पुरुषभन्दा महिला मतदाता कमः प्रजिअ रिजाल « Yalambar Times
५ आश्विन २०८१, शनिबार

पुरुषभन्दा महिला मतदाता कमः प्रजिअ रिजाल


यलम्वर टाइम्स
१६ चैत्र २०७८, बुधबार ०९:३८

बिर्तामोड । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनसंख्याको हिसाबले महिलाको संख्या बढी देखिए पनि मतदातामा भने कम रहेको बताएका छन् ।

नारी सञ्चार गृह झापाले आयोजना गरेको २ दिने खोजमुलक पत्रकारिता तालिमको बुधाबर उद्घाटन गर्दै प्रमुख अतिथि रिजालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले आर्थिक रुपमा पनि पुरुषभन्दा महिला कमजोर भएको हुँदा अब महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउन यस्ता खाले तालिम जरुरी रहेको बताए ।

उद्घाटन कार्यक्रममा प्रजिअ रिजालले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा भयरहित निर्वाचन गराउनु राज्यको दायित्व भएको बताए । उनले निर्वाचनलाई सफल र सभ्य बनाउन सञ्चारकर्मीहरुको साथ सहयोग उत्तिकै रहने बताए ।

‘संविधानलाई सफल बनाउन निर्वाचनको अत्यन्तै ठूलो महत्व हुन्छ’ उनले अगाडि भने, ‘हामीले पहिलो निर्वाचनमा अनुभव बटुलिसकेका छौं । अब दोस्रो निर्वाचनपछि मुलुकले हरेक कुरामा फड्को मार्ने देखिन्छ ।’

उनले भयरहित निर्वाचनमा राज्य लाग्ने हुँदा मतदाताहरु लोभ, लाल्चा, धाकधम्कीतर्फ न लागि विवेक प्रयोग गर्न आग्रह गरे ।

संस्थाकी अध्यक्ष भीमा शिवाकोटीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिजका दिपीन राई, प्रेस चौतारीका मनकुमार गदाल, प्रेस युनियनकी इन्दु पूर्वेली, एसपी विश्वमणि पोखरेल लगायतको आतिथ्य रहेको थियो ।

रोजिना रोदनको स्वागत रहेको कार्यक्रममा केशव भट्टराई, प्रशिक्षक बबिता बस्नेत लगायतले आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन भने जोश्ना श्रेष्ठले गरेकी थिइन् । तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको छ ।