अर्जुनधारा । ‘मानिसहरु बेरोजगार प्रायः मेहनत नगरेर हुने हो । घर छेउछाउमा वाजो रहेको खेतबारीलाई प्रविधि युक्त तरिकाले उब्जनीमा ध्यान दिने हो भने कुनै पनि मानिस आर्थिक अभावले पीडित हुनुपर्छ जस्तो लाग्दैन ।’
उक्त विचार अर्जुनधारा–५ वैसाबाडी निवासी युवा कृषक सुमन राईको हो । उमेरले २५ वर्ष मात्र लागेका राईको दैनिकी खेतबारी र सामाजिक कार्य भएको छ ।
बिगत ५ वर्ष अघिदेखि आईपीएम प्रविधिबाट कृषि व्यवसायमा हात हालेका राईले हाल आफ्नै बारीमा लोभ लाग्दो लह लह कागती उत्पादन गरेका छन् ।
यसअघि राईले च्याउ र कुरिलो उत्पादन गरिसकेका छन् । बिहान उठने बितिकै बंगुरका लागि चारोको जोहो, त्यसपछि बारीमा लगाएका कागती, लौका र सागमा ध्यान जानु उनको दैनिकी हो ।
उनले यस अघि पनि सिजन अनुसारको सयपत्री फूल उत्पादन गरे तर बजार नपाएकाले भने जस्तो फाईदा भएन ।
अन्य उत्पादनमा भने कहिलै घाटा नभएको बताउँछन् । १२ कक्षा पढ्दा पढ्दै व्यवसायमा हाम्फालेका राई सामाजिक काममा पनि सकृय छन् ।
पहिलो पटक अर्जुनधारा जेसीजमा सहभागि हुँदा कृषि संयोजक भएर काम गरे । आफ्नो कार्यकालमा युवाहरुलाई कृषिमा आबद्ध गराउन विभिन्न कार्यसमेत गरेका थिए ।
राई भन्छन्, ‘स्थानीय या संघीय सरकारले युवाको ईच्छाअनुसार तालिम र प्रेरणामुलक काममा उर्जा थपे सबै युवाहरु व्यवसायी हुने थिए र युवाहरुले पनि बेरोजगारी छु भन्ने शब्द हटाएर हरेक क्षेत्रमा थोरै मेहनत गरे भैतारीएर हिड्नु नपर्ने दिन आउने थियो ।’
नेपालमा आर्थिक आय उपार्जन गर्ने थुप्रै तरिका छ तर केही आर्थिक नहुनाले युवाहरु विदेशिन बाध्य देखिन्छन् ।
लकडाउन पछाडि स्वदेश आउने युवाहरुको लर्काे छ तिनीहरुलाई कृषि व्यवसाय वा अन्यमा सहजीकरण गरिएन भने मुलुकले दुःख पाउने निश्चित देखिन्छ ।
हाल राईको करेसाबारीमा सिजन अनुसारको तरकारी त उत्पादन हुन्छ नै त्यसको अलवा घरमा रोपिने फूलहरुको बिरुवा पनि उत्पादन गर्दै आएका छन् ।