अर्जुनधाराले गर्यो सार्वजनिक सुनुवाई « Yalambar Times
७ आश्विन २०८१, सोमबार

अर्जुनधाराले गर्यो सार्वजनिक सुनुवाई


यलम्वर टाइम्स
४ असार २०७६, बुधबार १४:१२

अर्जुनधारा । चालु आर्थिक वर्षको कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था । त्योसँगै नयाँ बजेट बनाएर आगामी कार्यक्रम ल्याउनु पर्ने चटारो हुँदाहुँदै अर्जुनधारा नगरपालिकाले विषयगत शाखालाई उपस्थित गराई सार्वजनिक सुनुवाई गरेको छ ।

आदिवासी सामुदायिक भवनमा बुधबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाले काम भएका र गर्नुपर्ने विषयमा अवगत गराएका थिए ।

कार्यक्रममा लेखा अधिकृत रामचन्द्र घिमिरेले चालु आर्थिक वर्षको बजेटबाट ७१.६५२ प्रतिशत काम सम्पन्न भएको हुँदा बाँकी काम हुँदै गएको जानकारी दिए । बजेट खर्चमा भन्दा कार्यान्वय पक्षलाई हेरेर फरफारख गरिएको जानकारी दिए ।

शिक्षा शाखाकी प्रतिनिधि जानुका गुरागाईले चालु बजेटबाट जति काम गरिएतापनि भने जस्तो हुन नसकेको बताउँदै आउने बजेटले शिक्षालाई मध्यनजर गर्न सके नगरको शिक्षा गुणस्तरीय भएर जाने जोड दिइन् ।

कार्यक्रममा राजश्व शाखा प्रमुख डेनजोनी आचार्यले अनुमान गरेभन्दा बढी राजश्व संकलन भएको जानकारी गराउँदै राजश्वलाई चुस्तदुरुस्त राखेर काम गरे नगरको विकास हुनेमा दुईमत नहुने बताए ।

उनले घरधुरी करबाट मात्र होइन अन्य खरिद बिक्रीबाट पनि आम्दानी राम्रैसँग भएको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले प्रविधिक कारण वश १४ लाखभन्दा बढी रकम फ्रिज भएर जाने देखिए पनि कालाज्वार, आमा सुरक्षा कार्यक्रम अझै प्रभावकारी ढंगले हुन नसकेको बताए ।

यसरी नै पशुपन्छी शाखा प्रमुख पदमलाल राईले पशु शाखामार्फत चलेका कार्यक्रम प्रभावकारी हुनका साथै घरघरमा गरिएको शिविरले कृषकहरुलाई फाइदा पुगेको बताए ।

उनले अति विपन्न र पशुपालनमा आत्मानिर्भरता प्रदान गर्ने कृषकहरुलाई अनुदान र शाखाबाट योगदान दिलाइएको पनि बताए ।

शाखा प्रमुख राईले अर्जुनधारा–२ लाई पशु पकेट क्षेत्र घोषणासँगै पशुपन्छी शाखाको ध्यान त्यही वडामा केन्द्रीत हुँदा पशु पकेट क्षेत्रमा राम्रो प्रतिक्रिया आएको बताए ।

न्यायीक शाखाकी पुष्पा पौडेलले आपसी समझदारीबाट न्यायलायमा आएका धेरै विवादका मुद्दाहरु सहज रुपमा समाधान भएको जानकारी दिइन् ।

उनले कतिपय मुद्दा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको सहयोगमा मिलाएको पनि जानकारी दिइन् ।

जिन्सी शाखाका प्रमुख तिवेन्द्र अधिकारी हालसम्म नगरको २६ वडा सवारी साधन भएको जानकारी गराउँदै विकासका लागि प्रयोग गर्न ल्याइएको औजारबाट ३१ लख ९९ हजार ४ सय ४७ राजश्व संकलन भएको जानकारी गराए ।

सामाजिक सुरक्षा तथा प्रशासन शाखाका प्रमुख विजय शर्माले सामाजिक सुरक्षाका विषयमा जानकारी गराउँदै ज्येष्ठ नागरिक २७७२, ज्येष्ठ दलित ५८२, विधवा २०५३, एकल महिला ६, लोपोन्मुख ४३५, पूर्ण अपाङ्ग १३५, अति असक्त अपाङ्ग २०९, दलित बालबालिका ५२३ रहेको जानकारी दिए ।

कार्यक्रममा विषयगत शाखाका केही कर्मचारीहरु अपुग भएका कारण सार्वजनिक सुनुवाईमा प्रशासकीय अधिकृत पंकज भुर्तेलले महिला बालबालिकाका विषयमा जवाफ दिएका थिए ।

कार्यक्रममा वडा सदस्यहरु देवकुमार राई, खड्गमाया पौड्याली, युवा नेता प्रत्युस राना, पत्रकार दिपीन राई, बालकृष्ण बासकोटा, डम्बर घिमिरे लगायतले नगरपालिकाले गरेको कार्यप्रति जवाफ माग्दै आगामी दिनमा अझ प्रभावकारी भएर सार्वजनिक सुनुवाई गर्न नगरलाई सुझाव दिएका थिए ।

कार्यक्रमका सभापति तथा नगर प्रमुख हरिकुमार रानाले जनताको इच्छा, आकांक्षालाई पूरा गर्न आएका जनप्रतिनिधिले जनताप्रति उत्तरदायि भएर जानुपर्ने जोड दिँदै स्वास्थ्य, शिक्षा, रोजगार जस्ता कार्यमा नगर सदैव जनताप्रति जवाफदेही रहने बताए ।

प्रमुख रानाले कागजमा मात्र खेती गर्ने र अनुदान लिने प्रचलन बढको भन्दै अब कागजमा नभई साच्चै खेतमा गर्ने किसानलाई मात्र प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा उपप्रमुख कमला आचार्य लगायतले उठेका सावलका जवाफ दिएका थिए भने विषयगत शाखाका जानुका गुरागाई, मुकुन्द बस्नेतले आउने दिन अझ प्रभावकारी बनाएर लैजानेमा जोड दिए ।

प्रशासकीय अधिकृत पंकज भुर्तेलले स्वागत गरि विषय प्रवेश गराउँदै नगरको शतप्रतिशत काम सम्पन्न हुन लागेको जानकारी दिँदै अर्जुनधारामा बजेट फ्रिज भएर नजाने जानकारी दिए ।

कर्मचारीको अभावका कारण काममा केही बाधा देखिएतापनि आगामी दिनमा त्यसलाई मिलाएर लान सकिने बताए । कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत शर्माले गरेका थिए ।