स्थानीय तह निर्वाचन: आचारसंहिता पालना गर्न पत्रकार महासंघ झापाको अपिल « Yalambar Times
५ आश्विन २०८१, शनिबार

स्थानीय तह निर्वाचन: आचारसंहिता पालना गर्न पत्रकार महासंघ झापाको अपिल


यलम्वर टाइम्स
१५ बैशाख २०७९, बिहीबार ११:२७

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न स्थानीय तह निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।

आचारसंहिताको पालनाका लागि महासंघका सदस्य, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरु सबैमा अपिल गरेको हो ।

महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा विहीबार बिर्तामोडमा सम्पन्न १३ औं बैठकले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्य र जिम्मेवारीका बारेमा विभिन्न निर्णय गरेको छ ।

बैठकपछि सचिव डिकेश लामाले विज्ञप्ति मार्फत निर्णय सार्वजनिक गरेका छन् ।

झापामा निर्वाचनका समयमा महासंघका सदस्यहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन समिति गठन भएको छ ।

समितिमा उपाध्यक्ष केशव भट्टराई संयोजक, सहसचिव अर्जुन राजवंशी तथा कार्यसमिति सदस्यहरु अच्युत सुवेदी, चिरञ्जिवी घिमिरे, सुनिरा मैनाली, स्वस्तिका आचार्य र विनोद पाण्डे सदस्य रहेका छन् ।

आचारसंहिता कार्यान्वयनको अवस्थाको नियमित अनुगमन गरी सो को प्रतिवेदन महासंघ झापाको कार्यसमिति र अनुशासन समितिलाई बुझाउन बैठकले अनुगमन समितिलाई निर्देश गरेको छ ।

साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेमा संस्थाको विधानको मर्म र व्यवस्था अनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः पदमुक्त हुन जाने भनी गरेको निर्णयको महासंघ झापा शाखाले स्वागत गर्दै उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

पत्रकार तथा सञ्चारमाध्यमलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न महासंघले आहृवान गरेको छ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।

यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गरेको छ ।

त्यस्तै महासंघ झापा शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा २० बैशाख २०७९ (३ मे २०२२) मंगलबारदेखि झापाको लखनपुरमा ‘पत्रकारिताको बदलिँदो आायाम: अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षणमा जिल्लाका क्रियाशील ३५ जना पत्रकार सहभागी हुनेछन् ।