‘कोशी नाम सच्याउनुहोस् सात दिनमा सहमतिमा अर्को नाम दिनेछौं’ « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

‘कोशी नाम सच्याउनुहोस् सात दिनमा सहमतिमा अर्को नाम दिनेछौं’


यलम्वर टाइम्स
२९ श्रावण २०८०, सोमबार १२:२९

बिराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवस प्रदेश नं. १ को राजधानी बिराटनगरमा मनाइएको छ ।

आदिवासी जनजातिको हक अधिकारका लागि कलम चलाउने र विभिन्न विद्यामा क्रियाशिल रहने सञ्चारकर्मीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा सरोकार टिभीका सम्पादक दिलीप थापा मगर, देव पचभैया मगर, जीवन लामा, उन्नती चौधरी र मरणोपरान्त किसन राई रहेका थिए भने नेपाल भाषा टाइम्स दैनिकलाई मातृ भाषा सम्मान प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा प्रदेश नं. १ बाट पहिचानवादी पुरस्कार धनकुटाका विदुर खवास र बिराटनगरकी सुजता लिम्बूलाई प्रदान गरिएको थियो ।

उद्घाटन समयमा प्रमुख अतिथि संघीय मामिला मन्त्री अमनलाल मोदी रहेका थिए । मन्त्री मोदीले पहिचानको पक्षधरहरुलाई मत नदिएकै कारण कोशी प्रदेश नाम आएको आफ्ना भनाई राखे ।

प्रदेश नं. १ पुनः नामाङ्कन संघर्ष समितिका सदस्य प्रेम येक्तेनले मत माग्ने काम भन्दा पनि कोशी नाम परिवर्तनका विषयमा आफ्ना भनाई राखेका थिए ।

‘कोशी नाम सच्याउनुहोस् सात दिनभित्रमा प्रदेश नं. १ को उचित नाम हामी दिनेछौं’ नेता येक्तेनले भने । कार्यक्रममा येक्तेनको भनाई चाख लाग्दो थियो ।

पूर्वदेखि पश्चिमसम्मका फोनिजकर्मीहरुको उपस्थितिमा पहिचानवादी नेता येक्तेनको भनाई आइरहँदा फोनिजका बरिष्ठ उपाध्यक्ष लक्की चौधरीले प्रतिक्रिया दिँदै कैलाली घटनामा थारु नेताहरुले त्यस बेला जे शब्द राखेका थिए येक्तेनको भनाई सुन्दा त्यसको झझल्को आएको बताए ।

फाल्गुन १७ गते प्रदेश १ का तीन ठूला राजनीतिक दलले कोशी नाम पारित गरे । त्यसलाई सच्याउन तीन ठूला दल अहिले पनि तयार देखिन्न सुनसरी पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईको प्रतिक्रिया थियो ।

नाम परिवर्तन गर्ने सवालमा ठूलठूला आन्दोलनहरु भए । पदम लिम्बू जस्ता योद्धाको ज्यान गयो । सयौं घाइते भए । गजेन्द्र फागोको खुट्टा गुम्न पुग्यो रै पनि आन्दोलन दबाउने काम भइरह्यो ।

फोनिजले यो पटक प्रदेश नं. १ को आन्दोलनलाई केन्द्र बिन्दु बनाई स्थापना दिवससँगै पहिचानमा आधारित राज्यको नाम उल्लेख गर भनी सांकेतिक दबाबसँगै कार्यक्रमको आयोजना भएको थियो ।

पहिलो दिन फोनिजका प्रदेश १ अध्यक्ष सन्तबीर लामाले लोकतान्त्रिक गणतन्त्रमा पहिचानमा आधारित नाम माग्दा प्रहरी प्रयोग गरी प्रदर्शनकारीमाथि गरिएको दुव्र्यवहार पूर्वका फोनिजकर्मीहरुलाई नमीठो लागेको सन्देश दिए ।

स्वागत मन्तव्यको क्रममा अध्यक्ष लामाले दलप्रति खबरदारी गर्दै आदिवासी जनजातिहरुलाई नजिस्क्याउन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा प्रेसजन्य संगठनका प्रतिनिधिहरुले दलका नेताहरु जस्तै भाषण गरेर शुभकामना दिएका थिए ।

फोनिज अध्यक्ष गजुरधन राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव मिलन सुब्बा गरेका थिए ।

कार्यक्रमको बीच बीचमा किरात याक्थुम चुम्लुङबाट केलाङ, किरात राई यायोक्खाबाट साकेला, याक्खा छुम्माबाट डोकेनी नृत्य र तामाङ घेदुङले सेलो प्रस्तुत गरेका थिए ।