‘स्मरणमा शंकर बाबु’ « Yalambar Times
८ मंसिर २०८१, शनिबार

‘स्मरणमा शंकर बाबु’


यलम्वर टाइम्स
२० फाल्गुन २०७७, बिहीबार ०८:२२

[जानुका ढुंगाना]

अभावको बेला भोगेका अप्ठ्यारा दिनहरूलाई ‘मौका’ को रुप लिँदै आफ्नो जीवनको अमूल्य समय चिकित्सक क्षेत्रमा समर्पित गरी कयौ मानिसको मन जित्न सफल व्यक्तित्व श्रद्धेय डाक्टर शंकरप्रसाद उप्रेतीको नाम हामी सम्पूर्ण मेची अञ्चलवासीहरुको मन मष्तिकमा कहिल्यै नमेटिने गरी लेखिनु भनेको वहाँले हामीप्रति देखाउनुभएको माया प्रेम र सद्भाव अनि हामी सम्पूर्णको भाग्यको कुरा पनि हो । झापाको शनिश्चरे हाल अर्जुनधारा नगरपालिका–७ लाई लामो समयसम्म कार्यथलो बनाएर पछिल्लो समय काठमाडौंको हाडीगाउँ बस्दै आउनुभएका डाक्टर उप्रेतीको जन्म १९९१ सालमा तेह्रथुमको आठराई चुहानडाँडामा भएको थियो ।
त्यस बखतको धनाढ्य परिवारमा जन्मिएको भएतापनि धेरै हण्डर, ठक्कर बेहोर्नु परेको वहाँको अनुभव थियो । जसको मूल कारण भनेको स्वयं आफूभित्र रहेको पढ्ने तिब्र चाहनाको उपज हो भन्ने वहाँको बुझाइ रहेको थियो ।

आफ्नो त्यही चाहना पूरा गर्ने क्रममा सानै उमेरदेखि नै अभावको धेरै अप्ठ्यारोसँग जुध्दै २०१७ को सेरोफेरोमा भारतको कानपुरबाट वहाँले आफ्नो एमबीबीएस पूरा गर्नुभएको थियो । जुन समयमा कतिपय मानिसलाइ बाह्रखरी चिन्न समेत पनि धेरै मुस्किल थियो । हामी आकलन गर्न सक्छौं सिमित व्यक्तिमा मात्रैमा शिक्षाको पहुँच पुग्दै गरेको त्यस कठिन समयमा चिकित्सक विद्यामा पढाइ गर्नु भनेको कुनै चानचुने चुनौती थिएन । एमबीबीएससम्मको पढाइ पूरा गरी जीवनभर गाउँमा बसेर सेवा गर्ने प्रमुख उद्देश्य राखी निरन्तर सेवा प्रदान गर्दै आउनुभएका डाक्टरले हरेक बिरामीलाई एक पिता सरह व्यवहार गरेको पाइन्थ्यो । उपचार गर्न जाने क्रममा कसैले पनि पैसा नभएका कारण सेवाबाट बन्चित भएको भनेर गुनासो गरेको कहिल्यै सुन्नु परेन । वहाँकोमा पुग्ने सबै खुशी भएरै फर्कने गरेको र वहाँको गुणगान गाएको नै सुन्न पाइन्थ्यो ।
करिब ११ वर्षअघि झापा स्थित वहाँको आफ्नै निवासमा एक अन्तरवार्तामा स्वयंले भन्नुभएको थियो, ‘मैले गरिबी, अभाव र त्यसको अप्ठ्यारोलाई विद्यार्थीकालमा नै नजिकबाट चिन्ने मौका पाएको थिएँ, गरिबी र अभावको त्यही भोगाइले मलाई मान्छेहरूको दुःख चिन्ने मौका दियो । त्यसमा मैले गर्ने सहयोग भनेको नै उनीहरूलाई निःशुल्क उपचार गरिदिएर हो । त्यही भएर ‘बिरामी जाँचेको शुल्क मैले कहिल्यै नलिएको हो ।’ बास्तवमा यो भनाइ वहाँको भित्री मनको आवाज थियो अन्यथा आशा बोकेर वहाँकोमा जाने जो कोही पनि सन्चो भई खुशीसाथ फर्किदैनथे होलान् ।

जीवन यात्राको विभिन्न मोडहरुमा हिड्ने क्रममा वहाँका कदमहरु कहिले डगमगाएनन् । पञ्चायतकालिन निरंकुश दमनका विरुद्ध कदम चाल्ने सक्रिय कार्यकर्ताको रूपमा समेत चिनिनु भएका डाक्टर पञ्चायत विरोधी आन्दोलनका बेला पटक पटक जेल समेत पर्नुभएको थियो । डा. उप्रेती प्रजातन्त्र पुनःस्थापना २०४६ साल पश्चात नेपाली कांग्रेसबाट ६ वर्षसम्म राष्ट्रिय सभाको सांसद समेत रहनुभएको थियो । यसरी राजनीति क्षेत्र साथै स्वास्थ जगत दुबैमा आफ्नो अतुलनीय योगदानका कारण वहाँको नाम श्रद्धापूर्वक सधैं सबैको स्मरणमा रहिरहेको छ । २०१७ देखि २०२२ सालसम्म भोजपुर र धनगढीमा सरकारी जागिरमा रहनुभएपछि २०२६ सालमा आफ्नै ठाउँ झापाको शनिश्चरे बसेर वहाँले स्वास्थ जगतमा धेरै लामो योगदान पुर्याउनुभयो । जसको फलस्वरूप गुनिला डाक्टर बा को उपनामले आफुलाई चिनाउन सफल हुनुभयो । वहाँसँग सेवा लिएका केही जेष्ठ नागरिकहरुको भाषामा भन्नुपर्दा आँखामा राख्दा पनि नबिझाउने गुनिलो डाक्टर शंकर बाबु यसरी डाक्टरी पेशासँगै राजनीतिमा समेत सक्रिय रहनुभएका डाक्टर शंकरको राम्रा पक्षको बयान गर्दा शब्दहरु कम पर्दछन् ।

पछिल्लो केही वर्षदेखि डा. शंकर अस्वस्थ हुनुहुन्थ्यो । तर एक्कासी गत शनिबार २०७७ फाल्गुन १५ गते राती वहाँको निधन भएको समाचारले स्तब्ध बनायो । आफू उभिएको धरातल नै दबिएको जस्तो, आकाश झरेर थिचेको जस्तो, सन्नाटा छाएको भएको जस्तो भयो । अनायासै एउटा उज्यालो दीप निभेर अन्धकार छाएको अनुभुति भयो । वहाँको निधनबाट भएको क्षतिलाई मापन गर्ने कुनै मापदण्ड छैन । ८७ वर्षे समाजसेवी डा.शंकरप्रसाद उप्रेतीको ५० वर्षसम्मको लामो योगदानको क्रमममा असंख्य मानिसलाई जीवनदान गर्ने आदर्श डाक्टरको भौतिक शरीर हाल हामी माझ नभएको कुरा मन मस्तिष्कले मान्न तयार छैन तर विधिको बिधान कसले टार्न सक्छ र ? हाम्रा परम आदरणीय आदर्श अभिभावक दयालु डाक्टर बा लाई ‘भावपुर्ण श्रद्धासुमन’ ।

जानुका ढुंगाना