रुपन्देही २ मा अङ्क गणितले पनि गठबन्धनबाट जनमुक्तिका केशवबहादुर थापा अगाडि « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

रुपन्देही २ मा अङ्क गणितले पनि गठबन्धनबाट जनमुक्तिका केशवबहादुर थापा अगाडि


यलम्वर टाइम्स
१३ कार्तिक २०७९, आईतवार ०७:४०

बुटवल । रुपन्देही–२ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेपछि प्रतिस्पर्धा मात्र होइन अङ्क गणितले पनि जनमुक्ति अगाडि देखिन्छ ।

तीन–तीन पटक निर्वाचित हुँदै सदनमा पुगेका विष्णु पौडेलले रुपन्देही–२ का जल्दोबल्दो मुद्दालाई सम्बोधन नगरेपछि त्यहाँका जनताले केशवबहादुर थापालाई यो पटक सदनमा पठाउने पक्का भएको गठबन्धनका एक नेताले खुलेर समर्थन गर्दै भने ।

२०७४ सालमा एमालेका विष्णु पौडेलले ४४ हजार ९ मत ल्याउँदा नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४५ मत ल्याएका थिए । तर त्यतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन दर्बिलो थियो ।

बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने यो क्षेत्रमा १ लाख २८ हजार ६७७ मतदाता छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाअध्यक्षहरुले पाएको मत अनुसार यहाँ कांग्रेस अगाडि देखिन्छ ।

स्थानीय तहको निर्वाचनअनुसार यहाँ नेपाली कांग्रेसले ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समाजवादीको १ हजार ३८२ र जसपाको १८३ मत छ ।

राप्रपाले एमालेका विष्णु पौडेललाई समर्थन गरेको छ । यसरी राप्रपा, एमाले र जसपाको मत जोड्दा ३७,२९० मत हुन्छ । अर्कोतिर सत्ता गठबन्धनको मत ३९,५२९ देखिन्छ ।

यस आधारमा राष्ट्रिय जनमुक्ति पार्टीको मत बिना नै सत्तारुढ गठबन्धन दुई हजारभन्दा बढी मतले अगाडि देखिन्छ ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका केही सीमित वडामा मात्र राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दिएको थियो, जसमा उसले दुई हजार ७० मत पाएको थियो ।

यो मतसमेत जोड्ने हो भने सत्तारुढ गठबन्धन एमालेका उम्मेदवारको तुलनामा निकै बलियो देखिन्छ ।

यता नेकपा एमालेले भने स्थानीय चुनावको अङ्कगणितले खासै प्रभाव नपार्ने बताएको छ ।

एमाले क्षेत्र नम्बर २ का संयोजक बाबुराम पन्थीले स्थानीय चुनावपछि यहाँ एमाले थप बलियो भएको दाबी गरे ।

उनले स्थानीय चुनावमा भएका त्रुटीलाई सच्याएर अघि बढेका कारण पार्टीको मत बढ्ने जिकिर गरे ।

केशवबहादुर थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष हुन् । २०५१ सालदेखि जनमुक्ति पार्टीमा आवद्ध हुँदै कार्यकारी अध्यक्ष पद सम्हाल्न पुगेका थापा शालिन र भद्र स्वाभावका अध्ययनशील युवा हुन् ।

संकटमा नआत्तिने तार्किक क्षमता भएका हुँदा भ्रष्टाचारीहरुलाई निर्वाचनबाटै तह लगाउनुपर्ने उनको जिकिर छ ।

रुपन्देही–२ मा अनेकौं समस्या रहदा पनि सत्तामा आसिन भएका बेला त्यो बेला एमालेको सरकार रहँदा सम्बोधन नगर्नुले यो पटक आफ्नो जीत पक्का हुने बताएका छन् ।

उम्मेद्वार थापाले पत्रकार सम्मेलनमा भने, ‘रुपन्देही–२ मा देखिएका समस्या आफू सहज रुपमा समाधान गर्नेछु ।’

विष्णु पौडेल नेकपा एमालेका उपाध्यक्ष हुन् । पटक–पटक निर्वाचित हुँदा पनि सुकुम्बासी समस्या हल गर्न नसक्दा त्यहाँका जनताले आलोचना गरिरहेका छन् ।

उपाध्यक्ष पौडेल पुरानै अनुहार र पुरानै मुद्दा बोकेको हुँदा उनको विजय सहज देखिन्न ।

यद्यपी कार्यकर्ताले भने आफूहरु कमजोर नभएको प्रतिक्रिया दिएका छन् ।