माई मेलाको तयारी तीव्र, सुरक्षा व्यवस्था मजबुत बनाइने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

माई मेलाको तयारी तीव्र, सुरक्षा व्यवस्था मजबुत बनाइने


यलम्वर टाइम्स
२५ पुष २०७९, सोमबार १०:०३

[सेलिङ केसी]

माइधार । पूर्वकै प्रसिद्ध मेला कनकाई माई मेला यसपटक पनि शिवसताक्षी १० को माइधारमा आधिकारिक रुपमा धुमधामले लाग्ने भएको छ ।

स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कनकाई नगरपालिकाको कोटीहोममा समेत लाग्ने बताइएको छ ।

आधा शताब्दी अघिदेखि लाग्दै आएको कनकाई माई मेला गत वर्षहरुमा कोरोनाका कारण औपचारिक रुपमा लाग्न नसके पनि स्वतस्फूर्त रुपमा लाग्दै आएको थियो ।

१५।२० वर्ष अघि नेपालकै ठूलो मेलाको रुपमा एक हप्तासम्म लाग्दै गरेकोे धार्मिक मेला समय परिवर्तनसँगै माई मेलामा केही ह्रास आएको छ ।

तर यसपटक भने तामझामका साथ मेला लाग्ने तयारी हुँदै गरेको माई मेलाका ठेकेदार तथा स्तम्भ कन्सल्ट एण्ड बिल्डर्सका प्रबन्ध निर्देशक सागर ल्वागुनले बताएका छन् ।

२०७९ को लागि शिवसताक्षी नगरिपालिकाको कार्यालयले मेला ठेक्कापट्टाको सूचना जारी गरेपछि भने यसपटक औपचारिक रुपमै मेला लाग्ने भएर मेलाको पूर्व तयारी भइरहेको छ ।

कनकाई माई धार्मिक मकर माई मेलालाई व्यवस्थापन गर्न ठेकादार कम्पनीका ठेकेदारहरुले मेलालाई झकिझकाउ बनाउन विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु मेला लाग्ने स्थानमा आएर निर्माण गर्न थालिएको ठेकादार कम्पनीले बताएको छ ।

स्थानीय सरकारले मेला लाग्ने औपचारिक ठेक्का आह्वान नगरे पनि स्वतस्फूर्त रुपमा माघ १ गते लाग्ने माई मेला स्थानीय सरकारले औपचारिकता प्रदान गरेपछि भने अझ व्यवस्थित हुने स्थानीयहरुको भनाई रहेको छ ।

यसपटक पुष ३० गतेदेखि माघ २ गते तीन दिनसम्म मेला लाग्ने बताइएको छ ।

शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यो औपचारिकताले ठूलो मद्दत पु¥याउने नगरपालिकाको ठम्याई रहेको छ ।

बिगतमा कनकाई माईको पुलमा मानव भीडका कारण ठूलो समस्या आउने गरेको थियो । मानिसहरुको भीडलाई व्यवस्थापन गर्न नसक्दा यातायात नै अवरुद्ध भई समस्या आएको थियो ।

समस्यालाई समाधान गर्न मेला आयोजक समितिले वैकल्पिक उपायहरु अपनाउन आवश्यक देखिन्छ ।

कनकाई माई नदीको पुल नेपालकै पुरानो लामो पुल भएकाले पुलबाट मानिसको आवागमन रोक्न वैकल्पिक पुलको व्यवस्थापन समेत गरिएको शिवसताक्षी नगरपालकाले जानकारी दिएको छ ।

भीडलाई नियन्त्रण गर्न नगरपालिकाले सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक छ भने ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न सक्यो भने आउने माघे सङ्क्रान्ति मेला शान्तिपूर्ण बन्न सक्छ ।

कनकाई माई नदीमा मकर सङ्क्रान्ति अर्थात् माघे मेलाको दिन मकर नुहाउन लाखौंको संख्यामा तीर्थालु भक्तजनहरु आउने गरेका छन् ।

मकर सङ्क्रान्तिको दिन मकर नुहाई तरुल, भ्यागुर, तिलको लड्डु, फलफूल, सेलरोटी खाए स्वास्थ्य राम्रो हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

स्वतस्फूर्त रुपमा वर्षेनी लाग्ने यो माई मेला पूर्वको सबैभन्दा ठूलो र धार्मिक रुपमा महत्वपूर्ण रहेको मेला हो ।

यहाँ मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् ।

झापाको कनकाई माई वारि माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।

शिवसताक्षी तथा कनकाई दुवै नगरपालिकाले मेलालाई व्यवस्थापन गर्न ठेक्का आह्वान गरेको बुझिएको छ । माई मेलालाई महत्वका साथ स्थानीय संघसंस्थाहरुले पनि हेर्ने गरेका छन् ।

स्थानीय संघसंस्थाहरुले मेला परिसर झकिझकाउ गरी पुष ३० गतेबाट आफ्नो औपचारिक कार्यक्रमहरु गर्ने तयारी गरेको किरात धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङले बताएका छन् ।

मेलामा आयोजित कार्यक्रममा विभिन्न जातीय संघसंस्थाहरुका साथै क्रियाशील क्लब तथा अन्य सामाजिक संस्थाहरु सक्रिय देखिन्छन् । मकर सङ्क्रान्तिलाई रौनक थप्न विभिन्न जातीय झाँकी प्रस्तुत गरिन्छ ।

यस वर्ष शिवसताक्षी नगरपालिकातर्फ माई मेलाको ठेक्का भ्याट बाहेक ६ लाख एक हजार रुपैयाँमा स्तम्भ कन्सल्ट एण्ड बिल्डर्सले लिएको जनाइएको छ ।