हामी गरिब किन भयौं ? « Yalambar Times
१३ मंसिर २०८१, बिहीबार

हामी गरिब किन भयौं ?


यलम्वर टाइम्स
१८ आश्विन २०७९, मंगलवार ०६:५२

अर्जुनधारा । प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुक दिनानुदिन अर्थतन्त्रले ओरालो लाग्नु शुभ संकेत होइन ।

जहिल्यै पनि बजेट बनाउँदा र विकासको काम गर्दा विदेशीको मुख ताक्नु पर्ने अनि कमसल रकममा विकासको काम गर्नुपर्ने, काम सम्पन्न हुँदा भ्रष्टाचारको चंगुल बढेर जानुपर्ने र अभाव, प्रभाव र दबाबमा जुनसुकै काम गर्दै समाज हिडेको कारण अनेक बेतिथिले गिजोल्दै आज राष्ट्र अनेकौं समस्याको शिकार बन्दै गएको छ । इतिहास साक्षी छ राजनीतिक नेतृत्व, घटनाक्रम र परिवर्तनका घटना प्रदेश नं. १ लाई लिन सकिन्छ ।

२००४ सालको मजदुर आन्दोलन २००७ सालको क्रान्ति सधै नेपाल कम्युनिष्ट आन्दोलनको भूमि पनि यही प्रदेशबाट भएको हो । २०२८ सालको सशस्त्र बिद्रोहदेखि २०३६ सालको परिवर्तनको निर्वाचन पनि पूर्वबाटै भएको हो ।

त्यसबेलाको बिद्रोहले समाज रुपान्तरण, समानता, सभ्य र असल समाज गरिब निमुखाहरुको उज्यालो भविष्य अनि सबै नागरिक गुणस्तरीय शिक्षाको ज्योति प्राप्त गर्ने छन् भन्ने नै थियो । परिवर्तन हुनुपर्छ भनेर गाउँगाउँबाट आवाज उठ्यो । सारा नेपाली जनता एक भए । अन्तात्वोगत्वा परिवर्तन भएरै छाड्यो ।

परिवर्तन हुनुपर्छ भन्ने अगुवाहरु आन्दोलनपछि सुख, सयल र सुविधा भोगी नीतिमा लम्पट भएकै कारण आज नेपाली जनता विकास र समृद्धिको गतिमा पछि पर्दै जाँदा प्रत्येक नेपालीको थाप्लोमा ५० हजारभन्दा बढी ऋण बोक्नु परेको छ ।

मुलुकलाई नीतिगत र पारदर्शीता प्रदान गर्ने हो भने प्रकृतिले साथ दिएको मुलुक पनि हो नेपाल । विकासमा फड्को मार्न धेरै समय कुर्नु नपर्ने अर्थ विज्ञहरुले भन्ने गरेका छन् । विकास सम्भव छ, प्रदेश १ मै सबैभन्दा बढी नदिनाला, जलसाय भएको ठाउँ हो ।

सगरमाथा, राष्ट्रिय निकुञ्ज, मकालु, अरुण बरुण निकुञ्ज, कञ्चनजङ्घा संरक्षण र कोशी टप्पु वन्यजन्तु आरक्षण यही क्षेत्रमा पर्छ । धार्मिक दृष्टिकोणले किरातीहरुको धार्मिक स्थल माङ्सेबुङ, पूर्वको पशुपतिनाथले प्रचलित अर्जुनधारा जलेश्वर धाम, बुढा सुब्बा, ठूलो पाथीभरादेवी तराईको शिवसताक्षी, किचकबध यही पर्छ । त्यतिमात्र होइन लालीगुराँसको राजधानी तेह्रथुम, पूर्वको ठूलो ह्यातुङ भरना पनि यही पर्छ ।

सामाजिक विविधतामा १२४ जातजाति मध्ये ९६ भाषाभाषी बसोबास गरेको स्थान पनि पूर्व नै हो । यतिका पर्यटन र विविधता बोकेको हाम्रो नेपाल त्यसमा पनि प्रदेश नं. १ गरिबी र आर्थिक अभावले छटपटाउनु दोष कसलाई दिने ? प्रश्न नयाँ पुस्ताले गर्दैछन् ।

त्यतिमात्र होइन उत्पादनको हिसाबले रबर उत्पादन, ओलन, अदुवा, अन्न, जुट र चियासँगै औधोगितक कलकारखानाले पनि नेपाल या प्रदेश नं. १ अग्रगतिमा छ । प्रदेश १ मा मात्र सरकारले ३४ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता रहेको उद्घोष गरेका छ ।

३४ हजार मेगावाट विद्युत बाहिर बिक्री वितरण गरेको खण्डमा नेपाल माथि उठ्न त्यति टाढा जानु नपर्ने पूर्व अर्थमन्त्री युवराज खतिवडाको भनाइ छ । भौतोलिक, समाजिक, सांस्कृतिक आदि विविधताले गर्दा पर्यटनको सम्भावना भएकै कारण आर्थिक उपार्जनमा त्यति ठूलो कष्ट व्यहोर्नुपर्ने अवस्था त्यतिकै छ ।

यति हुँदाहुँदै पनि नेपाली जनता अभाव र गरिबी जीवनबाट उठ्न नसक्नु दोष राजनीतिक दललाई दिने हो कि, बौद्धिक नागरिक जनतालाई यो प्रश्न राजनीतिक दलका अगुवाले सोच्नुपर्छ ।

जताततै नातावाद, कृपावादको बाटो बनेको छ । सामान्य काम गर्नुपर्दा पनि दल गुट देखापर्छ । कसले के सुझाव दिँदैछ त्यो सुन्न सक्ने क्षमता हराएर गएको कारण दलहरुले त्यसलाई मिलाउन सकेको पाइदैन ।

हिजो परिवर्तनको आन्दोलन या निर्वाचन समयमा सबै नेपाली जनतालाई आफ्नो ठान्ने, आन्दोलनमा होमिन आह्वान गर्ने, परिवर्तन र निर्वाचनपछि जनताको भावना विपरीत हिंड्ने परिपाटीले पनि मुलुकले दह्रो विकास नपाएको हो कि ? गर्दा असम्भव भन्ने केही छैन, नेपाली जनता मिहेनत गर्न तयार छ तर देश सञ्चालक दलहरुले गुट उपगुट र चरम भ्रष्टाचारको बेतिथिकै कारण देश र अर्थतन्त्र कमजोर हुँदै गएको अर्थशास्त्रीहरुले सुझाव दिँदै आएका छन् ।

नेपाली किसान हिजो पनि मिहेनती थिए, आज पनि छन् । किसानले उत्पादन गरेको अन्नले भाउ नपाउनु भने जस्तो मल, बिउबिजन र सिचाईमा राज्यको ध्यान नपुग्नु गरिबीको बाटो बन्न हो । प्राकृतिक सम्पदाको हरेक क्षेत्रमा विकासको बाटो प्रबल भए पनि दलगत गुट र नातावाद, कृपावाद कै कारण नेपाली जनता गरिबीसँग जुध्न बाध्य भएको देखिन्छ ।

यी सबै सस्यालाई चिर्दै अथाह प्राकृतिक सम्भावनालाई सुनौलो अवसरमा परिणत गर्नका लागि नागरिक सचेत भई खबरदारी गर्न जरुरी छ ।