जुराइदिए गिरीलाई सुन्दर घर « Yalambar Times
५ आश्विन २०८१, शनिबार

जुराइदिए गिरीलाई सुन्दर घर


यलम्वर टाइम्स
१३ चैत्र २०७८, आईतवार ११:२२

चारपाने । अर्जुनधारा–५ निवासी नमूना बस्ती फुलबारीका गिरी दाम्पतीलाई सुन्दर घर निर्माण गरी भित्र्याइदिएका छन् ।

आईतबार कर्तव्य फाउण्डेशनको संयोजनमा बिर्तामोडका व्यवसायी तथा सामाजिक अभियान्त मोहन पोखरेल, टीका पोखरेल र ममतामयी माता रणमाया पोखरेलले निर्माण गरिदिएको सुन्दर घरको चाबी गिरी दाम्पतीलाई हस्तान्तरण गर्दै घरभित्र प्रवेश गराएका थिए ।

विपन्न र असक्त गिरी धर्मराज र राजकुमारी विगत दुइ दशकबाट एक्लै बस्दै आएका थिए । धर्मराजको श्रवण शक्ति कम र राजकुमारीको दुवै आँखा गुमेको हुँदा कष्टकर जीवनयापन गर्दै सामान्य टहरोमा रात गुजारी रहेका थिए ।

कर्तव्य फाण्डेशनले असाहय, अपाङ्ग, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई घर बनाइदिने अठोटका साथ दातालाई संयोजन गर्दै गिरी दाम्पतीलाई घर निर्माण गरिदिएको फाउण्डेशनका संयोजक महेन्द्र गिरीले बताए ।

उनले बिर्तामोड, अर्जुनधारा र कनकाई आदि ठाउँमा एक सय असहायलाई यसरी नै घर निर्माण गरिदिने उद्घोष गरे ।

दाताको तर्फबाट मोहन पोखरेलले घर नहुँदाको पीडा आफूले भोगेको आत्माकहानी बताउँदै सक्नेले यसरी नै सहयोग गर्दै जाने हो भने धर्म कमाउन ठूलठूला मठमन्दिर जानु नपर्ने बताए ।

घर सम्पन्न भएपछि टीका पोखरेलले दुवै आँखाको ज्योति गुमाएकी राजकुमारीलाई डोहोर्याउँदै खटियामा राखेका थिए ।

करिब ५ लाखभन्दा बढी मूल्यमा निर्माण भएको हाम्रो पनि सुन्दर घर हेर्न भनी स्थानीय छरछिमेकी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

वडा नं. ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीको सभापतित्वमा भएको कार्यक्रममा सहाराका हरिप्रसाद निरौला, प्रहरी प्रमुख सन्तोष आचार्य र महेन्द्र गिरी, पत्रकार महासंघका सभापति एकराज गिरी, नविन गट्टानी लगायतले दाता पोखरेल परिवारलाई सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन भने केशव भट्टराईले गरेका थिए ।