झापा गोल्डकपः पाहुना टोली सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

झापा गोल्डकपः पाहुना टोली सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा


यलम्वर टाइम्स
२६ फाल्गुन २०७८, बिहीबार १५:२०

रंगशालामा डोमलालको प्रतिमा राख्न सुझाव

बिर्तामोड । घरेलु टोली झापा­–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा­–११ लाई एक गोल उपहार दियो ।

रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापा­–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।

५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए ।

७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे ।

तर, ६०औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए ।

खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।

योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन् । जीतसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।

यसै बीच झापा गोल्डकप हेर्न पुगेका नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले डोमलाल राजवंशी रंगशालामा डोमलालको प्रतिमा राखिनुपर्ने सुझाव दिएका छन् ।

झापा ११ र सिक्किमको बीचको खेल हेर्न पुगेका सभापति थापाले खेल विकासको लागि जग्गा प्रदान गर्ने डोमलालको प्रतिमा उभ्याउन सक्दा उनीप्रति सम्मान हुने बताए ।