हत्यारा पत्ता लगाई कारवाही गर्न मगर संघको माग « Yalambar Times
५ आश्विन २०८१, शनिबार

हत्यारा पत्ता लगाई कारवाही गर्न मगर संघको माग


यलम्वर टाइम्स
१० कार्तिक २०७८, बुधबार १२:५२

बिर्तामोड । नेपाल मगर संघ झापाले बिर्तामोड–५ महानन्द चोकका मासु व्यवसायी इन्द्रबहादुर मगरको हत्यारा पत्ता लगाउन माग गरेको छ ।

संघले बुधवार बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै मगरको हत्या भएको १९ दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई सार्वजनिक गर्न नसक्नु प्रहरीका लागि चुनौति भएको बताउँदै चाँडो हत्यारा पत्ता लगाई कारवाही गर्न माग गरेको हो ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष जगत राना मगरले घटना भएको यतिका दिन बित्दा पनि अपराधीलाई नियन्त्रणमा लिन नसक्नु दुःख लाग्दो भएको बताए ।

पत्रकारसँगको कुराकानीमा अध्यक्ष मगरले प्रहरीे अनुसन्धानकै क्रममा रहेको बताउँदै चित्त बुझ्दो परिणाम नआए संघले अनुसन्धानलाई प्रभावकारी बनाउन दबाब मुलक कार्यक्रम गर्दै जाने बताए ।

इन्द्रबहादुरका भाई तीलबहादुर मगरले हत्या भएको दिन दाजुसँग ६ लाख बढि रुपैयाँ साथमा रहेको बताएका छन् । उनका अनुसार हत्यापछि उक्त रकम दाजुको साथमा थिएन ।

उनले घटना सुनियोजित तरिकाले भएको देखिए पनि हत्यारा पत्ता नलाग्नुले परिवारलाई थप पीडा भएको बताए । दाजुको हत्यापछि परिवारको बिचल्ली भएको उनको भनाई छ ।

परिवारमा दाजु नै एक मात्र आम्दानीको स्रोत भएको बताउँदै साना छोराछोरीको भविश्य अन्यौलमा रहेको बताए ।

कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष ज्योतीसिंह दलार्मी, संघका बिर्तामोड उपाध्यक्ष गजेन्द्र पुलामी मगर, अर्जुनधारा ११ का संघका अध्यक्ष राम बलम्पाकी मगर, विकास थापा मगर, चन्द्र आले मगर, इन्द्रबहादुरकी श्रीमति माया राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघका प्रदेश नं. १ सचिव शिवन सोराली मगरले गरेका थिए । मासु व्यवसायी मगरको गत असोज २५ गते विभत्स हत्या गरिएको थियो ।