कोभिडका कारण विद्यालय पूर्ण बन्द हुँदा ७ करोड ७० लाख बालबालिकाको पठनपाठनमा समस्याः युनिसेफ « Yalambar Times
१० मंसिर २०८१, सोमबार

कोभिडका कारण विद्यालय पूर्ण बन्द हुँदा ७ करोड ७० लाख बालबालिकाको पठनपाठनमा समस्याः युनिसेफ


यलम्वर टाइम्स
९ कार्तिक २०७८, मंगलवार ११:०८

संयुक्त राष्ट्रसंघ(सिन्हवा) ।  संयुक्त राष्ट्रसंघको विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबालिकाहरुको पठन पाठनमा समस्या आएको जनाएको छ ।

युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांक अनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् ।

यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न छ देशका ७ करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरुका विद्यालय पूर्ण रुपमा बन्द भएका देखिएको छ ।

ती छ देशमा बंगलादेश, कुवेत, पानामा, फिलिपिन्स, साउदी अरेबिया र भेनेजुएला रहेका छन् । ती देशमा कोभिड १९ को समस्या व्यापक बन्दै गएपछि यसका कारण उनीहरु विद्यालय आउन पनि पाएका छैनन् र जसले गर्दा उनीहरुमा समस्या भइरहेको छ ।

त्यसैगरी विश्वका अरु ११ देशका १३ करोड १० लाख बालबालिकाले विद्यालय जान त पाएका छन् तर उनीहरुले पनि महामारी सुरु भएको गएको १८ महिनामा छ महिना पनि नियमित रुपमा पढ्न पाएका छैनन् ।

त्यस्तै विश्वका अरु करिब २७ प्रतिशत देशले मात्र विद्यालयहरु पूर्ण रुपमा वा आंशिक रुपमा खोल्ने र पठन पाठन गर्न पाउने गरेका देखिएको छ ।

युनिसेफले कोरोना भााइरसका कारण विश्वका बालबालिकामा अध्ययनका लागि परेको समस्याका विषयमा गरेको अनुसन्धानबाट यस्तो देखिएको बताइएको छ ।