झापालाई गुटरहितको जिल्ला बनाउन कांग्रेस नेता बुढाथोकीको आग्रह « Yalambar Times
६ आश्विन २०८१, आईतवार

झापालाई गुटरहितको जिल्ला बनाउन कांग्रेस नेता बुढाथोकीको आग्रह


यलम्वर टाइम्स
१५ मंसिर २०७७, सोमबार ११:२४

दूधे । नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीले झापालाई गुट रहितको जिल्ला बनाउन पार्टीका नेता कार्यकर्तासँग अनुरोध गरेका छन् ।

झापाको शिवसताक्षीमा विपन्न परिवारको घर निर्माण शिलान्यास कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता बुढाथोकीले पार्टीमा गुटको राजनीति भए त्यसले नेता र कार्यकर्ता दुवैलाई फाइदा नहुने बताए ।

‘मैले पार्टीका पुर्व महामन्त्री कृष्ण सिटौला, पार्टीका प्रवक्ता विश्व प्रकाश शर्मा, पार्टीका झापा सभापति उद्धव थापा लगायतसँग झापालाई गुट रहितको जिल्लाका रुपमा मुलुकमा चिनाउन पार्टीले अभियानका रुपमा कार्यक्रम अघि सार्नुपर्ने सुझाव दिएको छु ।

उहाँहरुले झापा मात्र होइन, मुलुकलाई यो समस्याबाट मुक्त गराउन सबै नेता र कार्यकर्ता लाग्नु पर्ने बताउनु भएको छ ।’
झापामा पार्टीलाई बलियो बनाउन गुटको राजनीति छाड्न पनि नेता बुढाथोकीले कार्यकर्तालाई आग्रह गरे ।

उनले भने ‘प्लिज अब गुटको कुरा छोडौ, पार्टीलाई बलियो बनाउन नयाँ ढंगबाट काम सुरु गर्नुको विकल्प छैैन ।’

पार्टीलाई नयाँ चिराबाट अघि बढाउन पुराना पुस्ताका नेताले पार्टीलाई सघाएर युवा पुस्तालाई पदिय जिम्मेवारी दिनुपर्ने पनि उनले सुझाव दिएका छन् ।

‘हामी पुरानै नेताले पदिय जिम्मेवारी लिने काममा अझै पनि लडाई गर्यौ भने युवा पुस्ता पार्टीबाट पलायन हुने छन् । पछिल्ला दिनमा नेकपा पार्टी भित्रको विवादका कारण उनिहरुका कार्यकर्ता वाक्क दिक्क भएर नेपाली कांग्रेसमा प्रवेश गर्नेको जनलहर बढिरहेका बेला उनिहरुलाई समेत समेट्दै पार्र्टीअघि बढ्नुपर्नेमा उनले सुझाव दिए ।

नेकपाको आपसी लडाइबाट दिक्दार भएका अन्तरपार्टीका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्न आएभने क्षमता अनुसारका जिम्मेबारी पनि दिनुपर्ने उनले सुझाव दिए ।

‘कसैलाई हलि गोठाला बनाउन, पार्टीमा हुर्मत लिनका लागि मात्र ल्याइनु हुन्न । कुनै पद वा जिम्बेवारी दिन्छु भनेर ल्याउनुपनि हुदैन । तर, उसको क्षमता छ भने म भन्दापनि मार्थीको पदिय जिम्बेवारी दिन सक्नु पर्छ,’ उनले भने ।

पुर्व सामान्य प्रशासनमन्त्री समेत रहेका बढाथोकीले नेकपाको बेमेल दुई शक्तिशाली राष्ट्रको झगडाका कारण भएको बताएका छन् ।

उनले भने ‘नेकपाको झगडा यो हुदै होइन । नेकपाको बेमेलको खेल भारत र चिनले अगुल्टो झोसे जस्तो अनुसारको हुन्छ । भारत र चिनको ईच्छा अनुसार नेकपाको झगडा भएको हो । भारत र चिनले चायो भने नेकपा मिलिक्कै फुटाउन र जुटाउन सक्छ । यी दुई देशसंग त्योे क्षमता छ ।’

पार्टीका झापा सभापति उद्धव थापाले नेपाली कांग्रेस शिवसताक्षीले गरिब जनता चिनेर उनिहरुको पुर्नस्थापनाका लागि गरेको यो अनुकरणीय कार्यको जिल्ला कार्यसमितिले खुलेर प्रसंसा गर्ने बताए ।

‘जनताको मन भित्रको पार्टी भनेकै नेपाली कांग्रेस हो भनेर देखाउनु भयो । सिङ्गो नगर कार्यसमितिलाई धन्यवाद,’ उनले भने ।

कार्यक्रममा पार्टीका नगर सभापति पर्शुराम ढुँगानाले पत्रकारले लेखेको सहि समाचारका कारण गरिब तथा विपन्न परिवारकी एकल महिलाले आवासका लागि घर पाएको बताए ।

पार्टीको ११ नम्बर वडा समितिले जग्गा र नगर समितिको समन्वयमा घर निर्माण हुने उनले बताएका छन् । उनले भने, ‘फागुन ७ गते प्रजातन्त्र दिवसका दिन स्थानीय भीमाकुमारी चौधरी राईले ३ कोठा सहितको आरसीसी घर उपहार पाउने छन् ।’

कार्यक्रम भीमाकुमार चौधरी राईको आवास निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकालको सभापतित्व र वडा नम्बर ११ का सभापति अशोक बस्नेतको संचालनमा भएको थियो ।