सालबारी । प्राडा कालुराम राईले अर्जुनधारा कछुवाको हब बन्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।
विश्व कछुवा दिवसको अवसर पारेर अर्जुनधाराको सालबारी स्थित कछुवा संरक्षण केन्द्रमा विहीबार भएको कार्यक्रममा प्राडा राईले उक्त विश्वास व्यक्त गरेका हुन् ।
विश्वमा ३५६ प्रजातिको कछुवा भएतापनि नेपालमा १८ जातिका कछुवा पाइने अध्ययनले देखाएको जानकारी दिँदै त्यसमध्ये लोपोन्मुख ध्वाँसे कन्ठे पाते कछुवा विरिङ र टाङटिङमा पाइने भएको हुँदा त्यसको संरक्षण गर्न अति जरुरी भएको जानकारी दिए ।
उभयचरमा पीएचडी गर्दै गर्दा नेत्र समेत गुमाएका प्राडा राईले सरिश्रृप वर्गमा पर्ने कछुवाहरु मेरुदण्ड भएका प्रजातिहरु मध्ये सबैभन्दा लामो समयदेखि पृथ्वीमा बस्दै आएका जीवहरु मध्ये एक भएको बताए ।
करिब २० करोड वर्ष इतिहास बोकेका कछुवाहरु सर्पहरुभन्दा अगाडिदेखि रहेको कुरा उनको अध्ययनले बताएको राईले बताए ।
कछुवाको महत्व वातावरणीय दृष्टिकोणले मात्र नभइ धार्मिक दृष्टिकोणले पनि उत्तिकै रहेको जानकारी दिए ।
‘जुन ठाउँमा कछुवा रहन्छ, त्यस ठाउँको जलाशाय पनि सफा रहन्छ’ वातावरणीय दृष्टिकोणमा कछुवाको महत्वपूर्ण भूमिका रहेको प्राडा राईले जानकारी दिँदै चितवन गैंडाको हब, कोशी टाप्पु अर्ना जनावरको हब भने जस्तै अर्जुनधारा पनि कछुवाको हब बन्नमा बलियो आधार बन्ने बताए ।
कार्यक्रममा डिभिजन वनका प्रमुख विष्णुलाल घिमिरेले प्रकृति र वातावरणीयको संरक्षण गर्ने क्रममा अगाडि बढेको डिभिजन वन भएको हुँदा वातावरणलाई टेवा पुर्याउने कछुवा भएको आजको अन्तरक्रियामा पाइएको हुँदा यसको संरक्षणमा डिभिजन वन लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख घिमिरेले दुर्लभ जातिका कछुवालाई नेपाल सरकारले वन्यजन्तुमा सूचिकृत गरिएको पाइदैन । आफ्नोतर्फबाट सूचिकृतका लागि आव्हान गर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले कछुवा संरक्षण अर्जुनधाराको पहिचान, यसको संरक्षणमा हामी प्रतिवद्ध छौं भन्ने अभियानमा हस्ताक्षर गर्दै कछुवाको हब अर्जुनधारालाई बनाउन नगर सक्रिय रहने बताए ।
नगर प्रमुख रानाले प्रतिवद्धता व्यक्त गर्दा टीआरसीसीका फाउण्डर भनेर चिनिने प्राडा खम्बूले भावुक हुँदै ताली पड्काएका थिए ।
कछुवा दिवसको अवसरमा लिटल एन्सल चारआलीका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद बृख प्रधानले प्रतिवद्धतामा हस्ताक्षर गर्दै कछुवाको हब र अर्जुनधाराको पहिचान हुनेमा विश्वास व्यक्त गरेका थिए ।
सांसद प्रधानले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने र रिसर्च सेन्टरका लागि अर्जुनधाराको सालबारीलाई केन्द्रबिन्दू बनाउन प्रदेश सरकार सक्रिय रहने जानकारी दिए ।
सुखानी शहीद प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा टीआरसीसी सालबारीका प्रमुख कपिल राईले टीआरसीसीमा ८ जातिका कछुवा रहेको जानकारी दिए ।
प्रतिष्ठानका महासचिव हर्कराज राईले सञ्चालन गरेको कार्यक्रममा नमूना सामुदायिक वनका अध्यक्ष भानु श्रेष्ठ, प्रशासकीय प्रमुख पंकज भुर्तेल, नगरपालिकाका अधिकृत हिमराज सेढाई, पशु शाखाका प्रमुख पदमलाल राई, शहीद उद्यायन पार्कका अध्यक्ष टंक बराल, वातावरण संरक्षणका प्रदिप राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
निलु र कछुवाको सम्बन्ध
निलु क्षेत्री विगत ४ वर्षअघिबाट टीआरसीसीका कर्मचारी हुन् । उनी कछुवालाई भरण पोषण र स्याहार चाकार गर्ने कर्मचारीको रुपमा काम गर्दै आएकी छिन् ।
उनी जब कछुवालाई चारो खुवाउने समय हुन्छ उनको स्वर थाहा पाएपछि कछुवाहरु चारो खान आउने गर्छ ।
बिहान ८ बजे चारो दिन उनी कछुवा संरक्षित ठाउँमा पुग्दा उनको स्वर सुनेपछि संरक्षण केन्द्रमा रहेका कछुवाहरु सलल आउने गरेको टीआरसीसीका प्रमुख कपिल राईले जानकारी दिए ।
अनौठो प्रजातिको रुपमा रहेको उक्त कछुवा जहाँ संरक्षित हुन्छ, त्यसले वातावरणीय प्रभावलाई मजबुद बनाउन टेवा दिने प्रतिष्ठानका महासचिव हर्कराज राईले बताए ।
सालबारीको जंगलभित्र रहेको संरक्षण केन्द्रमा लाम्चे, राते काने, भुडे धुरी, टिकटिके, काठ खाने र ढकनी जातका कछुवाहरु रहेको कर्मचारी निलुले जानकारी दिइन् ।
टीआरसीसीका अनुसार जलवायु परिवर्तन, नालीवालीमा विषादी प्रयोग, सिमसारको बिनास, अवैध चोरी सिकारी जस्ताबाट कछुवा घट्दै गएको जानकारी छ भने पास्थितिक प्रणालीमा समुन्नत कायम राख्न वातावरणका जैविक सूचक हुनाले, खाद्यशृङ्खलामा महत्वपूर्ण भूमिका खेल्नाले, लामखुट्टे जस्ता हानिकारक किटानुहरुको लाभान्स नष्ट गर्न, किरा, फट्याङ्ग्रा जस्तालाई नियन्त्रण गरी कृषिजन्य उत्पादनमा वृद्धि गर्न, धार्मिक आस्थाको धरोहर भएको हुँदा यसको संरक्षण गर्न आवश्यक रहेको प्राडा खम्बूले जानकारी दिए ।
करिब २ विगाहको फेरीमा रहेको कछुवा संरक्षण केन्द्रले विरिङ र टाङटिङ सिमसारमा कछुवा खोजी गरि संरक्षण केन्द्रमा राख्ने भएका छन् ।