अधिवक्ता पाण्डे र ज्यादती गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै झापाका तामाङ र मगरहरु चन्द्रगढीमा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अधिवक्ता पाण्डे र ज्यादती गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै झापाका तामाङ र मगरहरु चन्द्रगढीमा


यलम्वर टाइम्स
२३ श्रावण २०८०, मंगलवार ०७:०७

चन्द्रगढी । झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको माग गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत उनिहरुले गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । जिल्ला प्रशासन कार्यलय चन्द्रगढी झापा पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका सचिव मानबहादुर तामाङले वाचन गर्नुभएको ज्ञापनपत्रलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनका क्रममा कानुन विपरीत पक्राउ गरी हिरासतमा लिएर चरम यातना दिने प्रहरी र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाको घोर भत्र्सना गर्दै ज्ञापनपत्रमा घाइतेहरुको उपचार गर्न र उचित क्षतिपूर्ति दिन समेत गृहमन्त्री समक्ष माग गरिएको छ ।

ज्ञापनपत्र बुझाए पश्चात कोणसभाको आयोजना गरिएको थियो । चन्द्रगढीमा भएको कोणसभालाई नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङ, प्रदेश सदस्य जसकुमार तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष जगत तामाङ, नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष जसमाया तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङका संघिय सचिव हैकम राज घिसिङ र पालिका अध्यक्षहरुको तर्फबाट नेपाल तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष वसन्त तामाङलगायतले सम्बोधन गरेका थिए ।