्य समितिले यस वर्षको उभौली पर्व झापाका २२ स्थानमा भव्यताका साथ गर्ने भएको छ ।

यायोक्खाको जिल्ला कार्यालय दमकमा आयोजित कार्यक्रममा सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ उभौली कार्यक्रम गर्न लागिएको अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिए ।

झापामा यस अघि पनि यस्तो कार्यक्रम गरिदै आएको थियो । त्यस बेलाको कार्यक्रमभन्दा फरक ढंगबाट जनचेतना प्रदान गर्दै अधिकारका आवाज उठानलाई समेत टेवा पुग्ने गरी कार्यक्रम गर्न लागिएको अध्यक्ष चाम्लिङले बताए ।

जेठ ४ गतेबाट सुरु भई जेठ २५ गते जिल्ला सकेला थान कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरि तालिका सार्वजनिक भएको छ ।

जेठ ४ गते दमक, बिर्तामोड, लखनपुर, बाहुनडाँगी, तोपगाछी र कनकाईमा गरिने र जेठ ९ गते पृथ्वीनगर संयुक्त र गौरीगञ्ज संयुक्त, जेठ १० गते गौरादह बजार, ११ गते धरमपुर, धुलाबारी, पाडाजुगीमा गर्ने भएको जनाइएको छ ।

यसरी नै १३ गते शान्तिनगर, जेठ १४ गते हल्दिबारी–२, १५ गते बुट्टाबारी, १६ गते डाँगीबारी, १८ गते जलथल, धनुषा, शिवसतासी, बुधबारे र भद्रपुर, जेठ २३ गते अर्जुनधारा र जेठ २५ गते सितापुरीमा कार्यक्रम गर्ने तालिका रहेको छ ।

उक्त उभौली पर्वमा राई विद्यार्थी संघ, राई पत्रकार संघलाई पनि उपस्थितिका लागि अनुरोध गरेको छ ।

यसरी नै बन्दि जीवन बिताइरहेका भद्रपुर कारागारका राईहरुले पनि उभौली साकेला पर्व कारागारमा मनाउने भएका छन् ।

कारागारको कार्यक्रमको लागि जिल्ला उपाध्यक्ष नीरबहादुर राईको संयोजकत्वमा समन्वय समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा गणेश राई, सन्देश राई र समर राई रहेका छन् ।

कारागारमा उभौली साकेला गर्नका लागि हेमन्त राईको संयोजकत्वमा बन्दि किरात साकेला मञ्च गठन भएको छ भने जेठ ९ गते उभौली साकेला कार्यक्रम समेत गर्ने भएको संयोजक राईले जानकारी दिए ।

वैशाख पूर्णिमाबाट सुरु हुने उभौली साकेलालाई जिल्लाका हरेक स्थानमा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला सचिव केवलराम राईको संयोजकत्वमा सम्पर्क समन्वय उपसमिति निर्माण गरिएको छ ।

त्यस्तै आनन्द राईको संयोजकत्वमा किरात राई पत्रकार संघका अध्यक्ष राजन साम्पाङ र सदस्य निशेष राई सदस्य रहने गरि प्रचारप्रसार उपसमिति गठन गरिएको कार्यालय सचिव रजनी राईले जानकारी दिइन् ।