‘मेरो कार्यकालमा जे गरे जनताले देख्नुभएकै छ’ « Yalambar Times
५ आश्विन २०८१, शनिबार

‘मेरो कार्यकालमा जे गरे जनताले देख्नुभएकै छ’


यलम्वर टाइम्स
२८ चैत्र २०७८, सोमबार १०:३४

अर्जुनधारा । नगर प्रमुख हरिकुमार रानाले विहीबार उपप्रमुखको सभाकक्षमा नगर प्रमुखको हैसियतबाट आफ्नो अन्तिम मन्तव्यसहितको धारणा राखे ।

दिनको ठीक २ः३० बजे नगरको विभिन्न कार्यक्रमपछि पूर्वमाननीय तथा माननीय, राजनीतिक दल र सञ्चारकर्मी बीच आफूले गरेका ५ वर्षे गतिविधि सार्वजनिक गर्दै नगरलाई एउटा बाटोमा उभ्याउन हाम्रो टीम सक्रिय भएको छ । आउने जनप्रतिनिधिलाई हाम्रो जस्तो बढी कष्ट गर्नु नपर्ने बताए ।

नगर प्रमुख हरि कुमार रानाले मेरो कार्यकालमा जे गरे जनताले देख्नुभएकै छ भन्दै स्थानीय तहको निर्वाचनपछि तत्काल कानुन अभावका कारण काम गर्न समस्या भएको हुँदा विस्तारै कानुन निर्माणपछि मात्रै नागरिकको सेवामा लाग्न सकेको स्पष्ट पारे ।

उनले पहिलो स्थानीय चुनावअघिको अर्जुनधारा र अहिलेको अर्जुनधारामा व्यापक परिवर्तन आएको बताए । प्रमुख रानाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतमा राखेर काम गरेको बताएका छन् ।

मन्द मुस्कानमा आफ्नो भनाई राख्दै रानाले समयको चक्रसँगै आउने सन्ततीलाई राजनीतिमा होस् या समाजिक क्षेत्रमा होस् स्थान दिनुपर्ने बताउँदै युवा पिढीँ त्याग र बलिदान गर्दै आएकाहरुलाई बाटो छोड्नुपर्ने भएको हुँदा आउने जनप्रतिनिधिहरुलाई त्यति कष्ट नहुने बताए ।

रिटार्यड जीवन प्राप्त गरिसकेका हामीहरुले उदाउँदो युवाहरुलाई अवसर प्रदान गर्न सकिएन भने आउने पुस्ताले हामीहरुलाई नै धिक्कार्ने छन् भन्दै रानाले विकासको गति छोटो नभई लामो भएको हुँदा नगरलाई समृद्ध नगर बनाउन हाम्रो टीमलाई विश्वास गर्नेहरुप्रति धन्यवाद प्रकट गरे ।

नगर प्रमुख रानाले स्थानीय सरकार र स्थानीय सञ्चारकर्मीहरुले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै सञ्चारकर्मीहरुलाई विशेष धन्यवाद दिए ।

सोही कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल र उपप्रमुख कमला आचार्यले अर्जुनधारा नगरपालिकाबाट जारी भएका नियमावली संग्रह र नगर प्रमुख रानाले नगरको बुलेटिन सार्वजनिक गरेका थिए ।

सार्वजनिकिकरण कार्यक्रममा बोल्दै प्रमुख रानाले नगरमा सडक सञ्जाल व्यवस्थित गरेको दावी गरे । पाँच वर्षे प्रगति संक्षेपमा बताउँदै उनले ११६ वटा पुल, ३०० जोर ह्युमपाइप, ३ सय किमि सडक ग्राभेल, नगरकको लगानीमा २५ किमि सडक कालोपत्रे गरिएको जानकारी दिए ।

नगरको गौरवको आयोजनाको रुपमा रहेको शनिश्चरे बजार व्यवस्थापनको काम धमाधम भइरहेको उनको भनाई छ । यस्तै, सागसब्जी र माछामासुको पसल व्यवस्थापनका लागि अलग्गै संरचना व्यवस्था गरेको बताए ।

प्रशासनिक सुविधाका लागि हरेक वडामा नयाँ कार्यालय भवन, आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको बताइएको छ ।

केहि ठाउँमा मुद्दामामिलाका कारण भवन निर्माण हुन नपाएको रानाको भनाई थियो । विद्यालयहरुको भौतिक पूर्वाधार विकास र गुणस्तरीय शिक्षाका लागि नगरले विशेष योजना निर्माण गरेर कार्यान्वयन गरेको बताए ।

पहिलो कार्यकालमा कर्मचारी अभावदेखि कार्यालय व्यवस्थापनमा समेत समाधान खोज्दै खोज्दै काम गरेको जनप्रतिनिधिहरुले अनुभव सुनाए । अहिले सबै व्यवस्थापन गरेर काम अघि बढाइएको बताए । अब आउने जनप्रतिनिधिले प्राविधिक समस्यामा अल्झिनु नपर्ने अवस्था बनाएको उनको दावी थियो ।

यस्तै, उपप्रमुख आचार्यले पाँच वर्ष कठिनाईका बिच विताएको बताइन् । पहिलो कार्यकाल भएको हुँदा धेरै समस्या, गाह्रा अप्ठ्यारा समय आइलागेको उनको भनाई थियो ।

उनले कुनै पनि गलत नियत नराखी आम नगरबासीको सेवामा प्रतिवद्ध भइ लागेको सुनाईन् । उनले भनिन्, पाँच वर्षमा स्रोत साधन र विवेकले भ्याएसम्मका नगरबासीको काम गरेका छौं ।

कार्यक्रममा पूर्वसांसद् केदारमणि ढकालले नगरको स्थापनापछि गाउँगाउँमा विकास पुगेको बताए । पाँच वर्षको अन्तरालमा सबैतिर विकास पुगेकै कारण जग्गाको मुल्य वृद्धि भएको उनको भनाई थियो ।

उनले भने, स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि नागरिकको जीवनस्तर उठेको छ । जनताले अपेक्षा गरेका सबै काम पुरा नभए पनि सन्तोषजनक अवस्था रहेको बताएका थिए ।

प्रतिनिधिसभा सदस्य खरेल लगायतले नगरको काम प्रशंसायोग्य रहेको प्रतिक्रिया दिए । उनीहरुले स्थानीय तहको व्यवस्थाले आम नागरिकलाई विकास र सेवा प्राप्त सहज भएको बताएका थिए । त्यस्तै अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले विकासका कामहरु प्रशस्तै भए पनि मानव संसाधन विकासमा काम गर्न नसकिएको बताए ।

नगरका योजना अधिकृत हेमराज सेढाईले सञ्चालन गरेको कार्यक्रममा माननीय पवित्रा खरेल, भक्त खपाङ्गी, पूर्व माननीय केदारमणी ढकाल, शेरबहादुर इङ्नाम लगायतलाई सम्मानसहित मायाको चिना प्रदान गरिएको थियो ।