सम्झना चौथी परम्पराको « Yalambar Times
१० मंसिर २०८१, सोमबार

सम्झना चौथी परम्पराको


यलम्वर टाइम्स
२५ भाद्र २०७८, शुक्रबार ०८:१२

[सन्तोष नेम्वाङ]

युवा जाँगर भएर होला, हप्ता दिन पहिल्यैबाट हातमा टिनको डब्बा बोकेर सडक बीचमा बसेर २५ पैसा, ५० पैसा गर्दै चन्दा संकलनमा व्यस्त हुन्थ्यौं । यदाकता १ रुपैयाँ र २ रुपैयाँको नोटको पनि दर्शन पाइन्थ्यो । हप्ता दिन चन्दा संकलन गर्दा मनग्यौ रकम संकलन हुँदो रहेछ । त्यस पश्चात गणेशको मूर्ति किन्ने चटारो । मन्दिर बनाउने छटारो । त्यो मात्रा कहाँ हो र प्रसाद के बनाउने र कति बनाउनेको बृहत छलफल गरिन्थ्यो ।

तीजको रमझम सुरु भए पश्चात गणेश चौथीको पूजाको चटारोको यो सुरुवातसँगै दशै र तिहारको आगमनको प्रतिक्षामा रहन्थ्यौं । हुन पनि यति बेला ऋतु नै परिवर्तन हुँदै गरेको अवस्थामा एक प्रकारको रोमाञ्चित र हावामा बेग्लै बास्ना छरिएको आभाष हुन्थ्यो । भदौरे झरीले गर्दा मौसम पनि केही ओसिलोको आभाष हुन्थ्यो ।

दिनभर गणेश चौथीको दौडाडौड पश्चात साँझ केही आराम मिल्थ्यो । हो त्यही समय थियो हामी युवाहरुको चौथी हान्ने कार्यक्रमको तानाबाना बुन्ने । कसको घरमा के छ ? भोगटे, उखु, काँक्रा त्यसमा नजर लगाउनै पर्यो । अरु त्यस्तो चोर्नै पर्ने बहुमुल्य चिज त के हुन्थ्यो र ? उखु, काँक्राभन्दा बहुमुल्य चाँहि कोला र नरिवलसम्म हुन सक्थ्यो । त्यो कार्यक्रमलाई रात छिप्पीने समयसम्मलाई थाँती राखेर गणेश पूजाको व्यवस्थापनमा व्यस्त रहँदै रातको ८ बनाइन्छ । तर, सबैभन्दा पहिला रातभर जाग्राम बस्नेको लागि नास्ताको व्यवस्था गर्ने पर्यो । त्यसैले बाह्रदशी खोलाको डिल (जहाँ अहिले जिम हाउस सञ्चालनमा छ) मा हामीहरुले दिउँसै लक्ष्य भेदन गरिसकेका थियौं । त्यही अनुरुप त्यहाँ रोपेको आलु र गोभी पर्याप्तमात्रामा पोको पारेर लगियो । यानिकी चौथी हान्नेको शुभारम्भ गरियो ।

हामी गाउँका युवाहरु प्रेम समाल, टंक समाल, साजन राई, महेश भुजेल, प्रकाश आचार्य र म लगायत पल्लो टोलका अन्य साथीहरु पनि यस्तो कार्यक्रममा सरिक हुन्थे । त्यही पनि धेरै जना जाँदा हल्ला हुन्छ भनेर सीमित साथीहरु मात्र जाने निर्णय गरेर मिसनमा लाथ्यौं ।

त्यही बेला अशोक अधिकारीको घरमा पूजाको कार्यक्रम रहेछ । सबैलाई थाहा छ, अशोकको भेनाहरु प्रायः प्रहरी हो भनेर । वहाँहरु पनि आउनु भएको रहेछ । अनि हामीले चाँहि त्यही घर मुन्तिर (काले मामा) को नरिवलमा बक्रदृष्टि लगायौं । तर नरिवलको रुखमा चढ्ने को ? सबैले ‘तँ जा… तँ जा….’ भनेर एकअर्कालाई भन्दै थिए । मेरो पालो म आफै चढ्न थालें ।

चढ्दा–चढ्दा जब हातले नरिवल भेट्ने ठाउँमा आएर एक–एक वटा नरिवल काटेर झार्ने प्रयास गरे । तर मेरो तागतले भ्याएन । अझ धेरै प्रयास गरे फेरि असफल भएँ । तल भुइका बसेर साथीहरु ‘अलिक चाँडो झार्न’ भन्थे तर सब व्यर्थ । अचानक काले मामाले माथि कोठाको ढोका खोलेर टर्चलाइट देखाए । लौ बित्याँस ! म त्यही रुखमाथि टाँसिएर बसिरहे । साथीहरु मलाई छाडेर भागे । केही बेर पश्चात काले मामाले टर्च निभाएर तल झर्ने क्रममा म हतार हतार रुखबाट झरेर टाप कसें । रुखबाट झर्ने क्रममा मेरो छाती पिल्सीएको अझै मेरो मनसपटलमा ताजै छ । काले मामा हल्ला गर्दै झर्दै गर्दा अशोकको भेनाहरु पनि बाहिर निस्के जस्तो लागेको थियो । उहाँहरुले हामीलाई केही परसम्म खेदाउनुभयो ।

त्यो मिसन विफल भए पश्चात अर्को मिसन मोहन कृष्ण ढकालको मूल घरदेखि दक्षिण सिमानामा रहेको (हाल उत्सव ढकालको घर भएको ठाउँ) मा अर्को नरिवलको बोटमा बक्रदृष्टि लगाइयो । त्यहाँ पनि म नै चढें । माथी चढेर नरिवल भाँचेर झार्न खोंजे झर्दैन । तर अचानक नरिवल समाएर दुइ फन्का मात्र के घुमाएको टप्पटप्प झर्न थाल्यो । साथीहरु तल बसेर टिप्न थाले । मलाई नरिवलको हाँगाले बिझाए पनि नरिवलको दाना झरेको देख्दा झार्न मज्जा आउन थाल्यो । केही बेर झारे पश्चात त्यहाँ पनि पर (मूल घर) बाट टर्च लगाएर कराएको जस्तो लाग्यो । साथीहरु मलाई छाडेर नरिवल चाँही साथैमा लिएर भागे । त्यहाँ पनि मलाई धेरै डर लाग्यो । त्यही टर्चको उज्यालोमा नै ओर्लेर त्यहाँबाट भागें ।

अन्त्यमा सबै जना भेला हुने ठाउँ भनेको त्यही पूजास्थल थियो । त्यो नरिवल त्यही फुटाएर खाइयो । तर, कति नै पो खान सकिन्थ्यो र ? यो चौथी भन्ने चाडलाई केवल चाड विषेश मात्र मानेर मनाए भने हामी नेपालीहरुको पूर्खाबाट मनाउँदै आएको चाडहरुको जगेर्ना गर्न सकिन्छ । तर चौथी मनाउने बहानामा कसैको केरा घारी मास्ने, बारीमा रहेका सबै फलफुलको नाश गर्ने सोचाई चाँही गलत हो । यस्ता चाँडको जगेर्ना गरौं । साना साना खुशी समेटेर धेरै हाँसेर लामो उमेर बाँच्ने प्रयास गरौं । हामीले मनाउने चाडमा भएको विकृतिहरु छाड्दै जाऔं र राम्रा संस्कृतिहरुलाई अंगाल्दै जाऔं ।

                 सन्तोष नेम्वाङ