पैसाको अभावमा १० वर्षे समिरको मृगौला फेरिएन « Yalambar Times
७ आश्विन २०८१, सोमबार

पैसाको अभावमा १० वर्षे समिरको मृगौला फेरिएन


यलम्वर टाइम्स
२३ असार २०७६, सोमबार १२:०९

झिलझिले । शिवसताक्षी ७ हरियाली बस्तीका कक्षा ३ उतिर्ण बालक समिर माझी जीवन र मृत्युको दोसाँधमा छन् ।

उनका दुईवटै मृगौला खराब भएका छन् । मृगौला रोगबाट थलिएका समिर स्कूल जान नसक्ने भएका छन् । उनी स्कूल जान पनि छाडेका छन् ।

विगत चार वर्षदेखि मृगौला रोगबाट थलिएका समिरको आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन ।

आमा रेणु माझीले मृगौला दिने भए पनि गरिबीका कारण त्यारोपण गर्न नसकेको बुबा गोपाल माझीले बताए ।

सम्पतिका नाममा झुप्रो घर भएको एक कठ्ठा जमिन पनि छोराको उपचारका लागि धितो राखेको माझीले बताए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृगौला प्रत्यारोपण्मा लागि रिफर गरेको छ तर, उनीसँग आर्थिक जोह नहुँदा छोराको मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् ।

‘छोरो बचाउन पाए हुन्थ्यो’, बुबा गोपालले भने, ‘पैसा नभएरै छोराको मृगौला फेर्न पाइन ।’ छोरा पनि बेला बेला सोध्छ, ‘बुबा अब मलाई निको हुँदैन ?’ ‘हुन्छ, हामी उपचार गर्दछौँ त भन्छौँ तर खै बचाउन पो सकिएला नसकिएला !’ उनी थप्छन् ।

गोपालले छोरा बचाउने अझै आश मारेका छैनन् । पत्रपत्रिकामा समाचार छापिए, सहयोगि मनले सहयोग गर्लान भन्ने अपेक्षा छ ।

छोराको उपचारभन्दा दिमागमा केहि नभएको सुनाए । बुबा गोपाल माझी र छोरा समिर माझीको नाममा रहेको मेघा बैंक नेपाल, व्याङ्डाँडा, शिवसताक्षी शाखाको ०१७००५२६३१८०६ नम्बरको खातामा सहयोगका लागि आग्रह गरेका छन् ।

समिरको उपचारका लागि बीरबहादुर माझीको संयोजकत्वमा समिर बचाउ अभियान समिति गठन भएको छ ।

समितिले पनि जसले जति सकिन्छ त्यति सहयोग गरे बालकको जीवन बचाउन सकिने भएकाले सहयोगका लागि आग्रह गरेको छ ।