कृषिको विकास नै अर्जुनधारा नगरको इज्जत « Yalambar Times
५ आश्विन २०८१, शनिबार

कृषिको विकास नै अर्जुनधारा नगरको इज्जत


यलम्वर टाइम्स
१६ कार्तिक २०७८, मंगलवार ०४:५८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रशासन प्रमुख चुडामणि निरौलाले कृषिको दीगो विकास नै नगरको इज्जत भएको हुँदा किसान रहेमात्र कर्मचारीको जागिर रहने बताएका छन् ।

सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग र मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा भएको खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका निरौलाले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि निरौलाले किसान भगवान भएको बताउँदै किसानका लागि नगरले अझ धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले अर्जुनधारा नगर कृषिमा आधारित क्षेत्र भएको बताउँदै किसानको विकास भए मात्र नगरको नाम उच्च रहनेमा जोड दिए ।

अधिकांश कृषि र पशुमा आधारित नगर भएको हुँदा सम्बन्धित शाखाले गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै कृषिमा कृषकको भावना बुझ्न सक्ने दक्ष जनशक्ति अर्जुनधाराले ल्याउन धेरै कोशिस गर्दा पनि के कारणले हो आउन नसक्दा आफूनै अचम्मित भएको दर्शाए ।

प्रमुख निरौलाले अहिलेसम्म स्थानीय सरकारको इच्छा अनुसार कृषकहरुलाई सामग्री वितरण गरिदै आए पनि अब किसानको माग र उनीहरुको इच्छा अनुसार सामग्री प्रदान गर्न सके कृषि तथा पशुपंक्षीमा सुदृढिकरण हुँदै जाने अन्तरक्रियामा बताए ।

कार्यक्रममा कृषि सेवा शाखाकी प्रमुख उर्मिला राजवंशीले अर्जुनधारामा दोमट बलौटे जमिन भएको हुँदा बढी रसायनिक मल प्रयोग भए धान ढलेर जान सक्ने भएको हुँदा बढी रसायनिक मल प्रयोग भएको जमिनमा यो वर्ष विपदका कारण धान ढलेर २० प्रतिशत नष्ट भएको जानकारी दिए ।

पशुपंशी शाखाका प्रतिनिधि बेनुकुमार बस्नेतले कात्र्तिक भित्रमा जौ घाँस वितरण गरिनुपर्ने र रेविजका खोपहरु लगाइसक्नुपर्ने भए पनि यो पटक वडामा बजेट गएको कारण ति कार्यहरु गर्न नसकिएको जानकारी दिए ।

उनले कार्यालयमा हुने कृषकका दैनिकी कार्यहरुका सेवा प्रदान गर्दै आएको र धेरै बजेट कार्यालयमा कटौती भएका कारण किसानका मागलाई पूरा गर्न नसकिएको बताए ।

कार्यक्रममा मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्रप्रसाद सुवेदीले पशुपंक्षी, मत्स्य तथा कछुवाका विषयमा उठेका ११ वटा बुँदा कृषि शाखामा उठेका १५ वटा बुँदा प्रमुख अतिथि निरौलालाई हस्तान्तरण गरेका थिए ।

उक्त प्रतिवेदन बुझ्दै निरौलाले नगरका नगर प्रमुख हरिकुमार राना र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चम्लगाईलाई हस्तान्तरण गर्ने बताउँदै अन्तरक्रियामा उठेका सवालहरुको विषयमा जानकारीसहित लागू गर्ने वातावरणमा आफू लाग्ने पनि बताए ।

कार्यक्रममा पत्रकार दिपीन राई, रमेश समदर्शी, अमित खम्बू, आकाश खतिवडा, किसानको तर्फबाट हरि शर्मा, इन्सेक झापा प्रतिनिधि नरेश खाती लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रमको सहजीकरण भने कार्यक्रम संयोजक राजन राईले गरेका थिए ।