माङसेबुङको शिक्षा क्षेत्रमा ऐतिहासिक कार्य « Yalambar Times
७ आश्विन २०८१, सोमबार

माङसेबुङको शिक्षा क्षेत्रमा ऐतिहासिक कार्य


यलम्वर टाइम्स
७ असार २०७६, शनिबार ०२:५६

लिम्बू, बान्तवा र सुनुवार भाषामा पाठ्यक्र बन्दै

माङसेबुङ । इलाम जिल्ला अन्तर्गत माङसेबुङ गाउँपालिका वडा नम्वर ५ आफ्नो वडामा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरेको एक वर्ष नबित्दै गाउँपालिकाले आफ्नो सबै वडामा लिम्बू, बान्तवा र सुनुवार मातृभाषामा पाठ्यक्रम बनाउँने भएको छ ।

लिम्बू भाषाको कक्षा १२ सम्म तथा बान्तवा र सुनुवारको मातृभाषामा कक्षा ५ सम्म पुस्तक बनाउन लागिएको हो ।

पाठ्यक्रम निर्माणको लागि माङसेबुङ गाउँपालिकाकी उपाध्याक्ष सुनिता सुब्बाको संयोजकत्वमा ४ सदस्यीय भाषा, संस्कृति, ललितकला संरक्षण तथा विकास समिति गठन गरिएको छ ।

गठित समितिले ११ सदस्यीय पाठ्यक्रम निर्माण समिति समेत बनाएको छ । समितिको संयोजकमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिचन्द्र लावती रहेका छन् ।

समितिको सदस्यहरुमा मनकुमार लिम्बू, आङ्बोहाङ् अबोध अबिरल, दिलबीर सेर्मा (साम्जिरि सेर्मा), ललितचन्द्र फियाँक, डकेन्द्र सिरु थेगिम, मनप्रसाद थलङ्, सचितानन्द राई, तिलबिक्रम फियाँक, डेबिट सुनुवार र अगम बान्तवा, कृष्णकुमार राई छन् ।

पाठ्यक्रम निर्माण समितिले साधारण शिक्षातर्फ मातृभाषामा १०० पूर्णाङ्कको पुस्तक तयार पार्ने छन् ।

लिम्बू भाषा कक्षामा १– ५, कक्षा ६–८, कक्षा ९–१०, र कक्षा ११–१२ पुस्तक समितिले बनाउने भएको छ ।

त्यस्तै बान्तवा भाषामा कक्षा १–५ सम्म, सुनुवार भाषामा कक्षा १–५ सम्म पुस्तक बनाउने तयारी थालिएको छ ।

पाठ्यक्रम निर्माण समितिले मुन्धुम् निस्त्छाम् (मुन्धुम शिक्षा) तर्फ लिम्बू मातृभाषामा युक्सिङ् ताक्फा (कक्षा ६– ८), थाङ्सिङ् ताक्फा (कक्षा ९–१२) पाठ्क्रम तयार पार्ने संयोजक हरिचन्द्र लावतीले जानकारी दिए ।

पाठ्यक्रम निर्माण समितिका सदस्य तथा युवा बुद्धिजीवि अबोद आङबोहाङका अनुसार मुन्धुमी शिक्षा अन्तर्गत औषधी, योगा र कम्प्युटर जस्ता शिक्षा बनाइनेछ ।

लिम्बू भाषा र पढ्न सकिने विद्यालयमा यस्तो शिक्षाको पठनपाठन लागू हुने जनाएका छन् ।

गाउँपालिकाले पाठ्यक्रम निर्माण बारे समितिसँग छलफल गर्दै काम अगाडि बढाएको छ ।

यसरी मातृभाषामा पाठ्यक्रम निर्माण कार्यमा जुटेको पहिलो गाउँपालिका माङसेबुङ भएको हुँदा यसलाई सफल पार्न तपाई हामी सबैको कर्तव्य भएको माङसेबुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष नरेन्द्रकुमार राईले जानकारी दिए ।

मुन्धुमी शिक्षा अन्तर्गत पाठ्यक्रम बनाइदा किरात धर्मावलम्बीहरुको पनि सम्मान रहने हुँदा यसलाई पूरा गर्न सबै जुट्नुपर्ने अध्यक्ष डिकेन्द्र इधिङ्गोले अनुरोध गरे ।

भाषालाई पाठ्यक्रमको रुपमा विकास गरेर लैजादा ति भाषाहरुको संरक्षण हुँदै जाने स्थानीय बुद्धिजीविहरुको टिप्पणी छ ।