प्राविधिक ज्ञान र इमान्दारिता कायम गर्न सके पत्रकारिता पेशा उच्च स्थानमा रहने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

प्राविधिक ज्ञान र इमान्दारिता कायम गर्न सके पत्रकारिता पेशा उच्च स्थानमा रहने


यलम्वर टाइम्स
२३ पुष २०७९, शनिबार ०८:५०

बिर्तामोड । पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्वाङले प्राविधिक क्षमतासँगै इमान्दारिता कायम गर्न सकेको अवस्थामा पत्रकारिता पेशा उच्च स्थानमा रहन सक्ने बताएका छन् ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ द्वारा झापाको बिर्तामोडमा सञ्चालित दुई दिने पत्रकारिता अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले उक्त कुरा बताएका हुन् ।

बदलिदो परिस्थितिमा अध्ययनसँगै इमान्दारिता र प्रविधिमैत्री पत्रकारिताको औजार भएको हुँदा त्यसलाई तिखार्न यस्ता खाले तालिमले टेवा दिने बताउँदै विगत र वर्तमानको पत्रकारितामा फरक भएको दर्शाए ।

कार्यक्रममा यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयका अधिकृत गणेशबहादुर कार्कीले पत्रकारिताको चौतर्फी विकासमा सञ्चार मन्त्रालयले खेलेको भूमिका दर्शाउँदै पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्न चाहनेका लागि प्रदेश सरकारले रु. १० लाख विनियोजना गरे पनि त्यसको सदुपयोग हुन नसकेको बताउँदै अध्ययन र सिकारु पत्रकारिताका लागि प्रदेश सरकारले अन्य बजेटहरु पनि विनियोजन गर्दै लाने बताए ।

कार्यक्रममा महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले अबको पत्रकारिता क्षमता र विश्वासनीयता बीच रहने हुँदा तालिमलाई उपयोगमा ल्याउन अनुरोध गरे ।

मन्त्रालयका प्रतिनिधि गौतमराज अमात्यको सभापतित्वमा भएको कार्यक्रममा झापा जिल्ला भरिका २५ बढीको सहभागिता रहेको कार्यालय सचिव अनुषा चुडालले जानकारी दिइन् ।

महासंघ सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षण उमाकान्त खनाल, डिकेश लामा र केशव भट्टराईले दिने भएका छन् ।