अल्लारे छँदा खेलिएको देउसीे « Yalambar Times
८ मंसिर २०८१, शनिबार

अल्लारे छँदा खेलिएको देउसीे


यलम्वर टाइम्स
२९ कार्तिक २०७७, शनिबार ०५:०२

[सन्तोष नेम्वाङ]

दशैंको चटारो सकिएपछि केहिदिन खुइय गरेर आनन्दको सास फेर्नमात्र के पाइन्थ्यो ? तिहारले छपक्क छोपी हाल्छ । शरद ऋतुको आगमनसँगै चिसो सिरेटोले पक्कै तिहार बोलाएकै भान हुन्छ ।

गाउँ–घरमा छरिएर रहेका युवा युवतीहरु दशैं सकिने साथ देउसी–भैलोको अभ्यास सुरु गर्थे । त्यस समयमा हामी पनि अल्लारे, केमा कमि हुन्थ्यौं र ? हालको गणेश पथमा ‘नवयुवा संगीत क्लब’ भनेर एउटा संस्था गठन गरेका थियौं । गाउनु, बजाउनुमा हामी कोहीभन्दा कम थिएनौं । त्यतिबेला यदि कसैले सांस्कृतिक कार्यक्रम गर्नु परे हामीलाई नै बोलाउँथे । गाउँकै देउसीभैलो त झन मज्जाले मनाउने नै भइयो । एउटा टेप, ब्याट्री, मादल, गीतार र कङ्गो भेला पारिन्थ्यो अनि गाउँका युवा युवती भेला भएर तिहारको मुखसम्म अभ्यास गरिन्थ्यो ।

त्यस समयमा अहिले जस्तो विद्युतीय झिलीमिली पाइदैन थियो । पालामा तेल हाल्यो, बात्ती हाल्यो अनि बाल्यो । कतै भने मैनबत्ती लस्करै बाल्थे । कुनै बेला अचानक हावा आयो भने झ्याप्पै । फेरी सलाई पा¥यो झोस्यो । साँच्चै नै अहिलेको विद्युतीय झिलीमिली र त्यस समयको पाला र मैनबत्तीको झिलीमिलीमा धेरै अन्तर । कुनै घरमा देउसी खेल्न गइयो भने दियोको मगमग बासना आउँथ्यो । आँगनभरी फुलेका सयपत्री फूलको बासना आउँथ्यो तर अहिले सब कृतिम जस्तो लाग्ने । विद्युत अवरोध भयो भने सब अन्धकार ।

युवतीहरु गुन्युचोली र रातो रिबन लगाएर चिटिक्क परेर निस्कन्थे । युवाहरु दौरासुरुवालमा ठाँटिएर निस्कन्थे । काँधमा भिरेको मादल घिन्ताङ्–घिन्ताङ् र गीटार झ्याङ्–झ्याङ् पार्दै देउसी खेल्न निस्कदाको क्षण वर्णन गर्न नसकिने हुन्थ्यो । स्थानीय स्तरमा देउसी खेल्दा एउटा घरबाट २०÷२५ रुपैयाँ दान दिन्थे । आफ्नो गाउँ त औपचारिकता निभाउन पनि खेल्नै पथ्र्यो । तर हाम्रो मुख्य लक्ष्य भनेको खुदुनाबारी हुन्थ्यो । माइला काजी, शंकर नेम्वाङ, मदन नेम्वाङ, मदन गौतम दाईको मूलघर हाम्रो मुख्य लक्ष्य हुन्थ्यो ।

भाइटीकाको दिन दिनभर चेलीबेटीहरुसँग टीका लगाएर साँझ ५ बजेदेखि हाम्रो यात्रा सुरु हुन्थ्यो । सवारी साधनको सुविधा थिएन । त्यसैले पैदल नै टाङटिङ खोलाको बाटो लाग्थ्यौं । मादल, गीतार, कङ्गो बोक्न त त्यति गाह्रो थिएन तर ब्याट्री बोक्न भने धेरै समस्या । ब्याट्री बोक्ने भनेको कुमार श्रेष्ठ मात्र थियो । त्यतिकै त हिड्न नजान्ने झन ब्याट्री बोकेर हिंड्दा धान खेतमा कति पटक लडेको छ ।

साँझको बेलामा खुदुनाबारी पुगेर देउसी खेल्दा रात नै बित्दथ्यो । हामीले त्यो ठाउँ नै चाहि किन रोजेको भने त्यहाँ प्रत्येक घरबाट १००÷१५० सम्म दान दिन्थे । भोलि बिहान अनिदो आँखामा हिंड्दा खेतको आलीमा, खोलाको बगरमा कति लडिन्थ्यो । हाम्रो त त्यस्तो अवस्था हुन्थ्यो भने ब्याट्री बोक्नेको त झन के वर्णन गर्नु । ब्याट्रीको पानीले उसको लुगा सबै च्यातिएको हुन्थ्यो । त्यसैले देउसी सकिएपछि सर्ट र पेन्ट चाहि किनिदिनु पथ्र्यो उसलाई । देउसीबाट उठेको रकमले क्लबलाई केहि सामान किनेर बाँकी रहेको पैसाले पिकनिक खान पनि जान्थ्यौं ।

देउसी–भैलो खेल्ने र रमाउने नेपालीहरुको परम्परा हो तर यसैबाट समाजमा धेरै राम्रा–राम्रा काम पनि गरिएको छ । जस्तोः अर्जुनधारा वडा नं. ७, गणेश पथमा रहेको गणेश मन्दिर यसको ज्वलन्त उदाहरण हो । त्यतिबेला खेलिएको देउसी पनि स्मरणीय छ । गाउँका सबै देउसी खेल्न निस्कन्थे तर खास गरी म, प्रेम समाल, साजन राई, प्रकाश आचार्य, कुमार कार्की, स्व. टंक समाल, स्व. अमृत रसाइली, गोकुल मालेलाई भने उर्दी नै हुन्थ्यो, साँझ ७ बजेदेखि ९ बजेसम्म अनिवार्य उपस्थित हुनुपर्ने । सबै भेला भएर देउसी खेल्दै गर्दा हामी साथीहरु एक अर्कालाई इशारा गथ्र्यौ र सुटुक्क हराउँथ्यौं । पल्लो घरमा गएर एक गिलास मागेर स्वाट्ट पारेर आउँथ्यौं । त्यसरी नै सबैजना पालैपालो हराउँथ्यौं । जाडोमा केहि चार्ज त हुनुप¥यो नि !

त्यस देउसीको नाइके भुवनेश्वर शिवाकोटी, पूर्णप्रसाद सिटौला र मुखिया टेकबहादुर राई हुनुहुन्थ्यो । हामी हराएर चार्ज भएर आएको थाहा पाउनु हुन्थ्यो, हुन्थेन थाहा भएन । तर हाम्रो चाहि ४ दिनसम्म यस्तै क्रम चलिरहन्थ्यो । ९ बजेसम्म मन्दिरको देउसी खेल्यो अनि त्यसपछि हामी मिल्ने साथीहरु मिलेर अर्कैतिर टाप ।

उमेर थ्यो या चार्ज भएका कारणले हो, जाडो भन्ने त केही थाहा नै हुन्थेन । हाम्रो देउसी खेलाइ पनि अचम्मको । मनले खाएको घरमा गयो, बरण्डामा पलेटी कस्यो अनि गाउन, बजाउन थाल्यो । घरकाले जे–जे दिन्थे, सबै खायो । अनि अन्त्यमा दान लियो, हिंड्यो । लगातार ४ दिनसम्म देउसी खेलेको अन्तिम रात कति पैसा भेला भयो भनेर गन्ती ग¥यो अनि रातिनै कुखुरा खोज्यो खायो । खाई सकेर उठ्दा बिहानको भाले बासेको हुन्थ्यो ।

एकपटक देउसीको अन्तिम रात चाहि मेरो घरमा पकाएर खाने सल्लाह भयो । कुखुरा काटकुट पारेर पकाउन लागेको तेल थिएन । दुई जनालाई मेरो घर छेउको किराना दोकानमा लिन पठाएको दोकान खोलेन भनेर खाली हात फर्किए । ‘ए हो ?, लौ हिड’ भनेर हामी चारजना किराना दोकान अगाडी गएर मादल र गिटार बजाउँदै देउसी भट्याउन थाल्यौं । केहिबेर पछि घरका मान्छे उठेर दान निकाले । अब हामीलाई के चाहियो र ?, त्यो दान टिप्यौं अनि तेल, चुरोट माग्यौं र लिएर हिड्यौं । कोठामा गएर कति हाँस्ने । तेल किन्न खोज्दा नउठेकाले देउसी खेलेर तेलमात्र होइन पैसा र चुरोट पनि लिएर आइयो । खुब मज्जा लाग्यो, आफ्नो आइडिया देखेर ।

आजपनि कतै मादल बजेको सुन्दा, मौलिक भेषभुषा लगाएर अहिलेका युवा युवतीहरु देउसीमा रमाएको देख्दा म पनि यसैमा सरिक हौं जस्तो लाग्छ । जसले जे भनोस्, त्यो समयमा गरेको रमाइलो केवल हामीले मात्र गरेको रहेछौं जस्तो लाग्छ ।

समयले कोल्टे फेरेसँगै अनेक वाधा, व्यवधानहरु आइपर्दो रहेछ । समय सँधै कहाँ एकनासको हुँदो रहेछ र ? आज संसारभर कोरोनाको महामारी हुँदा हाम्रो समाज पनि अछुतो रहेन । यसले वषौंदेखि मनाउँदै आएको हाम्रो चाडलाई पनि प्रभावित बनाएको छ । एकले अर्काको विश्वास नलाग्ने समय आएको छ । अहिलेको असामान्य अवस्थामा आपूm, आफ्नो परिवार र समाज बचाउने अवस्था आएको छ ।

जीवन रहे भोलि फेरि चाड मनाउँला तर आज यस दीपावली सर्तक रहेर मनाऔं । जुगौंदेखि मनाउँदै आएको चाड यो एकवर्ष या दुईवर्ष नमनाउँदा केहि हुँदैन र मासिएर जादैन । बरु हामीले हेलचेक्राई ग¥यौं भने हामी या हाम्रो परिवार चाहि अवश्य मासिएर जानेछ । त्यसैले बरु हाम्रो देशलाई आशिष दिऊँ,
कोरोना रोग… भागेर जाओस् ।
हाम्रो नेपाल… अमर रहोस् ।
हामी नेपाली… मिलेर बसौं ।
नेपाली सारा… मिलेर हाँसौं ।

सन्तोष नेम्वाङ