झापा गोल्डकपः दार्जिलिङको एम एफसीलाई पराजित गर्दै आर्मी सेमीफाइनलमा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

झापा गोल्डकपः दार्जिलिङको एम एफसीलाई पराजित गर्दै आर्मी सेमीफाइनलमा


यलम्वर टाइम्स
२५ फाल्गुन २०७८, बुधबार १४:३८

बिर्तामोड । भारत दार्जिलिङको एम एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड स्थित डोमलाल राजवंशी रंगशालामा बुधबारको खेलमा एम एफसीलाई पराजित गरेपछि आर्मीले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक÷एक गोल गरे । खेलको १० औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । त्यस्तै, ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपे ।

उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङ अर्को गोल थपेर जित सुनिश्चित गरे ।

खेल अवधिमा दुवै टोलीले उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको सुरुवाती १९ औँ मिनेटमा एम एफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

५२ औँ मिनेटमा एम एफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो ।

६५ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरयो । ७८ औँ मिनेटमा एम एफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहर विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए ।

बुधबारको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।